चर्पी बनाउन दिएको सामानको दुरुपयोग

झापा : भद्रपुुर नगरपालिकाले चर्पी बनाउन सक्षमहरुलाई पहिले चर्पी बनाउन लगाउने र अति विपन्नको हकमा स्थानीय सहयोग संयन्त्र मार्फत सहयोग गर्ने योजना बनाएको छ । चर्पी बनाउन आर्थिक रुपमा सम्पन्न परिवारले नै चर्पी नबनाउँदा खुल्ला दिसामुक्त घोषणा हुन नसके पछि नगरपालिकाले यस्तो निर्णय लिएको हो ।

त्यसो त आफ्नो घरमा सुरक्षित शौचालय नहुनेहरुलाई कुनै पनि सार्वजनिक पदमा नराख्ने र नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा समेत नदिने निर्णय नगरपालिकाले गरिसकेको छ । ‘अब निर्णयलाई कार्यान्वयन गर्ने बेला आएको छ’, नगर प्रमुख श्रेष्ठको भनाइ छ, ‘पहिलो चरणमा अभियानकर्ता साथीहरुले अभियान चलाउनुभयो, दोस्रो चरणमा हामीले घरदैलो गरेका छौं । अब पनि अटेर गर्नेलाई नगरको निर्णय अनुसार कारवाही हुन्छ ।’

चर्पी बनाउन दिएको सामानको दुरुपयोग

धेरै समय अगाडि विभिन्न संघसंस्थाले शौचालय बनाउनका लागि दिएका सामग्रीहरु दुरुपयोग भएको भेटिएको छ । घरदैलोको क्रममा चर्पी बनाउन दिएको प्यान सेट, रिङ तथा अरु सामग्रीको चरम दुरुपयोग भएको भेटिएको कार्यक्रम अधिकृत फणिन्द्र दाहालले बताउनुभयो ।

 

‘अधिकांशको त गरिबीको बहाना मात्र हो नगरपालिका क्षेत्रभित्र’, दाहालको भनाइ छ, ‘घरमा सोलार, टेलिभिजन, डिस र मोटरसाइकल राख्नेहरुले समेत चर्पी नबनाएको र अनुदानमा पाएका निर्माण सामग्रीको दुरुपयोग गरेको भेटियो । त्यसैले अब कडाइ गरिरहेका छौं ।’

 

नगरपालिका क्षेत्रभित्र पर्ने बुधकरण टी स्टेटले कामदारका लागि शौचालय नबनाएका कारण पनि सरसफाइ प्रवद्र्धनमा समस्या भएको थियो । अहिले चिया बगान भित्र समेत शौचालय निर्माणको थालनी भएको छ ।

नेपालकै सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरका १४ हजार ६ सय १५ घरधुरीमध्ये १२ हजार ५ सय ४१ घरधुरीमा मात्र सुरक्षित शौचालयको पहुँच रहेको छ भने नगरपालिकालाई खुल्ला दिसामुक्त गर्नका लागि अझै २ हजार ७४ घरधुरीमा सुरक्षित शौचालय निर्माण गर्न बाँकी रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार