सेप्टिक ट्याङ्कीमा भेन्ट पाइप नराख्दा के हुन्छ ?

  वास खबर संवाददाता  230 पटक हेरिएको

काठमाडौ : घर, विद्यालय, कार्यालय वा सार्वजनिक शौचालय, जहाँसुकै बनेको सेप्टिक ट्याङ्कीमा कतै कतै एउटा सानो तर अत्यन्तै महत्वपूर्ण संरचना छुट्ने गरेको पाइन्छ, ग्यास पाइप अर्थात् भेन्ट पाइप। धेरैजसोले “ट्याङ्की त बनाइयो, अब काम सकियो” भन्ने सोच राख्छन्। तर यही सोचले भविष्यमा स्वास्थ्य, सुरक्षा र संरचनागत गम्भीर समस्या निम्त्याउने गर्छ।

सेप्टिक ट्याङ्कीभित्र दिसापिसाब कुहिँदा स्वाभाविक रूपमा मिथेन, हाइड्रोजन सल्फाइड जस्ता ज्वलनशील र विषालु ग्यास उत्पन्न हुन्छन्। यी ग्यास सुरक्षित रूपमा बाहिर निकाल्ने काम भेन्ट पाइपले गर्छ। तर यदि भेन्ट पाइप राखिएको छैन भने के हुन्छ?

१. ग्यास जम्मा भएर विस्फोटको खतरा

भेन्ट पाइप नभएको सेप्टिक ट्याङ्कीभित्र ग्यास बाहिर ननिस्की भित्रै जम्मा हुँदै जान्छ। यसरी ग्यासको दबाब बढ्दै जाँदा ट्याङ्कीको ढकनी उछिट्टिन सक्छ, ट्याङ्की चर्किन वा फुट्न सक्छ, कतिपय अवस्थामा आगोको सम्पर्कमा आए विस्फोट समेत हुन सक्ने विज्ञहरु बताउँछन् । यो जोखिम सामान्य घरदेखि अस्पताल, विद्यालय र घना बस्ती भएका ठाउँमा झन् खतरनाक बन्न सक्छ, हालै काठमाडौमा सरसफाइकर्मीका सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रमममा विज्ञले यस प्रति सचेत गराएका छन् ।

२. घरभित्र दुर्गन्ध र विषालु ग्यास पस्ने

ग्यास बाहिर निस्कने बाटो नपाएपछि त्यसले शौचालयको प्यान, पाइपको जोइन्ट वा साना चिराबाट घरभित्रै दुर्गन्ध फैलिन थाल्छ, लामो समयसम्म यस्तो ग्यास सास फेर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, आँखा पोल्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्।

३. फ्लस राम्रोसँग नजाने समस्या

भेन्ट पाइप नभएको ट्याङ्कीभित्र हावाको निकास नहुँदा ब्याक–प्रेशर बन्छ। त्यसको असर फ्लस गर्दा पानी ढिलो जाने र कहिलेकाहीँ फोहोर पानी उल्टै फर्किएर आउने अवस्था पनि आउन सक्छ भने शौचालय बारम्बार जाम हुने समस्या पनि आउन सक्छ ।

४. सेप्टिक ट्याङ्कीको जैविक प्रक्रिया बिग्रिने

सेप्टिक ट्याङ्कीभित्र फोहोर कुहाउने काम ब्याक्टेरियाले गर्छन्। तर अत्यधिक ग्यास र दबाबका कारण त्यो प्राकृतिक प्रक्रिया बिग्रन्छ वा सुस्त हुन्छ । परिणामस्वरूप ट्याङ्की छिट्टै भरिन्छ । जसले गर्दा बारम्बार फोहोर तान्नुपर्ने बाध्यता आउँछ । यसको सम्बन्ध अन्ततः मानव स्वास्थ्य र खर्च सँगै जोडिन्छ।

५. सरसफाइकर्मी र मिस्त्रीको ज्यान समेत जोखिममा

भेन्ट नभएको ट्याङ्की खोल्दा भित्र जम्मा भएको ग्यास एक्कासी बाहिर निस्केर मान्छे बेहोस हुने, कहिलेकाहीँ सास थुनिएर ज्यान जाने दुर्घटना समेत हुन सक्छ । नेपालमा सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा हुने दुर्घटनाको एउटा ठूलो कारण यही हो।

अब समाधान के त ?

हरेक सेप्टिक ट्याङ्कीमा अनिवार्य रूपमा भेन्ट पाइप जडान गर्नुपर्छ। भेन्ट पाइप ट्याङ्कीबाट कम्तीमा २–३ मिटर माथिसम्म उठाइएको हुनुपर्छ । सम्भव भएसम्म घरको छानाभन्दा माथि निकाल्नुपर्छ । माथिल्लो भागमा जाली ९नेट० राखेर किरा, मुसा छिर्न नदिने व्यवस्था गर्नुपर्छ ।

देख्दा सानो संरचना भए पनि यसले ठूलो सुरक्षाको काम गर्छ । भेन्ट पाइप राख्नु कुनै विलासिता होइन, यो सुरक्षित शौचालय र सुरक्षित घरका लागि अनिवार्य पूर्वाधार हो। सेप्टिक ट्याङ्की बनाउँदा यो कुरा बेवास्ता गर्नु भनेको आफ्नै घरभित्र जोखिम निम्त्याउनु सरह हो।

त्यसैले तपाईंको घर, संस्था वा विद्यालयको सेप्टिक ट्याङ्कीमा भेन्ट पाइप छैन भने, आजै प्राविधिकसँग परामर्श गरेर जडान गर्नुहोस्। सानो खर्चले ठूलो दुर्घटना रोक्न सकिन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार