
कैलाली : स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा उपकरणहरूको प्रभावकारी सञ्चालन र मर्मत सम्भार सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने मर्मत सम्भार तथा सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशका १२ वटा स्वास्थ्य संस्थाबाट अटोक्लेभ अपरेटर, खानेपानी तथा सरसफाइ सुपरिवेक्षक/पाइपलाइन प्राविधिक र विद्युत् प्राविधिक गरी ३१ जनाको सहभागिता रहेको तालिमले सहभागीहरूको व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गरेको उनीहरूले बताएका छन्।

तालिममा सहभागी बयालपाटा प्रादेशिक अस्पतालका अटोक्लेभ अपरेटर नरेश बहादुर रावलले तालिमले नियमित र रोकथाममूलक मर्मतसम्भार प्रति बुझाइ बढाएको बताउनुभयो।“यसअघि अनुभवकै आधारमा मर्मतसम्भार गर्दै आएका थियौँ। तर अब नियमित जाँच, लगबुक राख्ने र उपकरण बिग्रनुअघि नै मर्मत गर्ने अभ्यासको महत्व स्पष्ट रूपमा बुझ्न पायौँ। यी सिकाइहरू हाम्रो अस्पतालका लागि निकै उपयोगी हुनेछन्,” उहाँले भन्नुभयो।
त्यसैगरी, चाँदनी स्वास्थ्य चौकीकी कार्यालय सहयोगी तथा खानेपानी तथा सरसफाइ सुपरिवेक्षक गंगा देवी बिष्टले तालिम अत्यन्तै व्यवहारिक रहेको अनुभव सुनाउनुभयो।

“प्लम्बिङ प्रणाली, पानी आपूर्ति र सरसफाइ संरचनाको मर्मतसम्भार प्रत्यक्ष अभ्याससहित सिक्न पाउँदा आत्मविश्वास बढेको छ। अब साना समस्याहरू आफैं समाधान गर्न सक्ने भएका छौँ,” उहाँले बताउनुभयो।
विद्युत् प्राविधिकका रूपमा सहभागी महाकाली प्रादेशिक अस्पतालका खेमराज जोशीले तालिमले सुरक्षाप्रति सचेत बनाएको उल्लेख गर्नुभयो।
“आधारभूत विद्युत् वायरिङ, सुरक्षा उपाय र समस्या समाधानका सीपले काम गर्ने क्रममा जोखिम घटाउने आत्मविश्वास बढेको छ। साथै तालिम पुनर्ताजगीका रूपमा पनि उपयोगी भयो र सामान्य रूपमा अटोक्लेभ मर्मतसम्भार गर्न सकिने ज्ञान प्राप्त भयो,” उहाँले भन्नुभयो।

तालिममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, कैलालीका वायोमेडिकल इन्जिनियर आशुतोष भण्डारी, व्यवस्थापन तथा सीप विकास तालिम केन्द्रका प्रशिक्षक धनबहादुर चौधरी, कैलाली बहुमुखी क्याम्पसका प्रशिक्षक जनक राम चौधरी तथा परियोजना इन्जिनियर ईश्वर बिष्टले सहजीकरण गर्नुभएको थियो।
तालिममा अटोक्लेभको सुरक्षित सञ्चालन, नियमित तथा रोकथाममूलक मर्मत योजना, चेकलिस्ट र प्रतिवेदनसम्बन्धी विषयवस्तुहरू समेटिएका थिए।

युनिसेफ नेपाल तथा छाँ-या नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार परियोजना अन्तर्गत सम्पन्न तालिमको उद्घाटन स्वास्थ्य सेवा निर्देशनालय डोटीका निर्देशक डा. खगेन्द्र बमको प्रमुख आतिथ्यतामा गरिएको थियो भने समापन सामाजिक विकास मन्त्रालयका निमित्त सचिव यज्ञराज लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमका थप फोटाहरु :


फोटाहरु : मीन बहादुर रावल/छा-याँ नेपाल


400 पटक हेरिएको 

