
काठमाडौं : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. डिपी चापागाईंले नेपाल जस्तो देशका लागि ढल प्रणाली अत्यन्तै महँगो र दीर्घकालीन रूपमा सञ्चालन गर्न नसकिने प्रणाली भएको बताउनुभएको छ ।
ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालित “दक्षिण एसियामा पानी संकटबाट प्रभावित समुदायहरुका सुरक्षित रुपमा व्यवस्थित पानीमा पहुँचको लागि नवीनतम पाइपद्वारा पानी आपूर्ति आयोजना” को प्रमुख सिकाई आदानप्रदान कार्यक्रममा उहाँले ढल प्रणालीको निर्माण तथा सञ्चालन खर्च अत्यधिक हुने भएकाले स्थलगत सरसफाइ प्रणाली नै उपयुक्त विकल्प भएको बताउनुभयो ।
डा. चापागाईंले ढल प्रणाली निर्माणमा प्रारम्भिक लगानी मात्र नभई यसको नियमित सञ्चालन, मर्मतसम्भार, शुद्धीकरण प्रक्रिया तथा ऊर्जा खर्च समेत अत्यन्तै महँगो पर्ने उल्लेख गर्नुभयो । “दाता निकायको सहयोगमा ढल प्रणाली निर्माण भएछ भने पनि त्यसलाई सञ्चालन गर्न आवश्यक खर्च धान्नै नसकिने अवस्था आउँछ,” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा यसले स्थानीय तह र राज्यलाई ठूलो आर्थिक बोझ पार्छ।”
उहाँका अनुसार, नेपालका धेरै सहर तथा बस्तीहरूमा जनघनत्व, भौगोलिक अवस्था र आर्थिक क्षमताका कारण केन्द्रीय ढल प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन छ । त्यसैले स्थानीय सन्दर्भ अनुसार डिजाइन गरिएका सेप्टिक ट्याङ्क, मानव मलमूत्र व्यवस्थापन (FSM) जस्ता स्थलगत सरसफाइ प्रणालीहरु वा विकेन्द्रित फोहोरपानी प्रशोधन केन्द्र नै बढी व्यवहारिक, दिगो र कम खर्चिलो हुने विकल्प हुन् ।
डा. चापागाईंले नीति निर्माण तहमा पनि यस्ता स्थलगत सरसफाइ प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरसफाइलाई पूर्वाधार निर्माणसँग मात्र नभई दीर्घकालीन सञ्चालन क्षमता र आर्थिक दिगोपनसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले काठमाडौकै हकमा पनि रिङ रोड भित्रको क्षेत्रमा केन्द्रिय ढल प्रणालीलाई सुधार्न नसकिने बताउनुभयो । “रिङ रोडको बाहिरी क्षेत्रमा केन्द्रिय ढल प्रणालीलाई कहाँसम्म विस्तार गर्न सकिन्छ भनेर हेर्न सकिन्छ, तर रिङ रोड भित्र अब सुधार गर्न सकिदैन” उहाँले भन्नुभयो।
नेपालजस्तो देशमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सुरक्षित स्थलगत सरसफाइ प्रणाली प्रवद्र्धन गर्नु नै जनस्वास्थ्य र वातावरण संरक्षणका दृष्टिले प्रभावकारी हुने वास विज्ञहरु बताउँछन् ।


313 पटक हेरिएको 

