दलको घोषणापत्रमा सरसफाइलाई प्राथमिकता दिऔं

  सम्पादकीय  224 पटक हेरिएको

नेपालमा हरेक निर्वाचनसँगै राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक हुने गर्छन्। ती घोषणापत्रहरूमा विकास, समृद्धि, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, ऊर्जा, सडक, उद्योग जस्ता विषयहरू आकर्षक शब्दावलीका साथ प्रस्तुत गरिन्छन्। तर ती सबै विकासका सूचीहरूमा एउटा अत्यन्तै आधारभूत र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय ‘सरसफाइ’ भने प्रायः उपेक्षित वा औपचारिकतामा सीमित हुने गरेको यथार्थ हामी सबैका सामु छ।

सरसफाइ कुनै सानो वा गौण विषय होइन। यो मानव जीवनको मर्याद, सार्वजनिक स्वास्थ्य, सामाजिक प्रतिष्ठा र राष्ट्रको उत्पादकत्वसँग प्रत्यक्ष रूपमा गाँसिएको विषय हो। सुरक्षित खानेपानी, सुरक्षित शौचालय, फोहरमैला व्यवस्थापन, ढल व्यवस्थापन र स्वच्छ बानी व्यवहार बिना कुनै पनि देशले आफूलाई सभ्य, विकसित वा समुन्नत भन्न सक्दैन। त्यसैले अबको राजनीतिले सरसफाइलाई विकासको मेरुदण्डका रूपमा हेर्नु जरुरी भइसकेको छ।

अबको राजनीति र अबका घोषणापत्रहरूले यो कमजोरी सच्याउनै पर्छ। सरसफाइलाई स्वास्थ्य, शिक्षा र आर्थिक विकाससँग जोडेर हेर्नु अत्यन्त आवश्यक छ।

आज पनि नेपालका धेरै गाउँ, टोल र शहरका बस्तीहरू सुरक्षित खानेपानी तथा सरसफाइ र फोहर व्यवस्थापनको अभावमा बाँचिरहेका छन्। खुला ढल, नदीमा फालिएको मानव मलमूत्र, अव्यवस्थित बस्ती, दुर्गन्धित वातावरण र वर्षातको समयमा फैलिने पानीजन्य रोगहरू हाम्रो दैनिकी जस्तै बनेका छन्। हरेक वर्ष झाडापखाला, हैजा, टाइफाइड, जन्डिसजस्ता रोगका कारण हजारौं नागरिक बिरामी पर्छन्, कतिले त ज्यानै गुमाउँछन्। तर विडम्बना के छ भने, यी समस्याको जरोमै पुग्ने “सरसफाइ” राजनीतिक प्राथमिकताको सूचीमा कहिल्यै अगाडि पर्दैन।

राजनीतिक दलहरू विकासको कुरा गर्दा ठूला आयोजना, ठूला पुल, ठूला सडक र ठूला भवन देखाउँछन्। तर नागरिकको घर आँगन, टोल र बस्ती सफा छैन भने ती सबै विकासका संरचनाहरूको अर्थ के रहन्छ? बिरामी परिरहने नागरिक, दुर्गन्धित शहर र प्रदूषित खानेपानीले समाजमा समृद्धिको कल्पना सम्भव होला ?

घोषणापत्रमा ‘सरसफाइ प्रबर्द्वन गरिनेछ’ भन्ने सामान्य वाक्यले मात्र सरसफाइको समस्या सम्बोधन हुँदैन । कसरी, कुन मोडेलमा र कति समयमा भन्ने स्पष्ट खाका माग्नुपर्छ।

सरसफाइ भनेको शौचालय बनाउने काम मात्र होइन। सुरक्षित पानीको स्रोत, शौचालयको दिगो प्रयोग, सेप्टिक ट्याङ्की र ढलको उचित व्यवस्थापन, फोहरको वर्गीकरण, पुनःप्रयोग र सुरक्षित विसर्जन, अनि सबैभन्दा महत्वपूर्ण, नागरिकको व्यवहारमा स्वच्छताको संस्कार विकास। यी सबै पक्ष समेट्ने दीर्घकालीन सोच बिना सरसफाइमा वास्तविक परिवर्तन सम्भव ल्याउन सकिदैन ।

नेपालले खुला दिसामुक्त देश घोषणा गरेको धेरै लामो समय भैसक्यो। यो उपलब्धि प्रशंसनीय भए पनि, व्यवहारमा हेर्दा सुरक्षित र दिगो सरसफाइमा अझै ठूलो चुनौती देखिएको छ। धेरै ठाउँमा शौचालय त बनेका छन्, तर त्यस भित्रको मानव मलमूत्र कहाँ जान्छ भन्नेबारे कसैलाई चासो छैन। सेप्टिक ट्याङ्की भरिएपछि सडकमा, खोलामा वा खुला जमिनमा फालिने मानव मलमूत्रले थप संकट सिर्जना गरिरहेको छ । यसले पनि प्रष्ट बताउँछ कि, अब हामीले सरसफाइलाई नारा होइन, प्रणालीका रूपमा बुझ्न आवश्यक छ।

अबको राजनीति र अबका घोषणापत्रहरूले यो कमजोरी सच्याउनै पर्छ। सरसफाइलाई स्वास्थ्य, शिक्षा र आर्थिक विकाससँग जोडेर हेर्नु अत्यन्त आवश्यक छ। स्वस्थ नागरिक बिना न त उत्पादन बढ्छ, न त देश अघि बढ्छ। विश्व बैंकको अध्ययनले पनि देखाएको छ, सरसफाइमा लगानी गरिएको प्रत्येक रुपैयाँले स्वास्थ्य खर्च घटाउने, काम गर्ने दिन बढाउने र समग्र अर्थतन्त्रलाई फाइदा पुर्‍याउने काम गर्छ।

स्थानीय तहलाई हेर्ने हो भने, फोहर व्यवस्थापन र मानव मलमूत्र व्यवस्थापन आज सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ। धेरै नगरपालिका फोहर थुपार्ने ठाउँ खोज्नमै वर्षौं बिताइरहेका छन्। राजनीतिक दलहरूले यस विषयमा स्पष्ट नीति, बजेट प्रतिबद्धता र दीर्घकालीन योजना बिना चुनाव जितेपछि पनि समस्या जस्ताको तस्तै रहन्छ।

त्यसैले अब प्रश्न उठाउनैपर्छ, राजनीतिक दलका घोषणापत्रमा सरसफाइ किन पहिलो प्राथमिकतामा पर्दैन? किन स्वास्थ्य, शिक्षा र पूर्वाधार जत्तिकै गम्भीरताका साथ सरसफाइलाई लिइँदैन? किन नागरिकको दैनिकीसँग जोडिएको यो विषय सधैं छायाँमा पारिन्छ?

अब समय आएको छ, नागरिक समाज, सञ्चारमाध्यम र सचेत मतदाताले दलहरूलाई यस विषयमा स्पष्ट प्रतिवद्धता माग्ने। घोषणापत्रमा ‘सरसफाइ प्रबर्द्वन गरिनेछ’ भन्ने सामान्य वाक्यले मात्र सरसफाइको समस्या सम्बोधन हुँदैन । कसरी, कुन मोडेलमा र कति समयमा भन्ने स्पष्ट खाका माग्नुपर्छ।

सरसफाइमा लगानी गर्नु भनेको सुरक्षित भविश्यका लागि लगानी गर्नु हो। यो रोग रोकथाम हो, गरिबी घटाउने उपाय हो, र सभ्य समाज निर्माण गर्ने आधार हो। यदि अब पनि हामीले यसलाई राजनीतिक प्राथमिकतामा राख्न सकेनौँ भने, हरेक बर्ष रोग, प्रदूषण र अव्यवस्थाको दुश्चक्रमा फँसिरहनेछौँ।

त्यसैले दलको घोषणापत्रमा सरसफाइलाई प्राथमिकता दिऔं। यो कुनै एउटा क्षेत्रको मुद्दा मात्र होइन, सिंगो राष्ट्रकै स्वास्थ्य, सम्मान र भविश्यसँग जोडिएको बिषय हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार