दाङ : घोराही उपमहानगरपालिका–१६, गरुवागाउँमा करिब २२ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थका रूपमा आवश्यक पर्ने गल्ने फोहोर नपाउँदा बन्द भएको छ। तीन वर्षअघि सञ्चालनमा आएको प्लान्ट पर्याप्त फोहोर संकलन हुन नसकेपछि पछिल्लो दुई महिनादेखि पूर्ण रूपमा बन्द रहेको छ।
फोहोरलाई ऊर्जामा रूपान्तरण गर्ने उद्देश्यसहित घोराही उपमहानगरपालिकाको पहलमा २०७५ सालमा स्थापना गरिएको उक्त बायोग्यास प्लान्ट २०७८ चैत १९ गते उद्घाटन गरिएको थियो। परीक्षण चरणमा गल्ने फोहोरबाट ग्यास उत्पादन गरी उपभोक्ताको घर–घरमा वितरणसमेत गरिएको भए पनि दीर्घकालीन रूपमा आवश्यक मात्रामा फोहोर उपलब्ध नहुँदा सञ्चालन सम्भव नभएको नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार प्लान्ट निर्माण गर्दा तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (DPR) मा दैनिक २५ टन गल्ने फोहोर उत्पादन हुने उल्लेख गरिएको थियो। तर हाल दैनिक ३५० देखि ५०० केजी मात्र फोहोर संकलन हुने गरेको छ। आवश्यक फोहोरको आधा पनि उपलब्ध नहुँदा कात्तिक महिनादेखि प्लान्ट बन्द गरिएको श्रेष्ठले जानकारी दिनुभयो। “कच्चा पदार्थ नहुँदा नागरिकलाई ग्यास पुर्याउन सकिएको छैन। घाटामा प्लान्ट सञ्चालन भइरहेको थियो। घाटामा चलाउनुभन्दा बन्द गर्नु उपयुक्त ठानेर हाल बन्द गरेका छौं,” श्रेष्ठले भन्नुभयो।
उहाँका अनुसार तत्कालका लागि दैनिक एक हजारदेखि १५ सय केजीसम्म गल्ने फोहोर उपलब्ध भएमा ६०/६५ घन मिटर ग्यास उत्पादन गर्न सकिने क्षमता प्लान्टसँग छ। घोराहीबाट फोहोर नपाएपछि लमहीस्थित एक पोल्ट्री फार्मसँग समन्वय गरी दैनिक पाँच सय केजी कुखुराको सुली ल्याउने सहमति भए पनि ढुवानीको समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो।
घोराहीका मासु पसलहरूलाई व्यवस्थित गर्न सके त्यहाँबाट आउने फोहोरसमेत जोड्दा दैनिक एक हजार केजीसम्म फोहोर संकलन हुन सक्ने र लमहीबाट थप पाँच सय केजी ल्याउन सके प्लान्ट सञ्चालन सम्भव हुने उहाँको भनाइ छ। तर फोहोर ढुवानीका लागि उपमहानगरपालिकासँग सहयोग माग्दा अपेक्षित सहयोग नपाएको श्रेष्ठले गुनासो गर्नुभयो।
बायोग्यास प्लान्टबाट घोराही–१० र १६ नम्बर वडाका करिब ७५० घरधुरीमा ग्यास वितरण गर्ने लक्ष्य सहित करिब १०० घरसम्म पुग्ने गरी पाइपलाइन समेत बिछ्याइएको छ। तर प्लान्ट पूर्ण रूपमा सञ्चालन हुन नसक्दा तीन वर्षदेखि उद्योग घाटामा चल्दै आएको कम्पनीको भनाइ छ। “महिनामा दुईदेखि दुई लाख ५० हजार रुपैयाँसम्म सञ्चालन खर्च आउँछ। आम्दानी भने शून्य छ। खर्च धान्न नसक्ने अवस्था आएपछि प्लान्ट बन्द गर्नुपर्यो,” श्रेष्ठले भन्नुभयो।
उता, घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले ग्यास प्लान्टका लागि आवश्यक फोहोर संकलन गर्न पटक–पटक सूचना जारी गर्ने र टोल विकास संस्था मार्फत सचेतना गराउने प्रयास गरिएको बताउनुभयो। तर अपेक्षा अनुसार फोहोर संकलन हुन नसकेको उहाँको भनाइ छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच २०७५ मंसिर ५ गते भएको त्रिपक्षीय सम्झौता अनुसार उक्त प्लान्ट स्थापना गरिएको हो। सम्झौता अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनीको ६० प्रतिशत लगानी रहेको छ भने प्लान्टका लागि आवश्यक तीन बिघा जग्गा उपमहानगरपालिकाले उपलब्ध गराएको छ।
दुई हजार घन मिटर क्षमताको बायोग्यास प्लान्टबाट ग्याससँगै कम्पोस्ट मल उत्पादन गर्ने गरी २० वर्षे सम्झौता गरिएको थियो। सम्झौता अनुसार कम्पनीले उपमहानगरपालिकालाई नाफाको एक प्रतिशत रकम उपलब्ध गराउने सहमति भए पनि हाल फोहोर संकलनको जिम्मेवारी ठेक्कामा दिई उपमहानगरपालिका पन्छिँदा ग्यास उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अभाव झन् बढेको सरोकारवालाहरूको भनाइ छ।


250 पटक हेरिएको 


