
ललितपुर : ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालित “दक्षिण एसियामा पानी संकटबाट प्रभावित समुदायहरुका सुरक्षित रुपमा व्यवस्थित पानीमा पहुँचको लागि नवीनतम पाइपद्वारा पानी आपूर्ति आयोजना” को प्रमुख सिकाई आदानप्रदान गरिएको छ ।
२३ महिनामै निर्माण सम्पन्न गरी सिँगो वडाभित्र २४ सै घण्टा सुरक्षित खानेपानी उपलब्ध गराएपछि आज बहु सरोकारवालाहरुको सहभागितामा आयोजनाको प्रमुख सिकाईहरु आदानप्रदान गरिएको हो ।
गोदावरी नगरपालिका, वाटर एड नेपाल/कोकाकोला फाउण्डेसन, एकीकृत सहरी विकास केन्द्र र उपभोक्ता समितिको साझेदारीमा निर्माण सम्पन्न भएको डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनाबाट ४ वटा विद्यालय र दुई वटा स्वास्थ्य संस्था सहित ६८७ घरपरिवार लाभान्वित भएका छन् ।
वाटर एड नेपालका कार्यक्रम प्रमुख सर्वज्ञ श्रेष्ठका डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनामा धेरै नवीन प्रयासहरु भएका छन् । जुन देशका अन्य ठाउँका लागि समेत अबलम्बन योग्य छन् ।

१. एक वडा एक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति
२. सहलगानी : वाटर एड नेपाल मार्फत एकीकृत शहरी विकास केन्द्र, नगरपालिका र उपभोक्ता समिति
३. वैज्ञानिक महसुल निर्धारण
४. खानेपानी वितरण प्रणालीको सम्पत्ति व्यवस्थापन योजना
५. खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको व्यवसायिक योजना
६. खानेपानी सुरक्षा योजना
७. खानेपानीको महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने प्रणाली
८. गैर राजश्व पानीको हिसाब निकाल्ने प्रक्रिया
११. एक घर एक धारा मिटर प्रणाली
१२. उपभोक्ता समितिहरुमा ३३ प्रतिशत महिलाको सहभागिता
गोदावरी नगरपालिकाको ८० लाख ९६ हजार ९६६ रुपैयाँ अनुदान, वाटर एड नेपाल/कोकाकोला फाउण्डेसनको ८६ लाख ६८ हजार ७५१ रुपैयाँ र उपभोक्ता समितिको १ करोड ६९ लाख ५१ हजार ९५७ रुपैयाँ बराबरको नगद तथा श्रमदान गरी कुल ३ करोड ३७ लाख १७ हजार ६७४ रुपैयाँमा आयोजना सम्पन्न भएको हो ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले डुकुछाप सबैभन्दा खानेपानीको समस्या भएको वडाको रुपमा रहेको बताउनुभयो । आफू पहिलो पटक निर्वाचित भएपछि खानेपानीको माग गर्दै दिनहुँ जसो नगरपालिका घेर्न आउने गरेको स्मरण गर्दै अहिले आफ्नो नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानी वितरण गर्ने तहमा आईपुगेको बताउनुभयो।

“मैले वाटर एड नेपाल, जसले खानेपानीकै क्षेत्रमा बर्षौदेखि काम गरिरहनु भएको छ, उहाँहरुसँग सहकार्य गर्ने मौका पाएँ, जसले गर्दा खानेपानीको समस्या हल हुँदै गएको छ”उहाँले भन्नुभयो।
कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.डि.पी. चापागाईले डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनाका सिकाईहरु अझ वृहत बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सम्पक्ति व्यवस्थापन, खानेपानी संरचनाको बीमा जस्ता नवीनतम कामहरु अन्य खानेपानी उपभोक्ता समितिले समेत अनुकरण गर्नुपर्ने बताउनुभयो।

“हाम्रा आयोजनाहरु दिगो नहुनुको एउटा कारण सम्पत्ति व्यवस्थापन पनि हो । सम्पत्ति व्यवस्थापनको कामले कुनै संरचना कति समय टिक्छ ? कुन संरचनाले कहिले सम्म धान्छ भन्ने कुराको एकीन हुन्छ र लगानी रणनीति बनाउन सजिलो हुन्छ”उहाँले भन्नुभयो।
कार्यक्रममा वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनाबाट धेरै कुरा सिकाई भएको र आगामी योजनाहरु सञ्चालन गर्दा डुकुछापको सिकाईलाई अनुशरण गरिने बताउनुभयो । “हामीले लहानमा सञ्चालित कार्यक्रमहरुको सिकाई डुकुछाप लगायत अन्य स्थानहरुमा अबलम्बन गरिरहेका छौं, अब डुकुछापबाट प्राप्त सिकाईहरु आयोजना सञ्चालित देशका अन्य स्थानहरुमा पनि अबलम्बन गरिनेछ” उहाँले भन्नुभयो ।

उहाँले वाटर एडको देशीय रणनीति बमोजिम सबैका लागि सुरक्षित र सर्वसुलभ खानेपानी उपलब्ध गराउने उद्देश्यले चार बर्षदेखि गोदावरी नगरपालिकामा काम गरिरहेको समेत बताउनुभयो । जस अन्तर्गत देवीचौर, लेले, कालिटार, डुकुछाप लगायत ठाउँहरुमा खानेपानी आयोजना सम्पन्न भैसकेको र अब छम्पीमा आयोजना सुरु भएको जानकारी गराउनुभयो।
कार्यक्रमका विशेष अतिथि एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.नारायण प्रसाद आचार्यले खानेपानी तथा सरसफाइ ऐन २०७९ र नियमावली २०८१ मा भएका प्रावधानहरुका बिषयमा संक्षिप्तमा जानकारी गराउनुभयो ।
सुरक्षित खानेपानी उपलब्ध गराउने दायित्व सेवा प्रदायकको भएको र सेवा प्रदायकले वितरण गरेको खानेपानीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सम्मको व्यवस्था ऐनमा रहेको जानकारी गराउनुभयो ।

यस्तै खानेपानी उपभोक्ता समितिका संरचनाहरु दोस्रो पक्षले क्षति पुर्याउने, तोडफोड गर्ने वा विकास निर्माणकै शीलशीलामा पनि नोक्सानी पुर्याएको अवस्थामा क्षति पुर्याउने पक्षले नै व्यहोर्नु पर्ने प्रावधान ऐनमा रहेको जानकारी गराउनुभयो।
सेवा प्रदायकले पूरा गर्नुपर्ने कार्य सम्पादन मापन प्रष्ट रुपमा ऐन तथा नियमावलीमा उल्लेख रहेको र उपभोक्ता समितिलाई सोही अनुरुप कार्य सम्पादन गर्न पनि उहाँले आग्रह गर्नुभयो।
गोदावरी नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन बनिसकेको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) पनि तयार भैसकेको र वास प्लानकै आधारमा बजेट विनियोजन र कार्यान्वयन भैरहेको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले बताउनुभयो।
साना साना ग्रामीण योजनाहरुलाई एकीकृत गरी एउटै खानेपानी उपभोक्ता समिति बनाउन सकेमा समितिको दक्षता र सेवाको गुणस्तर दुवै बढ्ने उहाँले बताउनुभयो।
डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ज्ञानेन्द्र केसीले आयोजना सञ्चालनको दौरानमा भोग्नु परेका चुनौती र समाधानका लागि गरिएका प्रयासका बिषयमा आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भए लगत्तै छम्पीमा पनि सुरु भैसकेको र त्यहाँ पनि उस्तै साथको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा एकीकृत सहरी विकास केन्द्रका प्रोग्राम डाईरेक्टर सुदर्शन राजभण्डारीले डुकुछाप खानेपानी तथा सरसफाइ आयोजनाको सुरु देखि अन्त्य सम्म भए गरेका क्रियाकलापहरु, नवीनतम प्रयासहरु समेटेर प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधीहरु, विभिन्न वडामा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरु, गोदावरी नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु, काठमाडौ उपत्यका खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड तथा खानेपानी तथा ढल व्यवस्थापन विभाग र वाटर एड नेपालका कर्मचारीहरुको सहभागिता थियो ।



351 पटक हेरिएको 

