दुई खाल्डे चर्पी: दिसाबाट मल, डरबाट भरोसा

  वास खबर समाचारदाता  249 पटक हेरिएको

धनुषा : धनुषाको एक घरको पछाडि पट्टि बनेको दुई खाल्डे चर्पी आज बिहान पनि शान्त छ। बायाँपट्टि प्रयोगमा रहेको खाल्डो, दायाँपट्टि बन्द गरिएको अर्को खाल्डो भित्र चुपचाप समयले आफ्नो काम गरिरहेको छ। त्यही बन्द खाल्डोभित्र, दुई वर्षदेखि, दिसा बिस्तारै माटो बन्दैछ।

लक्ष्मी सहनी यही चर्पी प्रयोग गर्छिन्। “पहिले जहाँ खुला ठाउँ त्यहाँ जानुपर्थ्यो,” उनी भन्छिन्, “अब यो चर्पी नै हाम्रो सबैभन्दा सुरक्षित ठाउँ हो।”

दुई खाल्डे चर्पीले एकैचोटि दुईवटा समय बोकेको हुन्छ, एक वर्तमान, जहाँ परिवारले प्रयोग गरिरहेको हुन्छ, अर्को भविष्य, जहाँ फोहोर मल बन्दै बिस्तारै जीवन फर्काउँदै हुन्छ।

एक खाल्डो भरिन्छ, बन्द हुन्छ। अर्को चल्छ। पुरानो खाल्डोभित्रको फोहोर समयसँगै हराउँछ, माटो भएर फर्किन्छ।

लक्ष्मी सहनीलाई सुरुमा विश्वास लागेन। गाउँमा यो चर्पी बनाउँदा धेरैले हाँसे। “दिसा मल हुन्छ?” तर दुई वर्षपछि, जब पुरानो खाल्डो खोलियो, त्यहाँ घिन लाग्ने केही थिएन। कालो, सुक्खा माटो थियो। त्यही माटो आज तरकारी बारीमा छ।

“यसपालि लक्ष्मीको साग झन् हरियो भयो। फर्सी झन् ठूलो। उनी हाँस्दै भन्छिन्।”

किन यो चर्पी महत्त्वपूर्ण छ?

नेपाल खुला दिसामुक्त त भयो। तर फोहोर कहाँ जान्छ? धेरै ठाउँमा सेप्टिक ट्यांकीको फोहोर खोल्सा, नदी र खेतमा पुग्छ। त्यही पानी फेरि मानिसले खान्छ।

दुई खाल्डे चर्पीले भने फोहोर यहीँ, सुरक्षित रूपमा, माटोमा बदल्छ। यो चर्पी सस्तो छ, गाउँमै बन्छ, सेप्टिकभन्दा सुरक्षित छ, पानीका मुहान जोगाउँछ किसानलाई मल दिन्छ र आज लक्ष्मीको गाउँमा १७ घरले यही चर्पी रोजेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार