नुवाकोट : कुनै समय नुवाकोटको मेघाङ गाउँपालिका किम्ताङ गाउँको बीच भागबाट बग्ने सानो खोलाको नाम थियो ‘क्लि स्योङ’ । गाउँभरिकै मानिसले दिसा गर्ने भएकाले त्यो खोल्सीलाई ‘क्लि स्योङ’ नामकरण गरिएको थियो । तामाङ भाषामा ‘क्लि’ भनेको दिसा र ‘स्योङ’ भनेको ‘खोला’ हो ।
गाउँलेले खोलामा दिसा गरेकै कारण क्लि स्योङ अर्थात गुह्य खोला नामकरण गरिएको उक्त खोलालाई अहिले गाउँलेहरु साउन धारा भन्छन् । गाउँमा सबैको घरमा चर्पी बनाएर बाहिर दिसा गर्ने क्रम रोकिएपछि गुह्य खोलाको नाम परिवर्तन भएर साउन धारामा परिणत भएको हो ।
किम्ताङमा सरसफाइ प्रज्वलक भएर काम गरेका प्रताप तामाङ भन्नुहुन्छ ‘गुह्य खोला भन्ने नाम नै हटिसक्यो, अहिलेका केटाकेटीलाई त त्यो खोल्सीको नाम क्लि स्योङ थियो भन्ने पनि थाहा छैन, अहिले त उनीहरु साउन धारा भन्दा मात्र चिन्छन् ।’
उहाँका अनुसार पहिले गाउँभरिका मानिसले दिसा गर्ने ठाउँमा नै धारा बनाइएको छ । प्रायः साउनमा ठूलो धारा हुने गरी पानी पलाउने भएकाले साउन धारा भन्ने गरिएको हो । गाउँलेले बाहिर दिसा गर्न छाडेपछि क्लि स्योङ भन्न छाडेर साउन धारा भन्न थालिएको हो ।
साबिकको किम्ताङ गाउँ विकास समिति अहिले मेघाङ गाउँपालिकाको वडा नंं. ४ मा पर्दछ । किम्ताङलाई दुई बर्ष अघि नै खुला दिसामुक्त घोषणा गरेपनि मेघाङ गाउँपालिकालाई भने यही पुसा ११ गते मंगलबार खुलादिसामुक्त घोषणा गरिएको छ ।


890 पटक हेरिएको 

