कर्णालीमा नगरव्यापी समावेशी सरसफाइ अवधारणा सम्बन्धी प्रदेशस्तरीय तालिम

  वास खबर सम्बाददाता  317 पटक हेरिएको

सुर्खेत : नगरव्यापी समावेशी सरसफाइ अवधारणा “Introduction to Citywide Inclusive Sanitation (CWIS) Approach” सम्बन्धी प्रदेशस्तरीय तालिम सञ्चालन गरिएको छ । सहरव्यापी समावेशी सरसफाइ दृष्टिकोण प्रतिको बुझाइ बढाउँदै सबैका लागि समावेशी, पहुँचयोग्य र दिगो सरसफाइ सेवा प्रवर्द्धन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र र वातावरण तथा जनस्वास्थ्य संस्थाले संयुक्त रुपमा तालिम आयोजना गरिएको हो।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको तालिममा दैलेख, सुर्खेत, जुम्ला र जाजरकोटका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गतका कार्यालयहका प्रतिनिधिहरूका साथै विकास साझेदार संस्थाका प्रतिनिधिहरू गरी १९ जनाको सहभागिता थियो।

तालिमकै दौरानमा सहभागीहरुलाई सुर्खेत स्थित मानव मलमूत्र प्रशोधन केन्द्रको समेत अवलोकन भ्रमण गराईएको थियो।

तालिमका सहभागीहरुले नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी अवधारणाबारे प्रष्ट भएका बताएका छन् । सहभागीहरुले नगरव्यापी समावेशी सरसफाइ अवधारणाको कार्यान्वयनबाट समता, सुरक्षा र दिगोपना पनि कायम हुने कुरा थाहा पाएको बताएका छन् ।

विश्वका बढ्दो शहरी क्षेत्रमा सरसफाइका चुनौतीहरुलाई प्रभावकारी रुपमा समाधान गर्न विकास गरिएको नवीन अवधारणा हो ‘नगरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा’ यस अवधारणाले शहरी क्षेत्रमा बसोबास गर्ने सबैका लागि सुरक्षित, समतामूलक, र दिगो सरसफाइ सेवा प्रदान गरी दिगो विकास लक्ष्य ६.२ को नतिजाहरु हासिल गर्न सहयोग गर्दछ।

यस अवधारणाले शहरी सरसफाइ प्रणालीहरुको योजना र कार्यान्वयन गर्दा जिम्मेवार निकाय वा व्यक्ति निर्दिष्ट गर्दै जवाफदेही बनाउने र आवश्यक स्रोतको योजना तथा व्यवस्थापन गर्ने कुरा सुनिश्चित गर्दछ। यस अवधारणाले ढल सहित वा ढल रहित भौतिक संरचना निर्माणलाई मात्र जोड नदिइ सरसफाइमा सबैको पहुँच, सुरक्षा र दिगोपनालाई जोड दिंदै गरीब, विपन्न तथा महिला वर्गलाई विशेष प्राथमिकता दिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार