नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीन दिने तालिम सम्पन्न

  वास खबर सम्बाददाता  229 पटक हेरिएको

काठमाडौं : नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र नगरकोटले आयोजना गरेको तालिममा देशभरिका १७ वटा नगरपालिकाका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।

नगरव्यापी समावेशी सरसफाइ प्रणालीको अवधारणाबारे जानकारी र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा नगरपालिकाका इन्जिनियर, प्रशासनिक कर्मचारी, खानेपानी तथा सरसफाइ सम्पर्क व्यक्ति र फोहर व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता थियो।

तालिममा नगरव्यापी समावेशी सरसफाइको आधारभूत अवधारणा, नगरव्यापी समावेशी सरसफाइ अवस्थाको विश्लेषण, सरसफाइ सेवा शृङ्खला (सङ्कलन, खाली गर्ने, ढुवानी, प्रशोधन तथा अन्तिम व्यवस्थापन), दिसाजन्य लेदो व्यवस्थापन, योजना निर्माण ढाँचा, सुशासन र संस्थागत भूमिका, वित्तीय व्यवस्थापन, उपयुक्त प्रविधि छनोट, वातावरणीय तथा जनस्वास्थ्यको सवाल, अनुगमन तथा तथ्याङ्क प्रयोग, सरोकारवालाको सहभागिता र व्यवहार परिवर्तन लगायतका विषयहरूमा प्रशिक्षण गराईएको तालिम कोअर्डिनेटर चन्द्र शोभा खाइतुले जानकारी दिनुभयो।

तालिमको समापन सत्रमा बर्दिया नगरपालिकाका बरिष्ठ योजना अधिकृत/वास फोकल पर्सन मुकुन्द पोखरेलले तालिम एकदम उपलब्धीमूलक भएको बताउनुभयो। उहाँले समावेशी र समता भन्ने कुरा सरसफाइको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रका लागि आवश्यक रहेको बताउनुभयो । देशलाई खुला दिसामुक्त घोषणा गरेपछि दिसाजन्य लेदो व्यवस्थापनका लागि सरकारले पहिले नै यो कदम चाल्नुपर्ने भएपनि ढिलै भएपनि नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तालिममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । वास फोकल पर्सन पोखरेलले यो कार्यक्रम देशको सात नगरपालिकामा मात्र नभई सातै प्रदेशका सबै नगरपालिका सम्म पुग्नुपर्ने बताउनुभयो।

समापन सत्रमा राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.रामकुमार श्रेष्ठले नगरव्यापी भन्दा पनि पालिकाव्यापी समावेशी सरसफाइको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले नगरउन्मुख र गाउँपालिकाहरुमा पनि यो कार्यक्रम सञ्चालन भयो भने मात्र भोलिका दिनमा आउन सक्ने समस्याको समाधान हुने बताउनुभयो।

तालिमको अन्त्यमा सहभागीहरुले गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको समेत अवलोकन गरेका थिए । तालिमबाट नगरपालिकाहरूले आफ्नो सहरमा समावेशी, सुरक्षित र दिगो सरसफाइ प्रणाली विकास गर्न आवश्यक नीतिगत, प्राविधिक र संस्थागत क्षमता अभिवृद्धि गर्ने आयोजकको विश्वास छ।

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिरहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सञ्चालन भैरहेको छ।

कार्यक्रम सञ्चालित पालिकाहरुलाई संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat), वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगरव्यापी समावेशी सरसफाइ एलायन्सको समन्वयमा विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।

गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) कार्यकारी निकाय हो ।

फोटोहरु : भिन्तुना श्रेष्ठ/UN-Habitat


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार