भद्रपुर (झापा) : झापा जिल्लालाई यही वर्षको चैत्र २२ गते खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको बैठकले सो प्रतिवद्धता व्यक्त गरेको हो ।
बैठकले खुल्ला दिसामुक्त अभियानको गुणस्तरको एकरुपता र प्रभावकारिताका लागि गुणस्तर अनुगमन मार्गदर्शन २०७४ समेत जारी गरेको छ ।
सोही बैठकले जनप्रतिनिधिको संयोजनमा सम्बन्धित फाँट हेर्ने कर्मचारीलाई सरसफाइ फोकल पर्सन तोक्न र प्रत्येक हप्ता प्रगति समीक्षा गरी सोको जानकारी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा पठाउन सम्पूर्ण गाउँपालिका एवम् नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

खुल्ला दिसामुक्त अभियानको एकरुपता र सरसफाइ प्रवद्र्धनसम्बन्धी विद्यमान नीतिगत व्यवस्थाको कार्यान्वयनका लागि खुल्ला दिसामुक्त अभियान सञ्चालन मार्गदर्शन तयार गरी सम्पूर्ण स्थानीय तहहरुमा उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ ।
२२ हजार घरधुरीमा शौचालय बन्न बाँकी
१ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापा जिल्लामा १ लाख ५९ हजार ७ सय ५९ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको छ भने २२ हजार ४ सय ५६ घरधुरी अझै पनि सुरक्षित शौचालय विहिन रहेका छन् ।
१५ वटा स्थानीय तहमध्ये बुद्धशान्ति र कमल गाउँपालिकामात्र खुल्ला दिसामुक्त घोषणा भएका छन् भने कनकाई नगरपालिका खुल्ला दिसामुक्त अवस्थामा रहेको छ ।
संख्यात्मक रुपमा हेर्दा सबैभन्दा बढी शौचालय निर्माण गर्नुपर्ने स्थानीय तह कचनकवल गाउँपालिका रहेको छ, जहाँ ४ हजार ९४ घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य विनोदप्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै, झापा गाउँपालिकामा ३ हजार, बाह्र्रदशी गाउँपालिकामा १ हजार ३१ र गौरीगञ्ज गाउँपालिकामा ३ हजार ४ सय २६ घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको छ ।
गौरादह नगरपालिकामा ३ हजार ३ सय ९८, शिवसताक्षी नगरपालिकामा १ हजार १ सय ७, जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा २ हजार ७४, नेपालको पूर्वी प्रवेशद्वारको रुपमा चिनिने काकरभिट्टा नाका रहेको मेचीनगर नगरपालिकामा २ हजार १ सय ४६ र व्यापारिक नगर विर्तामोडमा १ हजार ७ सय ५४ घरमा सुरक्षित शौचालय निर्माण गर्न बाँकी रहेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तथ्यांकमा उल्लेख छ ।
जिल्लाका दमक र अर्जुनधारा नगरपालिका तथा हल्दिबारी गाउँपालिकामा ज्यादै कममात्र चर्पी बन्न बाँकी छन् । प्रभावकारी परिचालन हुन सकेमा यी स्थानीय तहलाई दुई हप्ताभित्रै खुल्ला दिसामुक्त अवस्थामा पु¥याउन सकिने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।


943 पटक हेरिएको 

