
काठमाडौ : संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको रकम हालसम्म पनि सरसफाइ क्षेत्रमा लगानी हुन सकेको छैन । संस्थाहरूले आफ्नो आम्दानीको केही हिस्सा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामुदायिक विकास जस्ता सामाजिक कार्यहरूमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था भएपनि हालसम्म सरसफाइ क्षेत्रमा लगानी हुन नसकेको हो ।
“सरसफाइ सेवाको व्यवस्थापन, प्रबर्द्वन र सामाजिक उत्तरदायित्वलाई व्यवसायिक मोडेलमा रुपान्तरण” गर्ने बिषयमा मिडिया हेल्पलाइनले गरेको छलफल कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुले नीतिगत अस्पष्टताका कारण कम्पनीहरुले सरसफाइ क्षेत्रमा सामाजिक उत्तरदायित्व बापतको रकम हालसम्म लगानी गर्न नसकेको बताएका हुन् ।
टेलिभिजन कार्यक्रम टक अफ द टाउनको छायाँकन कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भक्त हमाल, नेपाल वायोग्यास प्रमोसन एसोसिएसनका अध्यक्ष उपेन्द्र रिमाल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके लगायतले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म सरसफाइ क्षेत्रमा लगानी गर्न नसकेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भक्त हमालले कर्पोरेट सामाजिक उत्तदायित्व सम्बन्धी कार्यविधि बनाउन पटक पटक अनुरोध गर्दा पनि कार्यविधि बन्न नसकेको र लगानी गर्न सकिने क्षेत्रको अस्पष्टताका कारण सरसफाइ क्षेत्रमा लगानी गर्न नसकिएको बताउनुभयो। स्वास्थ्य तथा विपद व्यवस्थापन समितिका सभापति समेत रहेका हमालले उद्योग तथा वाणिज्य मन्त्रालयलाई कार्यविधि निर्माण गर्न पटक पटक अनुरोध गर्दा पनि यस सम्बन्धी कार्यविधि बन्न नसकेको र सरसफाइ क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) भनेको कुनै कम्पनी, उद्योग वा व्यवसायिक संस्थाले आफ्नो नाफामुखी गतिविधिसँगै समाज, वातावरण र समुदायप्रतिको दायित्व पूरा गर्ने प्रक्रिया हो।
कार्यक्रम सञ्चालक गोविन्द खड्काले सोध्नु भएको प्रश्नको जवाफ दिदै उहाँले सरसफाइ क्षेत्र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने क्षेत्र मात्र नभई लगानीको प्रचुर सम्भावना भएको क्षेत्र पनि रहेको बताउनुभयो। “यो लगानीको सम्भावित क्षेत्र त हो, तर लगानी गर्न नीतिगत समस्या रहको छ” उहाँले भन्नुभयो। सरकारले बनाएका नीति नियम उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने खालको हुनुपर्नेमा हतोत्साही बनाउने खालको मात्र भएको उहाँको तर्क थियो।
लगानीको वातावरण बनाउन सहजीकरण गर्ने अध्यक्ष ढुंगानाको उदघोष
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले देशैभरिका नगरपालिकास्तरमा उद्योगी व्यवसायीलाई लगानीको वातावरण बनाउने दायित्व आफ्नो भएको दाबी गर्नुभयो । सबै उद्योगी व्यवसायीको विचार सुनेपछि अन्त्यमा बोल्नु भएका अध्यक्ष ढुंगानाले लगानीका लागि नीतिगत समस्याहरु रहेको स्वीकार्दै यसका लागि सहजीकरणको भूमिका निर्वाह गर्न आफू तयार रहेको बताउनुभयो।

“लगानी गर्ने वातावरण छैन भन्ने कुरा गर्नुभयो, हो म मान्छु नीतिगत अस्पष्टताका कारण लगानी गर्नगाह्रो छ । आकर्षण दिलाउन सकेको छैन, सरल कर्जा सुविधा, पानी तथा जग्गाको सुविधा होला, करमा सहुलियत जस्ता आकर्षणहरु दिलाउन सकिन्छ” उहाँले आश्वास्त पार्दै भन्नुभयो “अझै वितिसकेको छैन । तपाईहरु कहाँ कहाँ के के गर्नुहुन्छ ।
२९३ वटै नगरपालिकाहरुमा के के गर्न खोज्नुहुन्छ ? त्यो तपाईको छनौटको कुरा भयो, कुन नगरपालिकामा कस्तो किसिमको काम गर्न चाहनुहुन्छ ? त्यहाँका स्थानीय सरकारहरुले कस्तो खालको वातावरण बनाउनुपर्यो ? म सम्बन्धित नगरपालिकाको मेयर तथा उपमेयरहरुलाई एकै ठाउँमा राखेर छलफल गरेर लगानीको बातावरण बनाउने काममा सहजीकरण गर्नेछु ।”
उहाँले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा उद्योगीका मागहरु समेट्न सकिने भन्दै उद्योगी व्यवसायीलाई आव्हान गर्नुभयो “म्याचिङमा कत्ति खर्च गर्नुपर्छ ? आउनुस न, हामी सहलगानी गर्न तयार छौं ।”
अध्यक्ष ढुंगानाले नेपालभरिका सात वटा प्रदेशका सात वटा नगरपालिकालाई सरसफाइमा नमुना बनाउने हेतुले काम भैरहेको र यसमा पनि सहकार्य गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।

वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा र गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा देशभरिका सात वटा नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम नेपाल (Scalling of Citywide Inclusive Sanitation Service System program) सञ्चालन भैरहेको छ ।
कार्यक्रम सञ्चालित नगरपालिकामा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने र संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोग भैरहेको छ ।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रमको UN-Habitat कार्यकारी निकाय हो ।


360 पटक हेरिएको 

