
काठमाडौ : Welt Hunger Hilfe (डब्लु.एच.एच) र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन) को साझेदारीमा भोलि बुधबारका लागि तय गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र पोषणको अन्तरसम्बन्ध सम्बन्धी बहु–सरोकारवाला राष्ट्रिय संवाद स्थगित गरिएको छ । देशमा जारी आन्दोलनका लागि उत्पन्न असामान्य परिस्थितिका कारण बहु–सरोकारवाला राष्ट्रिय संवाद स्थगित गरिएको नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) का अध्यक्ष डा.अर्जुन कुमार कार्कीले जानकारी दिनुभयो।
सुधारिएको पोषण र स्वास्थ्यमा योगदान पुर्याउन खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीहरूलाई सुदृढ पार्न रणनीतिक कार्यहरू र नीतिगत उपायहरू पहिचान गर्ने, उद्देश्यले संवाद आयोजना गर्न लागेको थियो । राष्ट्रिय विकास र जनस्वास्थ्यको प्रमुख क्षेत्रको रूपमा खानेपानी, सरसफाइ तथा स्वच्छता लाई प्राथमिकता दिने, उच्चस्तरीय राजनीतिक इच्छा शक्ति र नेतृत्वलाई परिचालन गर्ने तथा खानेपानी, सरसफाइ तथा स्वच्छता, पोषण र स्वास्थ्य क्षेत्रका नागरिक समाज, निजी क्षेत्र र अन्य सरोकारवालाहरू बीच साझेदारी र सहकार्यलाई सुदृढ पार्ने पनि संवादको उद्देश्य रहेको थियो।
जेनजी पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सोमबार गरिएको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि अहिले देशैभरि सरकार विरोधी आन्दोलन चर्किएको छ ।
खासगरी नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको घरमा आगजनी र तोडफोड तथा प्रहरी कार्यालयहरु प्रदर्शनकारीको निशाना बनेका छन् । सोमबार जेन्जी पुस्ताले नेतृत्व गरेको भए पनि आज देखि भएको देशब्यापी आन्दोलनमा सबै पुस्ताले ऐक्यबद्धता जनाएका छन् ।


336 पटक हेरिएको 

