सल्यानको तीन पालिकाले लगाए प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध

  वास खबर सम्बाददाता  303 पटक हेरिएको
🔗
21
Shares

सल्यान : दसैँ तिहारका अवसरमा सल्यानका तीन स्थानीय तहले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएका छन् । शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र कुमाख गाउँपालिकाले वातावरण संरक्षण र स्थानीय किसानलाई प्रोत्साहन दिने उद्देश्यले यस्तो निर्णय गरेका हुन् ।

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश शमाले किसानले उत्पादन गरेको फूललाई बजार उपलब्ध गराउन प्लास्टिकका फूलमालामा रोक लगाइएको बताउनुभयो । “यो निर्णयले नगरभित्रै उत्पादन भएका फूलले बजार पाउने र किसानलाई आय–आर्जनमा मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो । नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वा प्रयोग गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य माला मात्र होइन, अन्य पटकाजन्य वस्तुको उत्पादन र बिक्रीमा पनि पालिकाले रोक लगाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१) ले दिएको कानुनी अधिकार प्रयोग गरी कार्यपालिकाको बैठकबाट निर्णय गरिएको हो ।

यस्तै, कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनीले स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारमा प्राथमिकता दिलाउन प्लास्टिक माला रोक लगाइएको बताएको खबर गोरखापत्रले प्रकाशन गरेको छ। उहाँले भन्नुभयो, “स्थानीय फूल प्रयोग गर्दा किसानको आम्दानी बढ्छ, पैसा बाहिर जानु पर्दैन ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार