
बर्दिया : बर्दियाको गुलरिया नगरपालिका–४, तुल्सीपुरमा अवस्थित ध्रुव माध्यमिक विद्यालयलाई औपचारिक रूपमा ‘३ तारा विद्यालय’ घोषणा गरिएको छ। विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) का सबै मापदण्ड पूरा गरेपछि उक्त विद्यालयलाई तीन तारा विद्यालयको मान्यता प्रदान गरिएको हो।
नेपाल सरकारले २०७४ मा ल्याएको खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी नीति लाई आधार मानी गुलरिया नगरपालिकाले २०८१ मा आफ्नै कार्यविधि निर्माण गर्दै १० वटा सूचक तय गरेको थियो। सोही कार्यविधि अनुसार विद्यालयमा आवश्यक खानेपानी, सरसफाइ तथा महिनावारी स्वच्छता (MHM) सम्बन्धी सबै सूचकहरू पूरा भएपछि गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सतीश यादवले ध्रुव माध्यमिक विद्यालयलाई ३ तारा विद्यालय घोषणा गर्नुभएको हो।
घोषणा समारोहमा विद्यालयलाई ३ तारा प्रमाणित प्रमाणपत्र प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत यादवले तीन तारा प्राप्तिमा जस्तै सर्वपक्षीय सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले यसको दिगोपनाका लागि नगरपालिका सदैव सहयोग गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो।
विद्यालयमा पर्याप्त मात्रामा स्वच्छ खानेपानीको व्यवस्था, अपाङ्गमैत्री शौचालय, महिनावारी आराम कक्ष लगायत आवश्यक भौतिक संरचनाहरू निर्माण गरिएका छन्। यी संरचनाले विद्यार्थीहरूको स्वास्थ्य, स्वच्छता र सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताइएको छ।
घोषणा कार्यक्रम ध्रुव माध्यमिक विद्यालयको आयोजना, युके एड तथा वाटर एडको सहयोग, बेस संस्था, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रद्वारा सञ्चालित वास गेन्स परियोजनाको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वाटर एड नेपालका परियोजना प्रबन्धक उमाशंकर यादवले सबैको सामूहिक प्रयासका कारण विद्यालयलाई ३ तारा घोषणा गर्न सफल भएको उल्लेख गर्दै विद्यालय परिवारलाई बधाई दिनुभयो। उहाँले प्राप्त उपलब्धिको निरन्तरताका लागि विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो।
विद्यार्थीहरूमा आएको सकारात्मक व्यवहार परिवर्तनले गुणस्तरीय शिक्षा प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।
घोषणा समारोहमा गुलरिया नगरपालिका–४ का वडा अध्यक्ष सुरेश गौतम, वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासी, पूर्व वडा अध्यक्ष रामबहादुर रावल लगायतले विद्यालयलाई बधाई दिँदै तीन तारा मान्यताको दिगोपनामा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रमका अवसरमा विद्यालयलाई तीन तारा बनाउन योगदान पुर्याउने सहयोगी संस्थाहरू, विद्यालय परिवारका शिक्षकहरू, किशोरी क्लब तथा बाल क्लबलाई सम्मान समेत गरिएको थियो।
वास गेन्स परियोजनाको सहयोगमा हालसम्म परियोजना सञ्चालनमा रहेका ३३ वटा विद्यालयहरूमध्ये स्थानीय कार्यविधि अनुसार १२ वटा विद्यालयलाई तीन तारा विद्यालय घोषणा गरिएको छ।


191 पटक हेरिएको 

