
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ लाई ‘सफा स्वच्छ वडा’ घोषणा गरिएको छ। वडाध्यक्ष टंक काप्रीको अध्यक्षता र गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यमा वडा नम्बर ५ लाई नमुना सफा र स्वच्छ वडा घोषणा गरिएको हो।
गाउँपालिकाको अगुवाईमा ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड, वाइन टु वाटर, सीटीएस, फोकस, अक्सफाम, शान्ति नेपाल लगायतका साझेदार संस्थाहरूको सहकार्यमा वडा नम्बर ५ पालिकाको चौथो र जिल्लाको पाँचौँ ‘सफा स्वच्छ वडा’को रूपमा घोषित भएको हो।

२०८२ भित्र गाउँपालिकालाई नै घोषणा गर्ने लक्ष्य
‘मिशन दुई हजार बयासी – सफा र स्वच्छ क्षेत्र ज्वालामुखी’ भन्ने मूल नारासहित गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छतामा समानान्तर रूपमा काम गर्दै आएको छ। सोही अनुरूप यसअघि वडा नं. ३, ६ र ७ लाई ‘सफा स्वच्छ वडा’ घोषणा भइसकेको छ। २०८२ सालभित्र सम्पूर्ण गाउँपालिका नै स्वच्छ, सफा र नमुना गाउँ घोषणा गर्ने लक्ष्य पालिकाले तय गरेको छ।
सुरक्षित खानेपानीसँगै सचेतना र जनचेतनालाई घर–घरमा पुर्याउँदै स्थानीय सरकारको जिम्मेवारी अनुसार ‘बोर्ड मोडल’ मार्फत कार्यान्वयन गरिएको अध्यक्ष दनैले बताउनुभयो। “नागरिक स्वस्थ भए मात्र गाउँको विकास सम्भव हुन्छ, त्यसैका लागि हामी स्वच्छता कायम राख्ने अभियानमा जोड दिएका छौँ,” अध्यक्ष दनैको भनाइ थियो।

६ हजार ७९ घरधुरीमध्ये ७४.३३ प्रतिशतले पूरा गरे सबै सूचक
गाउँपालिकाले चर्पीको उचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानी, सुरक्षित खाना, भान्सा तथा आँगन सफाइलाई ५ व्यवहार परिवर्तनका प्रमुख क्षेत्र मानेर १५ सूचकका आधारमा निगरानी गर्दै आएको छ।
समग्र गाउँमा रहेका ६ हजार ७९ घरधुरीमध्ये ४५१९ घरधुरी (७४.३३%) ले सबै सूचक पूरा गरिसकेका छन् भने १५६० घरधुरी (२५.६६%) ले सूचक पूरा गर्ने प्रक्रियामा रहेका वडाध्यक्ष काप्रीले जानकारी गराउनुभयो। कम्तीमा चार चरणको अनुगमनपछि मात्र पूर्ण रूपमा ‘सफा स्वच्छ वडा’ मान्य हुने प्रक्रिया अनुसार वडा नं. ५ लाई घोषणा गरिएको जनाइएको छ।

घोषणा कार्यक्रममा उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



362 पटक हेरिएको 

