मानव मलमूत्र प्रशोधन केन्द्र व्यवस्थापन गर्न घोराही नगरपालिका र ढल व्यवस्थापन कार्यालय बीच सम्झौता

  वास खबर समाचारदाता  407 पटक हेरिएको


घोराही : घोराही उपमहानगरपालिकामा मानव मलमूत्र व्यवस्थापन (FSM) आयोजनाको नियमित सञ्चालन तथा मर्मत सम्भार सुनिश्चित गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्ज र घोराही उपमहानगरपालिका बीच समझदारी भएको छ।

Scalling of Citywide Inclusive Sanitation Service System (Nepal) कार्यक्रमको अनुगमनको क्रममा रहेको UN-Habitat को टोलीले अनुगमनकै क्रममा घोराही उपमहानगरपालिकामा मानव मलमुत्र सञ्चालन, मर्मत सम्भार तथा व्यवस्थापन सम्बन्धी समझदारी गराएको हो।

अनुगमन टोलीमा Scalling of Citywide Inclusive Sanitation Service System (Nepal) कार्यक्रमका प्राविधिक अधिकृत राजेश मानन्धर, सहसंयोजक भिन्तुना श्रेष्ठ, वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी अधिकृत गोविन्द श्रेष्ठ लगायत हुनुहुन्छ ।

समझदारी पत्रमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्जका प्रमुख ई.देवेन्द्र कुमार झा र घोराही उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गर्नु भयो।

सम्झौता अनुसार आयोजना निर्माण कार्य सम्पन्न भएपछि यसको स्वामित्व, सञ्चालन र मर्मत सम्भारको जिम्मेवारी घोराही उपमहानगरपालिकाले लिनेछ, भने संघीय निकायका रूपमा रहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले प्राविधिक, व्यवस्थापकीय तथा क्षमता अभिवृद्धि सहयोग निरन्तर उपलब्ध गराउनेछ।

घोराही जस्ता तीव्र गतिमा विस्तार भइरहेका शहरहरूमा जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र कमजोर फोहोर व्यवस्थापनका कारण वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढ्दै गएको सन्दर्भमा मानव मलमूत्र व्यवस्थापन आयोजना अत्यन्तै आवश्यक रहेको सम्झौतामा उल्लेख छ। हालसम्म घरेलु तथा औद्योगिक फोहोरपानी र मलमूत्र प्रशोधन नगरी खुला स्थान वा निजी जमिनमा फालिने अभ्यासले जलस्रोत तथा वातावरणीय प्रदूषण हुँदै आएको छ।

यस अवस्थालाई सम्बोधन गर्न घोराहीमा सुरु गरिएको मानव मलमूत्र व्यवस्थापन आयोजना सुरक्षित सरसफाइ सेवा, वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुधारमा केन्द्रित रहेको जनाइएको छ। आयोजनाको कुल अनुमानित लागत रु ६ करोड १४ लाख ९४ हजार ४ सय ८४ रुपैयाँ ७४ पैसा रहेको छ।

ढल व्यवस्थापन कार्यालय र उपमहानगरपालिकाको भूमिका

सम्झौता अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्जले आयोजना निर्माणका लागि आवश्यक पूँजीगत लागत उपलब्ध गराउने, सञ्चालनका प्रारम्भिक चरणमा प्राविधिक तथा व्यवस्थापकीय सहयोग, अनुगमन, मूल्यांकन, वातावरणीय मापदण्ड पालना तथा जनचेतना अभिवृद्धिमा सहयोग गर्नेछ। साथै, सुरक्षित सरसफाइ मूल्य शृङ्खला (खाली गर्ने, ढुवानी, प्रशोधन र सुरक्षित विसर्जन/पुनःप्रयोग) का लागि लाइसेन्सिङ प्रणाली विकासमा पनि सहकार्य गर्नेछ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाले मानव मलमूत्र व्यवस्थापन संरचनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, निर्माण पश्चात् स्वामित्व ग्रहण गर्ने, वार्षिक बजेटबाट सञ्चालन तथा मर्मत खर्च सुनिश्चित गर्ने र समर्पित सरसफाइ इकाइ वा समिति गठन गर्ने प्रतिबद्धता जनाएको छ। उपमहानगरपालिकाले दक्ष जनशक्ति परिचालन, दुई जना सञ्चालन/मर्मत कर्मचारी र एक जना चौकीदार व्यवस्थापन, सेप्टिक ट्यांकी सफा गर्न डिस्लजिङ सवारी साधन खरिद, सुरक्षात्मक उपकरण उपलब्ध गराउने लगायत दायित्व लिनेछ।

मलमूत्र व्यवस्थापन आयोजना दीगो रूपमा सञ्चालन गर्न संयुक्त समन्वय समिति गठन गरिनेछ, जसले कार्यान्वयन, कार्यसम्पादन अनुगमन तथा देखिएका समस्याको समाधान गर्नेछ। समितिको बैठक कम्तीमा त्रैमासिक रूपमा बस्ने व्यवस्था गरिएको छ।

सम्झौतामा मानव मलमूत्र व्यवस्थापनः सञ्चालनका लागि विधि निर्माण, नियमित फ्लो मापन, पोखरीहरूको कार्यसम्पादन अनुगमन, तथा ढल सेवा शुल्कलाई खानेपानी महसुलसँग जोडेर आन्तरिक राजस्व मार्फत सञ्चालन खर्च धान्ने व्यवस्था गर्ने विषय पनि उल्लेख छ।

सम्झौतामा दुवै पक्षले घोराही उपमहानगर क्षेत्रमा सुरक्षित, समावेशी र वातावरणमैत्री सरसफाइ सेवा विस्तार गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। यो समझदारीपत्र कानुनी स्वामित्व हस्तान्तरण नभई दीर्घकालीन सहकार्य र साझेदारीको आधार भएको जनाइएको छ।

मानव मलमूत्र व्यवस्थापन आयोजना सञ्चालनमा आएपछि घोराहीमा मानव मलमूत्रको सुरक्षित व्यवस्थापन, नदी तथा जलस्रोत संरक्षण र जनस्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार