
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. १ लाई सफा र स्वच्छ वडाको रूपमा घोषणा गरिएको छ।
वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त घोषणा कार्यक्रममा वडा अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष, अन्य वडाका अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय तथा स्वास्थ्य संस्था लगायतको उपस्थिती रहेको थियो।

यो घोषणा कार्यक्रम गाउँपालिकाको मुख्य सहयोगमा ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड, Wine to Water, CTS, FOCUS, OXFAM, शान्ति नेपाल, ICDS लगायतका साझेदार संस्थाको साझेदारीमा सञ्चालन गरिएको हो। यसरी वडा नं १ लाई पालिकाको पाँचौं र जिल्लाको छैठौं वडा घोषणा गरिएको हो।

गाउँपालिकाले “मिशन २०८२, सफा र स्वच्छ क्षेत्र ज्वालामुखी” अभियान अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छतामा समानान्तर काम गर्दै सम्पूर्ण पालिकालाई २०८२ सालभित्र स्वच्छ, सफा र नमुना गाउँपालिका घोषणा गर्ने लक्ष्य निर्धारण गरेको छ। यसअघि वडा नं ३, ५, ६ र ७ घोषणा भइसकेका छन्।

गाउँपालिकाले केवल खानेपानी उपलब्ध गराउनेमा सीमित नबसी, स्रोत संरक्षण, नियमित मर्मतसम्भार, प्रविधियुक्त सेवा, समतामूलक वितरण प्रणाली, आवश्यकताअनुसार पानीको गुणस्तर परीक्षण गरी समुदायमा खानेपानी तथा सरसफाइ सेवा पहुँच पुर्याउन काम गर्दै आएको छ। यसका लागि विशेष बोर्ड मार्फत प्रत्येक घरमा चार-पहिला अनुगमन गरी पालिका स्तरबाट प्रमाणीकरण गरी घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष यामनाथ दनैले कार्यक्रममा भन्नुभयो, “पूर्वाधार विकाससँगै मानविय विकासलाई अझ सशक्त बनाउन सफा र स्वच्छ वातावरणको आवश्यकता छ। प्रत्येक नागरिक स्वस्थ हुँदा मात्र गाउँको समग्र विकास सम्भव छ।”
कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई नियमित र गुणस्तरीय खानेपानी, सरसफाइ र स्वच्छता सेवा प्रदान गर्न बोर्डमा आबद्ध हुन आह्वान गरिएको छ।
यस अभियान अन्तर्गत चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानी, सुरक्षित खाना, घरभान्सा र आगन सफाका ५ वटा व्यवहार मापनका लागि १५ वटा सूचक र ४५ वटा सब-सूचक निर्धारण गरिएको थियो। यस आधारमा, हालसम्म ६,०७९ घरधुरीमध्ये वडा नं १ का ९०५ घरधुरी प्रमाणीकरणपछि ५,०६७ घरधुरी (८३.३३ प्रतिशत) स्वच्छ घरघरिका रूपमा घोषणा भइसकेका छन्।

अव बाँकी रहेका वडा नं २ र वडा नं ४ यसै चैत्र मसान्त भित्र घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।


257 पटक हेरिएको 

