
कास्की, खुदिखोला : ‘पानीको मुहान त राम्रो छ, तर अव्यस्थित छ । खुला स्थान भएका कारण त्यहाँ जत्तिबेला पनि बाहिरी मानिस र पशु चौपायाको प्रवेश हुन्छ । घुम्दै फिर्दै मुहानमा पुगेका मानिसहरुले दिसा पिसाब गर्न सक्छन् । भैंसी आहाल बस्न सक्छ’ खुदीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले यत्ति कुरा बताए पछि उक्त पानीको मुहानको अवलोकन गर्ने भयौं ।
खुदीखोला बस्तीबाट करिब २ किलोमिटरको दुरीमा रहेको खानेपानीको मुहानमा पुग्दा अध्यक्ष श्रेष्ठले बताए भन्दा अवस्था अझ नाजुक देख्यौं । मकै, कोदो लगायत बालीनाली लगाउने सिजनमा बाहेक अरु समयमा चरिचरण गर्ने ठाउँमा खानेपानीको मुहान रहेछ । हामी मुहानमा पुग्दा नपुग्दै बाख्राको एक बथान डिल मुनि ओर्लिए, केही बाख्राले त्यही मुहानको पानी पिएर पुनः डिल माथि उक्लिए ।

सम्म परेको बारीको अग्लो डिलको कुनमा पलाएको पानीलाई सिमेन्टको केही संरचना बनाएर पानी जम्मा पारेर लगिएको रहेछ । मुहानमा बनाएको संरचनाले पानी छेक्न नसक्दा आधा जसो पानी त्यही चुहिएर खेर गईरहेको थियो । मुहान अवलोकनका लागि हामी सँगै गएका खुदीखोला खानेपानी समितिकै एक जना सदस्यले बोरा खाँदेर पानी अड्याउने प्रयास गर्नुभयो ।
खानेपानीको मुहानमा बाहिरी वस्तुहरु छिरेर प्रदुषण गराउन सक्ने हुँदा खुला राख्नुहुँदैन । मुहान क्षेत्रलाई चारैतिर तारले घेराबार लगाएर खानेपानीसँग सम्बन्धित व्यक्तिले मात्र मुहानमा प्रवेश गर्न मिल्ने गरी संरचना बनाउनुपर्छ । तर यस्तो संरचना बनाउनु पर्ने महसुस भए पनि कतैबाट सहयोग नपाउँदा जसोतसो पानी संकलन गरेर ल्याएर वितरण गर्दै आएको खुदीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो।

‘हाम्रै बलबुताले मात्र भ्याउने कुरा भएन, मुहान संरक्षणका लागि सहयोग गरिदिन विभिन्न निकायमा धायौं, तर कसैले पनि कान थापिदिएन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार यो खानेपानीको मुहानबाट पहिले गगनगौडा बस्तीको लागि खानेपानी लगिएको थियो । गगनगौडाका लागि अन्यत्रैबाट खानेपानी आपूर्ति गर्ने भएपछि सोही मुहान क्षेत्रको २ आना जग्गा खुदीखोलाका बासिन्दाले खरिद गरेका हुन् ।
त्यसपछि खुदीखोला बस्ती नजिकै रहेको श्री सीता आधारभूत विद्यालय अगाडि बनाएको वितरण ट्याङ्कीको अवलोकन गर्यौं । २ वटा वितरण ट्याङ्की बनाएकोमा दुवै जीर्ण अवस्थाका थिए । दुवै ट्याङ्की चर्किएर खानेपानी चुहिरहेको थियो भने बाहिरी पशुचौपाया र स्कुले केटाकेटी समेत प्रवेश गर्न मिल्ने स्थानमा थियो । खानेपानीका संरचनाहरु देखाउँदै आराधना टोल विकास संस्थाका सचिव राजु परियारले हाल मुहानबाट जस्तो पानी आएको छ त्यस्तै पानी वितरण भैरहेकाले यसको परिक्षण गरी प्रशोधन गरेर मात्र वितरण गर्नुपर्ने बताउनुभयो ।
‘खुला मुहान देखिहाल्नु भयो, त्यहाँबाट ल्याएको पानीको गुणस्तर कस्तो छ ? अहिलेसम्म परिक्षण भएको छैन । जस्तो आयो त्यस्तै वितरण भैरहेको छ, हामीले पानीको शुद्धिकरणका लागि फिल्टर ट्याङ्कीको माग गरेका छौं तर अहिलेसम्म खुदीखोलाबासीको आवश्यकतालाई कसैले बुझेका छैनन् ।’
वितरण ट्याङ्कीबाट बस्तीसम्म लगिएका वितरण पाइपलाइनहरु समेत कतै खुल्लै थिए भने कतै चुहिरहेका देखिन्थे ।

खुदीखोलाको आराधना टोलको बीचबाटै सडक गएको छ । बस्तीबाट श्री सीता आधारभूत विद्यालय तर्फ जाँदा सडकको दायाँपट्टि नाली निर्माण गरिएको छ । वितरण लाइनको बीच बीचबाट घरसम्म पानी लगिएको छ । तर त्यही वितरण पाइप भने नालीमा छोडिएको छ । जहाँ नालीको फोहोरपानी खानेपानीको पाइपबाट छिरेर धारासम्म पुग्ने प्रबल सम्भावना छ ।

यी सबै अवस्था थाहा हुँदाहुँदै पनि अव्यबस्थित बस्ती भएकाले कसैले पनि ध्यान नदिएको खुदीखोला बासीको आरोप छ । ‘हामीले सकेसम्म आफ्नो तवरबाट गरेकै छौं, हामीलाई सहयोगी हातको खाँचो छ । अब हामी खानेपानी प्रणालीलाई व्यबस्थित बनाउन चाहन्छौं’ आराधना टोल विकास संस्थाका अध्यक्ष भूपेन्द्र राना मास्कीले भन्नुभयो।
खुदीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २६३ घरमा २४ सै घण्टा खानेपानी सेवा प्रदान गर्दै आएको छ । एक घर एक धारा जडान गरेको उपभोक्ता समितिले प्रति युनिट १० रुपैयाँ खानेपानी महसुल संकलन गर्दै आएको छ । माओबादी द्धन्द्धका समयमा विभिन्न जिल्लाबाट विस्थापित भएर आएका मानिसहरुले २०५६ सालमा खुदीखोला बस्ती बसाएका हुन् ।

खुदीखोलाको उदगम बिन्दु बेगनास र रुपाताल हो । बस्ती बसाएको समयमा खुदीखोलाकै पानीले गुजारा चलाउँदै आए पनि दुषित पानीका कारण झाडापखालाले बस्ती नै आक्रान्त बनेपछि सुरक्षित मुहान खोजी गर्दै जाँदा हालको मुहानमा पुगेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हालकै मुहानलाई व्यवस्थित गरी इन्टेक निर्माण गर्ने र वरिपरि तारले घेराबार गर्ने हो भने अहिलेको भन्दा खानेपानीको परिमाण पनि बढ्ने र प्रदुषण पनि नहुने पक्का छ । मुहानबाटै स्वच्छ र सुरक्षित पानी पठाएको सुनिश्चित गर्न सके पानी प्रशोधनका लागि थप संरचना निर्माण गरिहनु पर्दैन । बरु डिष्ट्रिव्युसन ट्याङ्क र रिजर्भ्वायर ट्याङ्क निर्माण गरी सबै घरमा खानेपानीको समानुपातिक वितरण गर्नुपर्ने आवश्यकता देखिन्छ । यत्ति गर्न सके खुदीखोलाका बासिन्दाले खानेपानीका लागि अबको केही बर्षसम्म कसैको ढोका पनि ढक्ढक्याउनु पर्दैन ।


312 पटक हेरिएको 

