
काठमाडौ : काठमाडौ उपत्यकाका नदीहरूमा तैरिने फोहोर नियन्त्रणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ट्रास बेरियर जडान सुरु गरेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको समितिले बागमती, विष्णुमती र मनोहरा नदी प्रणालीमा प्लास्टिक लगायत तैरिने फोहोर संकलन गर्ने उद्देश्यले ट्रास बेरियर जडान कार्य अघि बढाएको हो ।
ट्रास बेरियर (Trash Barrier) नदी, खोल्सा वा नालामा बगेर आउने प्लास्टिक, बोतल, काठ, फोहोरजन्य ठोस पदार्थ जस्ता वस्तुहरूलाई अगाडि बढ्न नदिई एकै ठाउँमा रोक्ने अवरोध संरचना हो।
हाल बागमती नदीको गुह्वेश्वरी क्षेत्रमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ । समितिका अनुसार बागमती नदीको गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल क्षेत्र, बागमती–मनोहरा दोभान, यूएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी ६ स्थानमा ट्रास बेरियर जडान गरिँदैछ । यसका लागि ६५ लाख रुपैयाँको ठेक्का सम्झौता भई निर्माण तथा जडान कार्य तीव्र रूपमा भइरहेको समितिले जनाएको छ ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोरलाई नदीको बहाब अवरुद्ध नगरी रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।
शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा ठूलो मात्रामा तैरिने फोहोर बग्ने समस्या बढ्दै गएकाले यस्तो प्रविधि प्रभावकारी हुने समितिको ठहर छ ।
समितिका अनुसार ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित विसर्जन गर्न सकिने व्यवस्था मिलाइनेछ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्य सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नदीको सतहमा जडान गरिने ट्रास बेरियर रबरको कन्भेयर बेल्ट र तैरिने संरचनासहित निर्माण गरिनेछ, जसले पानीको सतह घटबढ हुँदा पनि स्वतः तल–माथि हुने गरी काम गर्नेछ । यस प्रविधिबाट नदीको प्राकृतिक बहाब प्रभावित नगरी तैरिने फोहोर नियन्त्रण गर्न सकिने समितिले जनाएको छ ।


196 पटक हेरिएको 

