१७ नगरपालिकाका प्रतिनिधिहरूलाई नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीनदिने तालिम

  वास खबर सम्बाददाता  352 पटक हेरिएको

काठमाडौं : नगरव्यापी समावेशी सरसफाइ प्रणालीको अवधारणाबारे जानकारी र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीनदिने तालिम नगरकोटमा भैरहेको छ । नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र नगरकोटले तालिमको आयोजना गरेको हो ।

तालिममा देशभरिका १७ वटा नगरपालिकाबाट आएका प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, खानेपानी तथा सरसफाइ सम्पर्क व्यक्ति र फोहर व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको तालिम कोअर्डिनेटर चन्द्र शोभा खाइतुले जानकारी दिनुभयो। उहाँका अनुसार नगरव्यापी समावेशी सरसफाइ प्रणाली अवधारणाबारेको बिस्तार गर्ने र नगरलाई सुरक्षित, समावेशी र दिगो बनाउने उद्देश्यले तलिम आयोजना गरिएको हो।

तालिममा सहभागीहरूलाई नगरव्यापी समावेशी सरसफाइको आधारभूत अवधारणा, नगरव्यापी समावेशी सरसफाइ अवस्थाको विश्लेषण, सरसफाइ सेवा शृङ्खला (सङ्कलन, खाली गर्ने, ढुवानी, प्रशोधन तथा अन्तिम व्यवस्थापन), दिसाजन्य लेदो व्यवस्थापन, योजना निर्माण ढाँचा, सुशासन र संस्थागत भूमिका, वित्तीय व्यवस्थापन, उपयुक्त प्रविधि छनोट, वातावरणीय तथा जनस्वास्थ्य पक्ष, अनुगमन तथा तथ्याङ्क प्रयोग, सरोकारवालाको सहभागिता र व्यवहार परिवर्तन लगायतका विषयहरूमा प्रशिक्षण दिइँदैछ।

त्यसैगरी, तालिममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका सफल अभ्यास र उदाहरणहरू बारे पनि छलफल गरिनेछ। तेस्रो दिन सहभागीहरूले गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्दै ढलको प्रशोधन प्रक्रिया, सञ्चालन प्रणाली र व्यवहारिक चुनौतीहरू बारे प्रत्यक्ष सिकाइ गर्ने कार्यक्रम रहेको तालिम संयोजक चन्द्रा शोभा खाइतुले जानकारी दिनुभयो ।

तालिमका विभिन्न सत्रहरूमा राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.रामकुमार श्रेष्ठ, खानेपानी मन्त्रालयको क्षेत्रगत क्षमता अभिवृद्धि शाखाका प्रमुख सिडिई योगेन्द्र चित्रकार, ई. मुकुन्द आगस्ती, मिलन जोशी, तालिम संयोजक चन्द्रा शोभा खेतुई, सिविसान कोअर्डिनेसन अफिसर सतिश जंग शाही र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सुवास के.सी. लगायतका प्रशिक्षक तथा स्रोत व्यक्तिहरूले सहजीकरण गरिरहनु भएको छ।

आयोजकका अनुसार, यस तालिमबाट सहभागी नगरपालिकाहरूले आफ्नो सहरमा समावेशी, सुरक्षित र दिगो सरसफाइ प्रणाली विकास गर्न आवश्यक नीतिगत, प्राविधिक र संस्थागत क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat), वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगरव्यापी समावेशी सरसफाइ एलायन्सको समन्वयमा कार्यक्रम सञ्चालित पालिकाहरुलाई विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।

गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) कार्यकारी निकाय हो ।

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिरहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सञ्चालन भैरहेको छ।

फोटोहरु भिन्तुना श्रेष्ठ/UN-Habitat


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार