आठ वटा संस्था र गाउँले मिलेपछि समाधान भयो खानेपानी समस्या

स्याङ्जा : उखानै छ ‘एकले थुकी सुकी, सयले थुकी नदी ।’ पुतलीबजार नगरपालिका –३ भाइटारीका बासिन्दाले यही उखानलाई चरितार्थ गरेका छन् । आठ वटा संघसंस्था र गाउँले मिलेर बाडखोलाको पानी २५ मिटर भर्टिकल उचाईमा ट्यांकी निर्माण गरी २ दशमलब ४ किलोवाट सोलार उर्जाको माध्यमबाट खानेपानी व्यवस्था गरिएको हो ।

खानेपानी लिफ्टिङ गर्न जिल्ला भूसंरक्षण कार्यालयले एक लाख ३ हजार, जिल्ला वन कार्यालयले १० हजार, पुतलीबजार नगरपालिकाबाट ३० हजार, उपभोक्ताबाट १२ लाख नौ हजार ३७, सोलार मुस परियोजनाबाट ५ लाख २८ हजार अनुदान र बैंकबाट एक लाख २८ ऋण लगानीमा गरिएको छ आरडब्लु नेपाल, आइडिई नेपाल र सप्रोस नेपालले भने प्राविधिक सहयोग गरेका छन् ।

परियोजना निर्माणका लागि ३० लाख १९ हजार ८ सय ८३ रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष सुवेदार केवी कार्कीले जानकारी दिनुभयो ।

चार जनाले गरे जग्गा दान

खानेपानी परियोजना सन्चालनका लागि पुग्दो रकम भए पनि स्थानीयले जग्गा नदिएको भए खानेपानीको समस्या उस्तै रहन्थ्यो । गाउँकै मिना थापा, हिरन श्रेष्ठ, देवीशरा थापा, मोहन श्रेष्ठले जग्गा दान गरेपछि खानेपानी लिफ्टिङ गर्न सम्भव भएको हो ।

जग्गा दान गरेपछि पुतलीबजार नगरपालिकाभित्र नै पहिलो पटक सञ्चालनमा आएको लिफ्टिङ खानेपानी निर्माण भएपछि पुतलीबजार नगरपालिका –३ भाइटारीका  ६९ घरपरिवारका साढे चार सय जना लाभान्वित भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार