
काठमाडौं : सिंहदरबार परिसरभित्र आगजनी भएका मन्त्रालयमा सरसफाइको काम सुरु भएको छ । अहिले शिक्षा मन्त्रालयका कर्मचारीहरु टुटफुट भएका र जलेका सामान पन्छाउने र सरसफाइ गर्ने काममा व्यस्त छन् । क्षति आँकलन गर्ने र मर्मत सम्भार गरी पुनस् सेवा सुरु गर्न तयारी सुरु गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
शिक्षा मन्त्रालयले सिंहदरबार र केशरमहल दुवै क्षेत्रबाट सेवा दिने जनाएको छ । ‘सिंहदरबारमा सरसफाइ भइरहेको छ । मन्त्रालयका केही काम केशरमहलबाट पनि प्रवाह गर्छौं,’ शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले भन्नुभयो ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।
शिक्षा मन्त्रालयका कोठाहरु र काठको भर्याङ जलेका छन् । कर्मचारीहरुका कार्यकक्षहरुमा तोडफोड पनि भएको छ ।
सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा केही महाशाखा वा शाखा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
सरसफाइ गरेर काम गर्न मिल्ने ठाउँलाई प्रयोग गर्ने र ठाउँ अपुग भएकाको हकमा केशरमहलमा राखेर काम गर्ने मन्त्रालयको तयारी छ ।
‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौं,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो।
यद्यपि अहिले त्यहाँ मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी मन्त्रालयका अधिकारीहरुले गरेका छन् ।


313 पटक हेरिएको 

