काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अध्यक्ष परिवर्तन भएको छ । यसअघिका अध्यक्ष ज्योति कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ मन्त्रालयको योजना, अनुगमन तथा वैदेशिक सहयोग महाशाखा सम्हाल्ने भएपछि खानेपानी तथा वातावरण महाशाखा प्रमुख अनिल भद्र खनाल, समितिको अध्यक्ष बन्नुभएको हो ।

सरसफाइ गुरुयोजना २०६८ मा खानेपानी तथा सरसफाइ मन्त्रालयको खानेपानी तथा वातावरण महाशाखा प्रमुख (सहसचिव) राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको आज बसेको बैठकको शुरुमै नव अध्यक्ष खनाललाई निवर्तमान अध्यक्ष ज्योति कुमार श्रेष्ठले स्वागत गर्नुभयो ।
निवर्तमान अध्यक्ष ज्योति कुमार श्रेष्ठले नव अध्यक्ष खनाललाई खादा लगाउँदै सफलताको कामना गर्नुभयो । नव अध्यक्ष खनालले शीरमा टोपी र गलामा खादा पहिरिएपछि समितिका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठले टाउँकोमा टोपी र काँधमा जिम्मेवारी थपिएको बताउनुभयो ।
उहाँले सात बर्ष अघि ४२/४३ प्रतिशतबाट थालनी भएको सरसफाइ अभियानले अहिले ९६ प्रतिशत पार गर्न लागेको बताउनुभयो ।
उहाँले निवर्तमान अध्यक्ष श्रेष्ठलाई धन्यबाद दिदै नव अध्यक्ष खनाललाई पनि स्वागत गर्नुभयो ।

ओडिएफ चैत्र भित्रै गरौं : समितिका सदस्यहरु
सरकारले सन् २०१७ सम्म देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेपनि यसलाई पूरकका रुपमा चैत्र मसान्तभित्र घोषणा गर्ने विषयमा समितिमा छलफल भएको छ । समितिका सदस्य एवं सरसफाइविद नमस्तेलाल श्रेष्ठले चैत्र सम्म खुला दिसामुक्त गर्न सकेमा नयाँ मिति तोकिरहनु नपर्ने बताउनुभयो ।
उहाँले सन् २०१७ कै पूरकको रुपमा लिएर चैत्रभित्रै घोषणा गर्न सबैलाई आग्रह गर्नुभयो । बैठकमा खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र अर्यालले दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) मा नेपाल खुलादिसामुक्त राष्ट्र भएको सन्देश लिएर जान पाएमा यो भन्दा ठूलो इज्जत केही नहुने बताउनुभयो ।
सातौं साकोसान आगामी अप्रिल १० देखि १३ सम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले तराई यत्तिबेला प्रसव पीडामा रहेको बताउनुभयो । उहाँले तराईमा सरसफाइ अभियानले तीब्रता पाएको र आर्थिक अभावमा समेत अभियान निरन्तर चलिरहेको बताउनुभयो ।
समितिका अध्यक्ष एवं सहसचिव अनिल भद्र खनालले राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सबै सदस्यहरुलाई सक्रिय तुल्याउने र अहिले भोगिरहेको आर्थिक समस्या सुल्झाउन पनि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।


1261 पटक हेरिएको 

