
काठमाडौ : गेट्स फाउण्डेसनका पूर्व डेपुटी डाइरेक्टर डा.रोशनराज श्रेष्ठलाई सम्मान गरिएको छ । नेपालको मात्र नभई विश्वकै सरसफाइ र स्वच्छता सुधारका लागि डा. श्रेष्ठले गर्नुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) को तर्फबाट सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा वाटर एड नेपालका पैरवी प्रमुख सीमा रजौरियाले डा. श्रेष्ठले विश्वव्यापी सरसफाइको पहुँचमा खेल्नु भएको अतुलनीय भूमिकाका प्रशंसा गर्नुभयो।
एलायन्सको २१ औं बैठकमा डा. श्रेष्ठलाई सिबिसान सदस्य एवं वास विज्ञ सञ्जय अधिकारीले दोसल्ला ओढाई सम्मान गर्नुभयो भने सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल (सोफेन) का अध्यक्ष ई.सरत प्रसाद अधिकारीले प्रशंसा पत्र द्वारा सम्मान गर्नुभयो।

सो अवसरमा डा. श्रेष्ठले नेपालमा सञ्चालन भएको नगरव्यापी समावेशी सरसफाइ कार्यक्रम संसारकै नमुना र उत्कृष्ट भएको बताउनु भयो।
नेपालमा सञ्चालन भएको नगरव्यापी समावेशी सरसफाइ कार्यक्रमबाट विश्वले सिक्ने सक्ने भन्दै डा. श्रेष्ठले भन्नुभयो “नेपालमा सिवाईज कार्यक्रम यत्ति व्यवस्थित ढंगले सञ्चालन भएको छ कि, जसले नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र, यु.एन. एजेन्सी सबैलाई समाहित गरेर लैजानु भएको छ, यो विश्वकै लागि एक मोडेल हो।”
उहाँले यसलाई बुझाउन जुनसुकै नाम दिईए पनि नगरव्यापी समावेशी सरसफाइको सिद्धान्त, फ्रेमवर्क नभई नहुने भएकाले भविश्यमा समेत यसको निरन्तरताको आवश्यकता औल्याउनुभयो।
नेपाल विश्वका लागि मेन्टरसीप
उहाँले नेपालले सरसफाइ क्षेत्रमा हासिल गरेको उपलब्धी नेपालमा मात्र सीमित नराखी विश्वका अन्य मुलुकलाई समेत सिकाउन सकिने बताउनुभयो।

“भारत, बंगलदेश एउटा लेयरमा छ, सरसफाइमा अफ्रिका अझै पनि निक्कै तल परेको देश हो” उहाँले भन्नुभयो “ग्लोबल्ली सपोर्ट गर्ने हो भने अफ्रिका सँग हामीले साझेदारी बढाउन सक्छौं ।” उहाँले अन्तराष्ट्रिय संस्थाहरुसँगको साझेदारीलाई कायम राख्दै नेपालले सरसफाइमा हासिल गरेको नवीनतालाई विश्वमा कसरी चिनाउने भन्ने कुरामा पनि सोच्नुपर्ने बताउनुभयो।
“यस्तो खालको मेकानिज्म हुन सक्छ, जहाँ हामीले ग्लोबल्ली योगदान दिन सक्छौं, यसका लागि म तपाईहरु सँगै छु” उहाँले बाचा गर्नुभयो ।
नेपालमै बसेर योगदान गर्ने वाचा
डा. श्रेष्ठले आफ्नो विज्ञतालाई अब नेपालमै बसेर राष्ट्रको हितमा योगदान गर्ने बताउनुभयो। “म मेन्टरसीपको रुपमा सक्दो गाईड गर्नेछु” उहाँले भन्नुभयो। “जत्ति पनि ग्लोबल फोरमहरु छन्, नेपालको सरसफाइ उपलब्धीहरुलाई कसरी त्यहाँसम्म लैजाने भन्ने कुरामा मेरो प्रयत्न हुनेछ” उहाँले भन्नुभयो।
उहाँले ५० प्रतिशत समय एआईटीमा उपलब्ध गराउने र त्यहाँ संस्थागत तथा साझेदारी विकासको काम गर्ने जानकारी गराउनुभयो । एआईटीसँग लिङ्क हुँदा नेपालले धेरै काम गर्न सक्ने उहाँको अपेक्षा छ ।
एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) थाइल्याण्डको राजधानी बैंककमा अवस्थित अन्तर्राष्ट्रिय, अंग्रेजी माध्यमको स्नातकोत्तर तहको शैक्षिक संस्था हो। डा. श्रेष्ठ उक्त संस्थाको नीतिगत निर्णय, मार्गदर्शन र निगरानी गर्ने उच्चस्तरीय समितिको सदस्य हुनुहुन्छ ।
फोटोहरु भिन्तुना श्रेष्ठ/UN-Habitat


288 पटक हेरिएको 

