
काठमाडौ : थाईल्याण्डको बैंककमा भैरहेको पानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ –Water & Development Congress & Exhibition (WDCE) मा आज चिनियाँ प्रतिनिधिमण्डल सँग नेपाली पक्षको बैठक हुँदैछ । खानेपानी र सरसफाइको अवस्था र चुनौतीहरू बारेको बैठकमा नेपालको तर्फबाट खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यले सहभागिता जनाउनु हुनेछ।
यस्तै आजै सचिव बज्राचार्यले नगरव्यापी समावेशी सरसफाइमा प्रमाणमा आधारित निर्णय प्रक्रियाका लागि डिजिटल उपकरणहरूका बिषयक छलफलमा पनि भाग लिनुहुने भएको छ । थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तर्गत विश्व पानी तथा सरसफाइ केन्द्र -Global Water & Sanitation Center (GWSC) र Innovative Solutions Pvt. Ltd को आयोजनामा उक्त छलफलको आयोजना गरिएको हो ।
नेपालको तर्फबाट सबैभन्दा महत्वपूर्ण कार्यक्रमको रुपमा सुरक्षित र समावेसी सरसफाइका लागि एक साथ अघि बढ्न एलायन्सका चुनौतीहरु बिषयक सिविसान कार्यशालालाई लिईएको छ । यो सम्मेलनको अन्तिम दिन अर्थात डिसेम्बर १२ तारिखका दिन हुनेछ ।
कार्यशालाको अध्यक्षता सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले गर्नुहुने कार्यक्रम छ । कार्यशालामा प्यानल छलफलका संयोजकको रुपमा नेपाल नगरपालिका संघ (MuAN) का कार्यकारी निर्देशक कलानिधि देवकोटा हुनुहुनेछ भने वक्ताको रुपमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) मुख्यालय, नाईरोबीका पानी तथा सरसफाइ टोली प्रमुख हेज़ेकाया ओटिएनो पिरेह, FSM Network Bangladesh सचिवालयको तर्फबाट ITN-BUET का प्रतिनिधि र NFSSM Alliance India सचिवालयको तर्फबाट भारतको dasra बाट वरिष्ठ प्रबन्धक शहरी सरसफाइ विज्ञ ध्रुव मिटर रहने छन्।
सोही कार्यक्रममा नेपाल नगरपालिका संघ (MuAN) का महासचिव तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले Citywide Inclusive Sanitation Alliance Nepal – CWISAN सदस्यको रूपमा भाग लिनुहुनेछ । साथै गेट्स फाउन्डेशन, अमेरिकाका उपनिर्देशक रोशनराज श्रेष्ठ विशेष आमन्त्रितको रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) ले जनाएको छ ।
खानेपानी तथा सरसफाइ (WASH) क्षेत्रमा विश्वव्यापी ज्ञान आदान–प्रदान गर्ने, विश्वभरका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माताहरू, विकास साझेदारहरू र संलग्न संस्थाहरूलाई एउटै प्लेटफर्ममा ल्याई नयाँ प्रविधि, अनुसन्धानका परिणाम, सिकाइहरू र व्यवहारिक अनुभवहरू आदानप्रदान गर्ने, विकासशील देशहरूको खानेपपानी तथा सरसफाइ प्रणालीलाई सुदृढ गर्ने र नेपाल, भारत, अफ्रिकाका देशहरूजस्ता विकासशील राष्ट्रमा खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली प्रणाली सुधारका लागि प्रभावकारी नीतिहरू, व्यावहारिक मोडलहरू,समाधानका नवीन उपायहरुका बिषयमा छलफल गर्ने लगायत उद्देश्यले अन्तर्राष्ट्रिय पानी संघ International Water Association (IWA) ले खानेपानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ आयोजना गरिएको हो ।

६० भन्दा बढी देशका १ हजार ५०० बढीको सहभागिता रहेको पानी तथा विकास सम्मेलन र प्रदर्शनीमा नेपालको तर्फबाट स्थानीय सरकारका प्रमुख तथा उप-प्रमुख, खानेपानी, सरसफाइ तथा स्वच्छता र विकास क्षेत्रका विज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता लगायत गरी ४७ जनाको सहभागिता रहेको छ । सम्मेलनमा सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, अनुसन्धान संस्था, विश्वविद्यालय, निजी क्षेत्र तथा खानेपानी तथा सरसफाइ क्षेत्रका विज्ञहरुको सक्रिय सहभागिता रहेको छ।


341 पटक हेरिएको 

