बराहक्षेत्र नगरपालिकाका वास च्याम्पियनलाई एनवास एमआईएस सम्बन्धी तालिम

  वास खबर सम्बाददाता  335 पटक हेरिएको

सुनसरी : बराहक्षेत्र नगरपालिकामा कार्यरत वास च्याम्पियनहरुलाई एनवास एमआईएस र पूर्ण सरसफाइ सम्बन्धी तालिम दिईएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको प्रभावकारी, समावेशी तथा दिगो कार्यान्वयनलाई थप सुदृढ बनाउने उद्देश्यले वास च्याम्पियनहरुलाई तीन दिने तालिम दिईएको हो ।

स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार, तथ्यांकमा आधारित योजना निर्माण तथा व्यवहारगत परिवर्तन प्रवद्र्धनमा वास च्याम्पियनको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

तालिममा नगरपालिकाभित्र कार्यरत १३ जना वास च्याम्पियनहरुको सहभागिता थियो। सहभागीहरूले तालिम अवधिभर अन्तरक्रियात्मक छलफल, समूहकार्य तथा व्यवहारिक अभ्यास मार्फत आफ्नो ज्ञान र सीपलाई थप परिष्कृत बनाएका छन्।
तालिमको मुख्य उद्देश्य WASH सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरू, JMP Ladder, पूर्ण सरसफाइका सूचकहरू, साथै एनवास एमआईएस प्रणाली मार्फत तथ्यांक संकलन, विश्लेषण र प्रयोग गर्ने प्रक्रियामा सहभागीहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको थियो।

यस तालिमले स्थानीय तहमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा प्रतिवेदन प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र तथ्यपरक बनाउने अपेक्षा गरिएको छ। तालिमको उद्घाटन सत्र बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीको प्रमुख आतिथ्य तथा उप–नगर प्रमुख नन्द कुमारी सुनुवारको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

उदघाटन समारोहमा नगर प्रमुख कार्कीले स्थानीय तहमा तथ्यांकमा आधारित योजना निर्माण र सेवा प्रवाहका लागि एन वास एमआइएस प्रणालीको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै वास च्याम्पियनहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै उप-प्रमुख सुनुवारले समुदायस्तरमा पूर्ण सरसफाइ प्रवद्र्धन, व्यवहारगत परिवर्तन तथा महिला तथा बालमैत्री सरसफाइ अभ्यासको आवश्यकता औँल्याउनुभयो।

तालिम सहभागितामूलक विधिबाट सञ्चालन गरिएको थियो। प्रस्तुतिकरण, समूहकार्य, छलफल, प्रश्न–उत्तर तथा एनवास एमआइएस इन्भेन्टी एपको व्यवहारिक अभ्यास मार्फत सहभागीहरूलाई वासका आधारभूत अवधारणा, JMP मापदण्ड, पूर्ण सरसफाइ, महिनावारी स्वच्छता व्यबस्थापन, फोहोरमैला व्यवस्थापन सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। विशेषगरी विद्यालयस्तरमा फोहर व्यवस्थापन, फोहरको वर्गीकरण, न्यूनिकरण र सुरक्षित व्यवस्थापनका अभ्यासबारे विस्तृत छलफल गरिएको थियो।

तालिमको अन्तिम दिन सहभागी वास च्याम्पियनहरुले आफ्ना कार्यक्षेत्र अनुसार व्यावहारिक र कार्यान्वयनयोग्य कार्ययोजना तयार गरेका छन्, जसले आगामी दिनमा नगर तथा समुदायस्तरमा वास सेवा सुधारमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। साथै एनवास ड्यासबोर्डको प्रयोग मार्फत नगरपालिकाको विद्यमान वास योजनाको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।

तालिमपछि सहभागीहरूले WASH, JMP Ladder, पूर्ण सरसफाइ/एनवास एमआइएस सम्बन्धी स्पष्ट ज्ञान प्राप्त गरेको, तथ्यांक व्यवस्थापनमा व्यवहारिक सीप विकास भएको तथा स्थानीय तहको वास योजना कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्ययोजना अन्तर्गत समुदायस्तरमा वास अभियान सञ्चालन गर्ने, ३० वटा टोललाई सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ। साथै बालमैत्री स्थानीय शासनमा उल्लिखित सूचकहरू अनुसार आधारभूत खानेपानी सेवा १०० प्रतिशत घरधुरीमा उपलब्ध गराउने, १०० प्रतिशत घरधुरीमा शौचालय सुनिश्चित गर्ने तथा खुला दिसामुक्त अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको छ।

त्यसैगरी १०० प्रतिशत घरधुरीमा साबुन सहित हात धुने सुविधा सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन अन्तर्गत सूचकहरू पूरा गर्नुपर्ने आवश्यकता रहेको छ। बालमैत्री स्थानीय शासन सहजीकर्ता रेखा धामीका अनुसार बालमैत्री स्थानीय शासन अन्तर्गत निर्धारण गरिएका ५१ वटा सूचकहरूमध्ये खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्र अन्तर्गत पर्ने सूचक क्रमाङ्क १२ देखि १४ सम्म पूरा गर्नमा वास च्याम्पियनहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ।

यी सूचकहरू अन्तर्गत प्रत्येक घरधुरीमा सुरक्षित तथा पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्ने, सबै घरधुरीमा शौचालयको उपलब्धता र प्रयोगलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, खुला दिसामुक्त अवस्थालाई दीगो रूपमा कायम राख्ने तथा साबुनसहित हात धुने सुविधा सबै घरधुरीमा सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ।

उक्त सूचकहरू सफलतापूर्वक कार्यान्वयन गर्न समुदायस्तरमा व्यवहारगत परिवर्तन ल्याउने, जनचेतना अभिवृद्धि गर्ने, नियमित अनुगमन गर्ने तथा तथ्यांक संकलन र व्यवस्थापनमा वास च्याम्पियनहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका सहजीकरण केदार खतीवडा स्रोत व्यक्ति (खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश) का अनुसार यस किसिमका तालिमले स्थानीय तहमा वास सेवा सुधार, दिगो सरसफाइ प्रवद्र्धन तथा तथ्यांकमा आधारित निर्णय प्रक्रियालाई थप मजबुत बनाउने विश्वास गरिएको छ। उहाँले आगामी दिनमा बाराहक्षेत्र नगरपालिकाले निम्न लिखित कुराहरूमा जोड दिनुपर्ने कुरा उल्लेख गर्नु भएको थियो।

√  वास च्याम्पियनह द्वारा तयार गरिएको कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको नियमित अनुगमन आवश्यक
√  एन वास एमआईएस प्रणालीमा नियमित डेटा प्रविष्टि र अद्यावधिक सुनिश्चित गर्न प्राविधिक सहयोग प्रदान गर्नुपर्ने
√  पूर्ण सरसफाइ/फोहोरमैला व्यवस्थापनमा व्यवहारिक अभ्यास केन्द्रित थप तालिम/कोचिङ आवश्यक

समापन सत्रमा बराहक्षेत्र नगरपालिकाको तर्फबाट सहभागी सबै वास च्याम्पियनहरूलाई झोला तथा पोशाक प्रदान गरी सम्मान तथा उत्साहवद्र्धन गरिएको थियो। यसले नगरपालिकाले वास च्याम्प्यिनको भूमिकालाई उच्च महत्व दिएको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।तीन दिने तालिमको समापन कार्यक्रममा बराहक्षेत्र नगरपालिका सामाजिक शाखाका प्रमुख अरुण कुमार मेहताको उपस्थित भएको थियो। उहाँले वास च्याम्पियनहरूले गरेको मेहनत र समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी जागरूकता फैलाउने कामलाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

उहाँले तालिममा सिकेका ज्ञान र सीपहरू कार्यान्वयन गरेर स्थानीय स्तरमा स्वच्छता र स्वास्थ्य सुधारमा योगदान पु¥याउन वास च्याम्पियनहरुलाई उत्प्रेरित गर्नुभयो। यस अवसरमा तालिमको समग्र गतिविधि, सिकाइ, र अनुभवहरूलाई संक्षेपमा समीक्षा गर्दै तालिमलाई औपचारिक रूपमा समापन गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार