
धनगढी : धनगढी उपमहानगरपालिकामा मानव मलमूत्र प्रशोधन सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ। करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्रशोधन केन्द्र एशियाली विकास बैंक (ADB) को ऋण लगानीमा, शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत क्षेत्रीय शहरी विकास आयोजनाबाट निर्माण भैरहेको हो।
यो प्रशोधन केन्द्रको अनुमानित लागत करिब १ अर्ब २४ करोड रुपैयाँ रहेको छ। आधुनिक प्रविधिमा आधारित यो परियोजना सम्पन्न भएपछि धनगढी मात्र नभई सुदूरपश्चिमका अन्य नगरपालिकाहरूका लागि समेत नमुना बन्ने अपेक्षा गरिएको छ।
विस्तृतमा हेर्नुहोस् भिडियो :
धनगढी उपमहानगरपालिकाको वातावरण, खानेपानी तथा सरसफाइ शाखाका प्रमुख ईन्जिनियर अशोक अवस्थीका अनुसार हाल करिब ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ। बाँकी काम पनि तीव्र गतिमा भइरहेको र आगामी वर्षभित्र प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो।
“यो केन्द्र सञ्चालनमा आएपछि धनगढी उपमहानगरपालिका फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानतर्फ उन्मुख हुनेछ। यहाँ मानव मलमूत्रदेखि घरायसी फोहोरसम्मलाई वैज्ञानिक तरिकाले प्रशोधन गरिनेछ। यसबाट वातावरणीय प्रदूषण कम हुनुका साथै स्वच्छ र दिगो सहर निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।” अवस्थीले भन्नुभयो।

स्थानीय सरोकारवाला तथा विज्ञहरूले पनि यो केन्द्रलाई धनगढीको मात्र नभई अन्य नगरपालिकाका लागि समेत यो महत्वपूर्ण पूर्वाधारको रूपमा लिएका छन्। किनभने यसले केवल ठोस फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउनेछ मात्र नभई रोजगार सिर्जना, मल र ग्यास उत्पादनजस्ता अवसर पनि ल्याउने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिका पछिल्ला वर्षहरूमा तीव्र शहरीकरण हुँदै आएको छ। यसका कारण उत्पन्न फोहोर व्यवस्थापन चुनौतीलाई दीर्घकालीन समाधानका लागि आधुनिक प्रशोधन केन्द्र निर्माण भैरहेको हो।



286 पटक हेरिएको 

