
ललितपुर : ललितपुर महानगरपालिकाको नगरव्यापी समावेशी सरसफाइको स्थिति विश्लेषण सर्भेक्षणमा सरसफाइ सम्बन्धी अति सुक्ष्म तहको तथ्याङ्क संकलन गरिने भएको छ।
यस अघिका विभिन्न अध्ययनहरु शौचालय भए नभएको र भएमा कस्तो प्रकारको शौचालय छ भन्नेमा प्रश्नमा मात्र सीमित रहँदै आएकोमा यो अध्ययनमा शौचालय देखि मानव मलमूत्रको व्यवस्थापन सम्मको तथ्याङ्क संकलन गरिन लागेको हो।
५०० बी सोलुसन्सका रिसर्च एसोसिएट मिलिना स्थापितका अनुसार सरसफाइ सम्बन्धी सुक्ष्म तहको तथ्याङ्क संकलनका लागि त्यस्तै किसिमको प्रश्नावली तयार पारिएको छ । हिजो र आज गणकहरुसँग उक्त प्रश्नावलीहरुका बिषयमा छलफल गरी अन्तिम रुप दिईएको उहाँले बताउनुभयो।
सरसफाइको कुरा गर्दा शौचालयको अवस्था देखि दिसापिसाबको सुरक्षित विसर्जन सम्मको चक्रको तथ्याङ्क नआउँदासम्म सरसफाइको स्थिति विश्लेषण गर्न नसकिने हुँदा सुक्ष्म भन्दा अति सुक्ष्म कुरालाई पनि संकलन गर्नु परेको सुपरभाइजर दिवेश सायमीले बताउनुभयो।
उहाँका अनुसार सुरुमा शौचालय भए नभएको प्रश्न सोधिन्छ, त्यसपछि शौचालयको प्रकारको कुरा आउँछ । प्रकारहरुको कुरा गर्दा फ्लस हुने वा खाल्डे चर्पी हो भन्ने कुराहरु आउँछ । शौचालयमा सेप्टिक ट्याङ्क भए नभएको या त ढलमा जडान गरिए, नगरिएको जस्ता प्रश्नहरु सोधिनेछ ।
तथ्याङ्क संकलनकै क्रममा शौचालयको सेप्टिक ट्याङ्को प्रकृति पनि हेरिनेछ । जस्तै सेप्टिक ट्याङ्की हो वा होल्डिङ् ट्याङ्क मात्र हो ? यस्तै शौचालय अपाङ्गतामैत्री भए नभएको जस्ता तथ्याङ्कहरु पनि संकलन हुने उहाँले बताउनुभयो ।
त्यसपछि शौचालयको सेप्टिक ट्याङ्क खाली गरिए, नगरिएको ? खाली गरेको भए मेसिन, अर्धमेसिनरि वा हातको सहायताले खाली गर्ने गरिएको छ ? कति समयको अन्तरालमा खाली गरिन्छ ? खाली गरेपछि त्यसभित्रको मलमूत्र कहाँ व्यवस्थापन गर्ने गरिएको छ ? भन्ने प्रश्नहरु समेत सोधिनेछ ।
‘खाली गर्दा एक पटकमा कति रुपैयाँसम्म खर्च हुन्छ ? मानव मलमूत्रको प्रशोधन पछि केही काममा उपयोग गर्नुभएको छ ? जस्तै मल वा गोबरग्यास ? आदि पनि सोधिनेछ’ उहाँले भन्नुभयो।
यसका लागि सबै गणकहरुलाई व्यवहारिक अभ्यास समेत गराएर पोख्त बनाएको उहाँले बताउनुभयो।

खानेपानी मन्त्रालय, संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat), वाटर एड नेपाल र नेपाल नगरपालिका संघ लगायत संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ अन्तर्गत ललितपुर महानगरपालिका भित्रको नमुना छनौटमा परेका घरधुरी, विद्यालय, अस्पताल तथा सार्वजनिक शौचालयको सर्भेक्षण गर्न लागिएको हो ।
उहाँका अनुसार यो सर्भेक्षणको लागि ललितपुर महानगरपालिकाका ७ सय घरधुरी नमुनाको रुपमा छनौट गरिएको छ । यस्तै महानगरपालिका भित्र रहेका १० प्रतिशत सार्वजनिक शौचालय, १० प्रतिशत विद्यालय र १० प्रतिशत स्वास्थ्य संस्थाको समेत तथ्याङ्क संकलन गरिनेछ ।
गणकहरुले M-Water नामक सफ्टवेयरको प्रयोग गरी तथ्याङ्क संकलन गर्नेछन्। उक्त सफ्टवेयर बाट तथ्याङ्क संकलन गर्ने विधि र प्रश्नावलीका बिषयमा तालिममा व्यापक छलफल गरिएको छ ।
समावेशी सरसफाइ सूचकको आधारमा संकलित तथ्यांकहरु नगरव्यापी समावेशी सरसफाइ अवस्थाको मूल्याङ्कन गर्न, सहरमा बसोबास गर्ने विपन्न समुदायको सरसफाइ पहुँचको विश्लेषण गर्न र सरसफाइ सेवाको अनुगमन तथा भविश्यमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी गर्नुपर्ने विभिन्न योजनाहरु तयार पार्न यो अध्ययन महत्वपूर्ण हुने वाटर एड नेपालका वरिष्ठ वास नीति सल्लाहकार श्रेष्ठले बताउनुभयो।

गणकहरुले हिजो र आजको व्यवहारिक अभ्यासबाट फिल्डमा पुगेर घरमुलीसँग कसरी कुराकानी गर्ने ? तथ्याङ्क संकलन गर्ने भन्ने सीप देखि एम्वाटर एप बाट कसरी डाटा इन्ट्री गर्ने सम्मको विधि थाहा पाएको बताएका छन्। ‘हामी अब फिल्डबाट डाटा संकलन गरेर पठाउन सक्छौं भन्ने आत्मविश्वास जागेको छ’ तालिममा सहभागी गणक मध्येका एक झरना मानन्धरले भन्नुभयो।नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems) सञ्चालन भैरहेको नेपालका ७ वटा प्रदेशको सात वटै नगरपालिकाहरुमा नगरव्यापी समावेशी सरसफाइ अवस्थाको मूल्याङ्कन गर्न तथ्याङ्कहरु संकलन गरिनेछ ।
यो कार्यक्रम कोशी प्रदेशको मेची नगर नगरपालिका, मधेस प्रदेशको लहान नगरपालिका, वागमती प्रदेशको ललितपुर महानगरपालिका, गण्डकीको गोरखा नगरपालिका, लुम्बिनीको घोराही नगरपालिका तथा कर्णालीको शारदा नगरपालिका र सुदुरपश्चिमको गोदावरी नगरपालिकामा सन्चालन भैरहेको छ । कार्यक्रम अन्तर्गत खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, वाटर एड नेपाल र नेपाल नगरपालिका संघले पालिकाहरुलाई विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।
गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) कार्यकारी निकाय हो ।


261 पटक हेरिएको 

