वास प्रणाली सुदृढीकरणका लागि NWSSRICDC र WHH बीच सहकार्य सम्झौता

  वास खबर सम्बाददाता  891 पटक हेरिएको

काठमाडौँ :  नेपालमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणालीलाई दीगो, समावेशी र संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र NWSSRICDC र WELT HUNGER HILFE (WHH) बीच सहकार्य सम्झौता भएको छ ।

सन् २०२५ डिसेम्बरदेखि २०२७ डिसेम्बरसम्म लागू हुने यस सहकार्य सम्झौतामा NWSSRICDC का कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ र WELT HUNGER HILFE (WHH) नेपालका कन्ट्री डाइरेक्टर शाकेभ नबी (Shakeb Nabi) ले हस्ताक्षर गर्नुभएको छ । सम्झौताका साक्षीका रूपमा NWSSRICDC को तर्फबाट इञ्जिनियर चेतनारायण श्रेष्ठ, इञ्जिनियर मुकुन्दप्रसाद आगस्ती तथा डब्लु एच.एच.को तर्फबाट वास विज्ञ बिजु डंगोल तथा कार्यक्रम प्रमुख Tabea Seiz रहनुभएको छ ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गतको निकाय हो भने वेल्ट हंगर हिल्फे (WHH) जर्मन गैर-नाफामूलक संस्था हो।

द्धिपक्षीय सम्झौताले नेपालमा वास प्रणाली सुदृढीकरणको अवधारणालाई संस्थागत गर्दै राष्ट्रिय स्तरको क्षमता विकास, अनुसन्धान, तालिम तथा नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौता अनुसार राष्ट्रिय स्तरको वास प्रणाली सुदृढीकरण ट्रेनिङ म्यानुअलको पूर्वपरीक्षण, परिमार्जन, अन्तिम रूप दिनुका साथै NWSSRICDC को औपचारिक तालिम पाठ्यक्रममा एकीकरण गरिनेछ । यसले संघ, प्रदेश र स्थानीय तहका सरकारी निकाय, कार्यान्वयन साझेदार तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ।

विशेष गरी जलवायु उत्थानशीलता र प्रणालीगत दृष्टिकोणलाई केन्द्रमा राख्दै स्थानीय तहका लागि प्राविधिक क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । फिकल स्लज ट्रीटमेन्ट प्लान्टको डिजाइन र व्यवस्थापन सम्बन्धी तालिम तथा तालिमपछिको अनुगमन पनि सहकार्यको प्रमुख अङ्ग रहनेछ।

यस सहकार्य अन्तर्गत खानेपानी सुरक्षा, भूमिगत पानी, मुहान (spring source) तथा खानेपानी तथा सरसफाइको अन्य क्षेत्रमा संयुक्त अनुसन्धान गरिनेछ। अनुसन्धानबाट प्राप्त तथ्य, सिकाइ र केस स्टडीहरूलाई राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको ज्ञान भण्डारमा अभिलेखीकरण गरिनेछ।

त्यसैगरी, अनुसन्धान र नवप्रवर्तन सम्बन्धी अनुभव तथा नतिजा विकास साझेदारहरूसँग आदानप्रदान गर्ने, ज्ञान आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने कार्यमा समेत सहकार्य हुनेछ।

संस्थागत सुदृढीकरणमा रणनीतिक सहयोग

सम्झौताले NWSSRICDC को संस्थागत दीगोपनलाई समेत प्राथमिकता दिएको छ। यस अन्तर्गत व्यवसायिक योजना (Business Plan) को विकास वा अद्यावधिक, अनुसन्धानका लागि स्रोत परिचालन, तथा दाता निकायसँगको समन्वय र छलफलमा डब्लु.एच.एच. ले रणनीतिक सहयोग प्रदान गर्र्नेे सम्झौतामा उल्लेख छ ।

Agenda for Change (A4C) का सदस्य संस्थाहरूको अन्तर्राष्ट्रिय अनुभव, उपकरण र विज्ञतालाई तालिम सामग्री तथा कार्यान्वयन प्रक्रियामा उपयोग गर्दै वास क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी बनाइने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण र दिगोपनाका सिद्धान्तहरू तालिम तथा कार्यक्रमका सबै चरणमा अनिवार्य रूपमा समावेश गरिने पनि उल्लेख छ। यसले सीमान्तकृत तथा पछाडि पारिएका समुदायको पहुँच र सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

दुई संस्थाबीच दीर्घकालीन सहकार्य

यो सहकार्य सम्झौता कानुनी रूपमा बाध्यकारी नभए पनि दुवै संस्था बीचको साझा दृष्टिकोण, प्रतिबद्धता र सहकार्यको औपचारिक अभिलेखका रूपमा रहनेछ। कुनै पनि विवाद आपसी परामर्श र संवाद मार्फत समाधान गर्ने सहमति गरिएको छ।

“यस सहकार्यले नेपालमा सुरक्षित, समावेशी र दीगो खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्न प्रणालीगत सुधार, क्षमता विकास र ज्ञान उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ” राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार