महोत्तरी :महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी समयमा दिसापिसाब गर्न नपाउँदा विरामी पर्न थालेका छन् । कैदीबन्दी संख्याको तुलनामा कम शौचालय भएका कारण समयमा दिसापिसाब गर्न नपाइने र यसैका कारण कैदीबन्दी विरामी पर्न थालेको जेलर जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।
१ सय ३५ जना क्षमताको जलेश्वर कारागारमा ४० महिला, २ आश्रित र ३ सय ९५ पुरुष गरी ४ सय ३७ जना छन् । बेलाबेला कैदीको संख्या साढे ४ देखि ५ सय सम्म पुगेको गरेको छ । तर करिब ४ सय पुरुषका लागि १० वटा शौचालय मात्र छन् । कारागार प्रमुख ठाकुरका अनुसार पुरुष वार्डतर्फ ४० जना कैदीका लागि एउटा शौचालय पर्छ । ठाकुरको हिसावमा एक जनाले एकपटकमा सरदर १५ मिनेट शौचालय प्रयोग गर्दा ४० जनाका लागि ६ सय मिनेट अर्थात् १० घण्टा समय लाग्छ ।
जलेश्वर कारागारमा कैदी बन्दीलाई मात्र नभएर सुरक्षाकर्मी र कर्मचारीका लागि समेत शौचालयको उत्तिकै अभाव छ । ३६ सशस्त्र, ७ नेपाल प्रहरी र १५ कर्मचारी गरी कारागार सुरक्षाका लागि खटिएका ५८ कर्मचारीका लागि एउटा पनि शौचालय छैन ।
कारागार व्यवस्थापन विभागको सहकार्यमा महिना दिन अघि स्वास्थ्य परीक्षण गर्दा ९० कैदी रुघाखोकी र मौसमी ज्वरोले ग्रस्त भएको पाइएको थियो । चर्मरोग, दम र स्वासप्रश्वास जस्ता समस्याले पनि कैदी पीडित छन् । उच्च रक्तचाप र मधुमेहले ४० प्रतिशत कैदी आक्रान्त भएको दिलबहादुर आलेले बताउनुभयो ।
कारागारमा लामो समयदेखि क्षमताभन्दा बढी कैदी राखिएकाले यसको असर कैदीको स्वास्थ्यमा परेको जेलर ठाकुरले बताउनुभयो ।


669 पटक हेरिएको 

