
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनको क्रममा आगजनी भएका सरकारी कार्यालय सकेसम्म छिटो सरसफाइ गरेर जनतालाई सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ।
क्षति भएका मन्त्रालय र सरकारी कार्यालयहरुको आज अनुगमन गर्दै मुख्यमन्त्री शाहले दुई/चार दिनभित्रै सरसफाइ गरेर सेवा दिन कर्मचारीहरुलार्ई निर्देशन दिनु भएको हो। उहाँले यो विषम परिस्थितिमा सबै सरकारी कार्यालयहरुको सेवा छिटोभन्दा छिटो सञ्चालनका लागि आफ्नो संयन्त्रलाई यस अघि नै परिचालन गरेको बताउनुभयो।
मुख्यमन्त्री शाहले धेरै कार्यालयमा सेवा प्रवाहको प्रक्रिया अगाडि बढिसकेको र सुरु हुन नसकेका थप सेवा सुचारु गर्ने सन्दर्भमा पनि कार्यालयहरुले तयारी गरिरहेको पाइएको बताउनुभयो।
भदौ २३ र २४ गते घटेका घटनाबाट सबै विक्षिप्त रहेको जनाउँदै मुख्यमन्त्री शाहले कसैले नसोंचेको अकल्पनीय घटना घटेको बताउनुभयो। उहाँले मृतकका परिवारहरुप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ।
त्यस्तै ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा एकजुट भएर अगाडि बढ्न पनि शाहले सबैलाई आग्रह गर्नु भएको छ।


225 पटक हेरिएको 

