चर्पी यात्राको प्रभाव : दोब्बर चर्पी निर्माण

बारा : बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा सञ्चालन गरिएको चर्पी यात्रा पछि गाउँमा चर्पी बन्न थालेको छ । चर्पी बनाउन उत्प्रेरणा तथा दबाब सिर्जना गर्ने उद्देश्यले इनर्वामाल र टेढाकट्टीका टोल टोलमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा ९ दिने चर्पी यात्रा गरिएको थियो ।

चर्पी यात्रा पछि गाउँमा चर्पी बनाउने कामले तीब्रता पाएको बेल्जियम रेड्क्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाराद्वारा सञ्चालित समुदाय परियोजना कार्यक्रम इनर्वामालका फिल्ड सुपरभाइजर जितेन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिले सिङ्गो गाउँमा महिनाभरिमा ३०/३५ वटा मात्र चर्पी बन्ने गरेकोमा अहिले ७२ वटा चर्पी निर्माण भइरहेको छ । फेब्रुअरी महिनाभरिमा १५० वटा चर्पी निर्माण हुने उहाँले बताउनुभयो ।
सुपरभाइजर गिरीका अनुसार महिनामा ३/४ वटा मात्र चर्पी बन्ने वडामा अहिले २०/२१ वटा घरमा एकैसाथ चर्पी निर्माण भइरहेका छन् ।

चर्पी यात्रामा घरघरमै पुगेर स्थानीय भाषामा बुझिने गरी चर्पी बनाउन गरिएको आग्रह निक्कै प्रभावकारी रहेको टोलीको निष्कर्ष छ ।

‘हामीले स्थानीय बासिन्दालाई कुन कुराले बढी प्रभाव पर्छ त्यस्तो कुरा पहिचान गरी घरदैलोका क्रममा भन्यौं, हामीले घरमा भएको महिलालाई देखाउँदै भन्यौं ‘के यो घरको इज्जतको ख्याल छ ? घरको महिलाको इज्जत जोगाउन तपाई घरमा चर्पी बनाउन चाहनुहुन्न ? पैसा त आउँछ जान्छ तर एकपल्ट तपाईको घरको इज्जत गएपछि आउँछ ? के यो घरको महिलाको यत्ति पनि अधिकार छैन कि उसले आफ्नै घरमा एउटा चर्पी पाउँदैन ?’ यिनै कुराले स्थानीयबासिन्दालाई विश्वस्त तुल्याउन सकेको हामीले महसुस गरेका छौं सुपरभाइजर गिरीले भन्नुभयो ।

चर्पी बनाउन नसक्नुका कारण

आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ लाई खुला दिसामुक्त गरी पुर्ण सरसफाइमा लाग्ने अभिप्रायले चर्पी बनाउन उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘चर्पी यात्रा’ का क्रममा कतिपयले चर्पी बनाउन नसक्नुका कारण समेत बताएका छन् ।

चर्पी यात्राको टोलीलाई चर्पी नबनाएका घरधुरीले चर्पी बनाउन नसक्नुका कारण बताएका छन् ।

१. साबिकको टेढाकट्टी गाविसको वडा नं. १, २ र ३ वडामा द्रुतमार्ग बन्ने भएको छ । द्रुत मार्गले केही घरहरु भत्किने भएकाले चर्पी बनाउन नसकिएको ।

२. घना जंगलमा बस्ती रहेको छ र दाजुभाइ बीच अंशबण्डा समेत नभएको ।

३. अझै पनि कुनै कुनै मानिसमा चर्पी बनाउन सरकारले अनुदान दिन्छ कि भन्ने सोच रहेको । त्यस्ता मान्छेले चर्पी बनाउन ठिक्क परेका अरु छिमेकीलाई समेत भड्काउने गरेको छ ।

४. इनर्वामालमा मात्र ७० देखि ७५ घरधुरी र टेढाकट्टीमा सय घर जत्ति घरधुरी अति विपन्न चर्पी बनाउन नसक्ने अवस्थाका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार