
काठमाडौः नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी जनहितकारी रेडियो सन्देशहरु उत्पादन गरिएको छ । नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी अवधारणा प्रबद्र्धनका लागि विभिन्न जिल्लाका रेडियोहरुबाट प्रसारण गर्ने हेतुले जनहितकारी सन्देश हरु उत्पादन गरिएको हो ।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम” अन्तर्गत उत्पादन गरिएको जनहितकारी सन्देश हरु नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी बिषयलाई प्रबद्र्धन गर्ने तरिकाले उत्पादन गरिएको छ ।कार्यक्रम सञ्चालित जिल्लाहरुमा भएको सरसफाइको वर्तमान अवस्था विश्लेषण गरी सोही अनुरुप बिषयवस्तु निर्धारण गरी जनहितकारी सन्देश हरु निर्माण गरिएको हो ।
हालका लागि ५ वटा जनहितकारी सन्देश हरु उत्पादन गरिएको छ । ती सन्देशहरु सम्बन्धित जिल्लाका रेडियोहरुको कभरेज एरिया, लोकप्रियता आदिको विश्लेषण गरी रेडियो छनौट गरेपछि प्रसारण गरिने वास खबर सम्पादक पी.टी.लोप्चनले बताउनुभयो।
यी हुन् जनहितकारी सन्देशमा समेटिएका बिषयहरु :
१. मानव मलमूत्र प्रशोधन केन्द्रमै लगेर व्यवस्थापन गरौं ।
झापाको मेचीनगर नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनकै लागि भनेर दुई दुई वटा मानव मलमूत्रीय व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । तर यो आंशिक रुपमा मात्र चलेको छ । निजी क्षेत्रबाट सञ्चालित ट्याङ्करहरुले खुला ठाउँमै फ्याँक्दा मानव मलमूत्रीय व्यवस्थापन केन्द्र पूर्ण क्षमतामा सञ्चालन नभएको मात्र होइन, जनस्वास्थ्य र वातावरणमा ठूलो असर परिरहेको छ । यस्तो अवस्थामा खुला ठाउँमा विसर्जन गर्ने कार्य रोक्नु र प्रशोधन केन्द्रमै लगेर व्यवस्थापन गर्नु हामी सबैको दायित्व हो ।
पहिलो जनहितकारी सन्देशमा वर्तमान अवस्था चित्रण गरी मानव मलमूत्र प्रशोधन केन्द्रमै लगेर व्यवस्थापन गर्न आम मानिसहरुलाई प्रेरित गरिएको छ ।
सुन्नुहोस् यो सन्देश :
२. सरसफाइकर्मीले भोग्नुपर्ने जोखिम र अपनाउनुपर्ने सुरक्षात्मक उपाय
जहाँ ढल प्रणाली छैन, त्यहाँ सेप्टिक ट्याङ्कहरु भरिन थालेपछि औपचारिक तथा अनौपचारिक क्षेत्रका सरसफाइकर्मीहरुले सेप्टिक ट्याङ्क खाली गर्दै आएका छन् । संस्थागत तथा नीजि क्षेत्रमा कार्यरत जुनसुकै सरसफाईकर्मीले पनि व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएका हुँदैनन् । कार्यस्थलमा सुरक्षात्मक उपाय अपनाउनुपर्छ भन्ने थाहा भए पनि रोजगारदाताले उपलब्ध नगराउँदा उनीहरुले सुरक्षा सामग्री बिनै फिल्डमा काम गर्न बाध्य छन् । यस्तो अवस्थामा उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्न प्रेरित गर्नुपर्छ । कार्यस्थलमा सुरक्षात्मक उपायबारे अपनाउने बारे जब सरसफाइकर्मी सचेत हुन्छन्, उनीहरुले आफैले बन्दोबस्त गरेर होस् वा रोजगारदाता कम्पनीलाई भनेर पनि व्यक्तिगत सुरक्षा सामग्री प्रबन्ध गर्न लगाउँछन् ।
तसर्थ यो सन्देश सरसफाइकर्मीले भोग्नुपर्ने जोखिम र उनीहरुले अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे सजग गराउने उद्देश्यले तयार पारिएको छ ।
सुन्नुहोस् यो सन्देश :
३. खोलानालामा मानवमलमूत्र विसर्जन गरे सजाय हुने
ढल प्रणालीमा नजोडिएका काठमाडौ उपत्यकाका घरहरुको सेप्टिक ट्याङ्क खाली गरेर निजी ट्याङ्कर व्यवसायीहरुले वागमती वा अन्य नदी किनारमा विसर्जन गर्दै आएका छन् । यसरी विसर्जन गरे बापत काठमाडौ महानगरपालिका तथा ललितपुर महानगरपालिकाले बेला बखत उनीहरुलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने गरिरहेको छ ।
पछिल्लो समय धोबीघाटमा निर्माण सम्पन्न भएको फोहोरपानी प्रशोधन केन्द्रमा मानव मलमूत्र प्रशोधन गर्न मिल्ने कम्पार्टमेन्ट समेत निर्माण भएको छ । कतिपय व्यवसायीहरुलाई यसबारेमा जानकारी छैन । जसका कारण अहिले पनि खोलानालामै विसर्जन गर्दै आईरहेको छ । यसै सन्दर्भमा धोबीघाटमा निर्माण भएको मानव मलमूत्र प्रशोधन केन्द्रमा मात्र विसर्जन गराउने सन्देश उनीहरुसम्म पु¥याउन आवश्यक देखिएकाले यो जनहीतकारी सन्देश उत्पादन गरिएको हो । वाग्मती लगायत खोलानालामा मानवमलमूत्र विसर्जन गरे सजाय हुने र धोबीघाटमा बनेको प्रशोधन केन्द्रमा मात्र विसर्जन गर्न जानकारी गराउने यो सन्देश उत्पादन तथा प्रसारणको मुख्य उद्देश्य हो ।
सुन्नुहोस् यो रेडियो सन्देश :
४. स्तरीय सेप्टिक ट्याङ्क कस्तो हुनुपर्छ ?
“नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम” सञ्चालित गोरखा जिल्लाको सरसफाइको अवस्था निक्कै नाजुक छ । त्यहाँका पुराना घरहरुमा असुरक्षित सेप्टिक ट्याङ्कहरु छन् भने नयाँ बन्ने भवनमा समेत सेप्टिक ट्याङकको कुनै मापदण्ड बनाएको अवस्था छैन । सेप्टिक ट्याङ्क भनेको मानव मलमूत्र जम्मा गर्ने खाल्डो हो भन्ने खालको आम बुझाई छ । यस्तो अवस्थामा स्तरीय सेप्टिक ट्याङ्क मात्र बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो पिएसए उत्पादन गरिएको हो । यस पिएसएको माध्यमबाट खानेपानीको स्रोतको रक्षा र सुरक्षित सरसफाइका लागि घर निर्माण गर्दा स्तरीय सेप्टिक ट्याङ्क मात्र बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।
सुन्नुहोस् यो सन्देश :
नगरव्यापी समावेशी सरसफाइ अवधारणा
“नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम” सञ्चालित जिल्लाहरुको सरसफाइको अवस्था समान छैन । कैलालीको गोदावरी नगरपालिकाको कुरा गर्दा यहाँ एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र छ । एसियाली विकास बैंक, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र गोदावरी नगरपालिकाको संयुक्त लगानीमा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको त्यत्ति लामो समय भैसकेको छैन ।
यहाँका बासिन्दा र नगरपलिकाका लागि नगरव्यापी समावेशी सरसफाइको अवधारणात्मक बिषयबारे जानकारी गराउन आवश्यक ठानेर यस सम्बन्धीको बिषयबस्तु विकास गरिएको छ । यो पिएसएमा शौचालय भएर मात्र नहुने बरु सबै तह वर्गका समुदायसम्म मानव मलमूत्रको सुरक्षित संकलन, ढुवानी, प्रशोधन र पुनः प्रयोगमा पनि समान पहुँच हुनुपर्ने बिषयलाई जोड दिईएको छ ।
सुन्नुहोस् यो पिएसए


34 पटक हेरिएको 

