प्रशोधन सहितको ढल प्रणाली र मलमूत्र प्रशोधन केन्द्रले मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव : सहसचिव श्रेष्ठ

  वास खबर संवाददाता  704 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले आवश्यक मात्रामा मानव मलमूत्र प्रशोधन केन्द्र र प्रशोधन सहितको ढल प्रणालीको निर्माण तथा सञ्चालनबाट मात्र दिगो विकास लक्ष्य ६ हासिल गर्न सकिने बताउनु भएको छ।

विश्व शौचालय दिवसको पूर्व सन्ध्यामा एस.एन.भी. (SNV) नेपालको सहयोगमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको ‘मानव मलमूत्र व्यवस्थापनमा डिजाइन र सञ्चालनका चुनौतीहरू’ बिषयक कार्यक्रममा सहसचिव श्रेष्ठले मानव मलमूत्र प्रशोधन केन्द्र र ढल प्रणाली निर्माणको काम एकदम चुनौतीपूर्ण भएकाले दिगो विकास लक्ष्य हासिल गर्न पनि चुनौती रहेको बताउनुभयो।


‘तराईमा ढल प्रणाली निर्माणका लागि स्लोप मेनटेन गर्न गाह्रो छ, पहाडमा छरिएर रहेको बस्तीका कारण ढल प्रणाली अति नै खर्चिलो छ’ उहाँले भन्नुभयो ‘यस्तो अवस्थामा मानव मलमूत्र प्रशोधन केन्द्र नै उत्तम विकल्प हो ।’

तर यसमा समेत निर्माण र सञ्चालन तथा व्यवस्थापनमा समस्याहरु उब्जिएको सहसचिव श्रेष्ठले बताउनुभयो। कतिपय ठाउँमा जग्गा प्राप्तिको समस्या भएकाले संघ सरकारले बजेट विनियोजन गरे पनि निर्माण हुन नसकेको र निर्माण भैसकेको ठाउँमा पनि सही तरिकाले सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो।

सहसचिव श्रेष्ठले कार्य विभाजन नियमावली अनुसार संघ सरकारले निर्माण गर्ने र सञ्चालन तथा व्यवस्थापन स्थानीय सरकारले गर्ने प्रावधान अनुसार आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो।

विस्तृतमा हेर्नुहोस् भिडियोः


कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहले मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा देखिएको समस्या तथा चुनौतीका बिषयमा भएका अध्ययनहरुको निष्कर्षको प्रस्तुतीकरण तथा छलफलको माध्यमबाट आगामी कदमको बारेमा दिशा निर्दिष्ट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले खानेपानी तथा सरसफाइ क्षेत्रको ऐन कानुन तर्जुमा तथा बनेका मानव मलमूत्र प्रशोधन केन्द्रहरु सञ्चालनका लागि क्षमता अभिवृद्धिका लागि आफ्नो संस्थाले गर्दै आएको कामहरुबारे जानकारी गराउनुभयो।

कार्यक्रममा खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले ढल रहित प्रणालीको मूल्यांकन प्रतिवेदनको निश्कर्ष प्रस्तुत गर्नुभयो।

यस्तै देशभरिका प्रशोधन केन्द्रहरुको अवस्था र सञ्चालनका चुनौतीका बिषयमा इन्जिनियर कृष्णराम एण्डो, ग्रामीण क्षेत्रमा मानव मलमूत्र व्यवस्थापनका बिषयमा एस.एन.भी. नेपालका वास लिडर नादिरा ख्वाजा र लागत–प्रभावकारी मानव मलमूत्र व्यवस्थापनको डिजाइनका बिषयमा वास विज्ञ केशवराज बिष्टले कार्यपत्र प्रस्तुत गर्नुभयो।

डिजाइन गाईडलाइन हुनुपर्छ : सहभागी

कार्यक्रमका सहभागीहरुले मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागले डिजाइन गाईडलाइन बनाउनुपर्ने बताए । प्रशोधन केन्द्रको गाइडलाइन निर्माण भएमा यसको परिधिभित्र रहेर मात्र डिजाइन हुने हुँदा स्तरीय संरचना बन्ने र एकरुपता आउने सहभागीहरुको भनाइ थियो।

डिजाइन गाईडलाइन नहुँदा आफूखुसी निर्माण भैरहेको र लगानी पनि खेर गैरहेको सहभागीले बताए ।


प्रस्तुतीकरण सत्रको अध्यक्षता समेत गर्नुभएका सहसचिव मीना श्रेष्ठले खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) संशोधनको प्रक्रिया सुरु गरेको र यसमा सरसफाइ संरचनाको डिजाइन समेत समेट्ने बताउनुभयो।

समुदायमा आधारित खानेपानी अयोजनाहरुको डिजाइन, निर्माण र मर्मत सम्भारको लागि सन् १९९० मा तत्कालीन खानेपानी तथा ढल निकास विभागले राष्ट्रिय खानेपानी डिजाईन निर्देशिका तयार पारेको थियो । त्यसको ३५ बर्ष पछि बल्ल विभागले डिजाइन गाईडलाइन संशोधनको प्रक्रिया अगाडि बढाईएको छ ।

मलमूत्रबाट उद्यम सिर्जना गर्नुपर्छ : पूर्वमन्त्री शाह

कार्यक्रममा पूर्वमन्त्री एवं स्मार्ट वास सोलुसन्सका सल्लाहकार गणेश शाहले विगत २० बर्ष यता फोहोरलाई स्रोत हो भन्ने बुझाई बढ्दै गएको र मानव मलमूत्र ठूलो स्रोतको रुपमा परिचित हुँदै गएको बताउनुभयो।


उहाँले भारत तथा अन्य मुलुकहरुमा मलमूत्रबाट लाखौं डलरको व्यवसाय सिर्जना भैरहेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि यसबाट उद्यम सिर्जना गर्न सकिने बताउनुभयो। ‘मानव मलमूत्रबाट खर्बौको व्यवसाय सिर्जना गर्न सकिन्छ, यसका लागि वैज्ञानिक प्राविधिक ज्ञानलाई उद्यममा ढाल्नुपर्छ’ उहाँले भन्नुभयो।

कार्यक्रममा खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग अधिकारीहरु तथा खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी र वास विज्ञ तथा अन्यको सहभागिता थियो।


विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्‍याउने र विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले हरेक बर्ष नोभेम्बर १९ तारिखका दिन विश्व शौचालय दिवस मनाईदै आएको छ ।

यसबर्षको नारा ‘Sanitation in a Changing World’ तय गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार