विपदमा खानेपानी र सरसफाइ सम्बन्धी प्रशिक्षण कार्यक्रम

  वास खबर सम्बाददाता  369 पटक हेरिएको
🔗
21
Shares


रौतहट : रौतहट जिल्लामा विपदमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । विपदको समयमा खानेपानी, सरसफाइ र स्वच्छताको महत्व दर्शाउन र यसको सुनिश्चित गर्ने उपायहरुका बारेमा छलफल तथा जानकारी गराउने उद्देश्यले रौतहटको प्रादेशिक अस्पतालमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला विपद ब्यबस्थापन समिति, खानेपानी, सरसफाइ र स्वच्छता कलष्टर, स्थानीय विपद ब्यबस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरुको सहभागितामा युनिसेफ नेपालको आर्थिक सहयोग, छायाँ नेपालको प्राविधिक सहयोग तथा अभियान नेपाल, आरडिसी नेपाल, जिल्ला रेडक्रस सोसाईटी, खानेपानी डिभिजन कार्यालय मलंगवा र राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको सहकार्यमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रशिक्षण कार्यक्रममा एउटा विपद आएपछि अर्को विपद आउन सक्छ कि सक्दैन ? यदि विपद आउन सक्छ भने के कस्ता विपदहरुको जोखिम रहन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

युनिसेफ नेपालका वास अधिकृत बोध नारायण श्रेष्ठले सहजीकरण गर्नुभएको प्रशिक्षण कार्यक्रममा बाढी डुबानका कारण खानेपानी प्रदुषित हुने र त्यस्तो पानी शुद्धिकरण नगरी पिउँदा झाडापखाला, आउँ, हैजा, जन्डीस, टाइफाइड जस्ता रोगको महामारी फैलिन सक्ने सम्भावना भएकाले यसतर्फ सचेतता अपनाउनुपर्ने बताईएको थियो।

प्रशिक्षण कार्यक्रममा पानी शुद्धिकरण, खुला दिसाको ब्यबस्थापन र स्वच्छताका बिषयमा प्रदर्शनी समेत गरिएको थियो । तालिममा हाइजिन किटको प्रयोग, हातधुने तरिका र व्यवहार परिवर्तन सँग सम्बन्धित सामग्रीहरुको प्रयोग गर्ने तरिकाका बिषयमा प्रदर्शनी गरिएको थियो।

प्रशिक्षण कार्यक्रममा राहात वितरण गर्ने प्रक्रिया र तरिकाका बिषयमा पनि छलफल गरिएको राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका टेक्निकल मोबिलाइजर अर्जुन पटेलले जानकारी गराउनुभयो ।उहाँका अनुसार समुदायमा खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वन गर्न कार्ययोजना समेत बनाईएको छ ।

यही असोज १७ र १८ गते भएको भीषण बर्षापछि आएको बाढीका कारण रौतहटको राजपुर गाउँपालिका लगायत अन्य विभिन्न स्थानमा डुबान भएको थियो। रौतहटमा देशमै सबैभन्दा बढी ३५३ मिलिमिटर बर्षा भएको थियो । बाढी र डुबानका कारण पानी र सरसफाइजन्य विपद आउने सक्ने सम्भावनालाई ध्यानमा राखी बाढी पहिरो प्रभावित विभिन्न जिल्लाहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार