विनोद कुमार महतो, जनकपुर
प्रदेश सांसद ज्ञानेन्द्र कुमार यादव (ज्ञान भैया) को नेतृत्वमा भोलि (शुक्रबार) देखि धनुषाको सरसफाइ र गुणस्तरीय शिक्षाका लागि सप्ताह व्यापी साइकल यात्रा हुने भएको छ । संघीय समाजवादी फोरम नेपाल धनुषा निर्वाचन क्षेत्र ४ ‘क’ बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा साइकल यात्रा गर्न लाग्नु भएको हो ।

मधेशमा दिन दिनै शिक्षाको गुणस्तर खस्किदैँ गएको र सरसफाइमा समेत गम्भीर नभएपछि जनचेतनामूलक सन्देश सहित एक हप्तासम्म साइकल यात्रा गर्न लागेको सांसद यादवले बताउनुभयो । गुणस्तरीय शिक्षा र सरसफाइप्रति सबैलाई जवाफदेही बनाउनुको विकल्प नरहेको भन्दै सांसद यादवले भन्नुभयो ‘अब शिक्षा र सरसफाइ सँग खेलवाड गर्ने अधिकार कसैलाई छैन’ उहाँले भन्नुभयो ।

गुणस्तरीय शिक्षा र सरसफाइप्रति आम नागरिक र अभिभावकको चासो बढाउन आफुले पार्टीका केन्द्रदेखि प्रदेशस्तरको प्रतिनिधीहरु सम्मिलित टोली बनाएर साइकल यात्रा गर्न लागेको सांसद यादवले जानकारी दिनुभयो । जनकपुरबाट सुरु गरिने ‘गुणस्तरीय शिक्षा र सरसफाइ साइकल यात्रा’ फागुन ३ गते जनकपुरमै आएर सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
यस्तो छ, सप्ताहव्यापी यात्रा तालिका
माघ २६ गते जनकपुरबाट सुरु गर्दै कुर्था, बसविटी, पिडारी पुग्ने
माघ २७ गते सोहनी सिनुरजोडा, लक्ष्मीनियाँ, सपही
माघ २८ गते बनिनियाँ, सिरसिया, पुरनदहा
माघ ३० मतलेश्वर, तारापट्टी, कचुरी
फाल्गुन १ गते ठेरा हुँदै बेंगाशिवपुर
फाल्गुन ३ गते जनकपुरको कन्या मा.वि., जानकी मा.वि.र मुजेलिया हुँदै फेरी जनकपुरमा आएर समापन गरिने
यता माघ २९ गते प्रदेशसभाको बैठक र फाल्गुन २ गते प्रदेश सभामुखको चुनाव रहेकाले कार्यक्रम नराखिएको उहाँले बताउनुभयो ।
को हुन् ज्ञान भैया ?

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ घर स्थायी बासिन्दा हुन् यादव । लामो समयदेखि जिल्लाको सरसफाइ क्षेत्रमा सक्रियताका साथ लाग्नु भएका सांसद ज्ञानेन्द्र कुमार यादव ‘ज्ञान भैया’ चुनावका बेला समेत घरदैलो कार्यक्रममा खुल्ला दिशामुक्त, सरसफाइ र गुणस्तरीय शिक्षाकै कुरा गर्नुहुन्थ्यो । उहाँले समाज उत्थान युवा केन्द्रको टिम लिडर, धनुषाको हारसर स्थित जीवन केन्द्रका अध्यक्ष भएर सक्रियताका साथ कुशल नेतृत्व गरिसक्नुभएको छ ।
विद्यार्थी जीवनमा रा.रा.ब क्याम्पस जनकपुरका उपसभापति, सभापति हुँदा देखि नै समाज सेवाका विभिन्न आयामहरुमा आफ्नो सक्रियता देखाउँदै आउनुभएका यादव समाजसेवी भावनाकै कारण धनुषा निर्वाचन क्षेत्र ४ ‘क’ बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।
कराँतेका राष्ट्रिय स्तरका डबल बल्याकबेल्ट समेत रहिसक्नुभएका यादव सिंचाई जल उपभोक्ता महासंघ २ नं.प्रदेशका अध्यक्ष र जिल्ला भलिवल संघका अध्यक्ष समेत हुनुहुन्छ । परेको बेला जो कोहीलाई पनि आवश्यक सहयोग गर्ने कुशलता र क्षमतावान गुणका कारण जनताले सो क्षेत्रको समग्र विकासका लागि भन्दै भारी मतान्तरले उहाँलाई जिताएको स्थानीय युवा सुनिल मण्डलले बताउनुभयो ।

अहिले आफने दैनिक कार्य व्यस्तता भएपनि उहाँ शिक्षा र सरसफाइको लागि निरन्तर हरेक कार्यक्रम र समुदायमा पुग्नुहुन्छ । उहाँको सक्रियताले सरसफाइ अभियानमा लागेकाहरुलाई थप उर्जा प्रवाह गरिरहेको छ । धनुषा जिल्लालाई खुल्ला दिसामुक्त बनाउन समेत उहाँले अहिले पहलकदमी गरिरहनुभएको डिवाससिसि कार्यदल सदस्य उमा सिम्खडाले बताउनुभयो ।


927 पटक हेरिएको 

