
तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले पालिकाभित्रको खानेपानी समस्या समाधानका लागि ऐन निर्माण गरी खानेपानी बोर्ड गठन गरिएको बताउनु भएको छ ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिमा उहाँले खानेपानी संस्था बीच सहकार्य, साझेदारी र समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा रणनीति तयार पार्न थालिएको पनि बताउनुभयो।
तालिम उदघाटन कार्यक्रममा नगरप्रमुख खड्काले भन्नुभयो ‘तुलसीपुर मात्र होइन, सिंगो दाङलाई खानेपानी समृद्धिसँग जोड्ने लक्ष्य सहित पहल थालिएको छ।’
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले संघीयता पछि खानेपानी तथा सरसफाइ क्षेत्र संघ र स्थानीय तहको एकल अधिकार सूचीमा परेकाले पालिकाले आवश्यक कानुन निर्माण गरेको बताउनुभयो ।
खानेपानी ऐन जारी भएसँगै बोर्डले पूर्णता पाएको र अब उपभोक्ता समूहको समस्या अभिलेखीकरण तथा समाधान तर्फ काम अघि बढेको उहाँले बताउनुभयो। उहाँले सबै संस्थालाई पालिकामा सूचीकृत हुन आग्रह समेत गर्नुभयो।

विशिष्ठ अतिथि राष्ट्रिय सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी संस्थाको संस्थागत सुदृढीकरण, कानुनी स्पष्टता र नेतृत्व क्षमताको विकास आवश्यक रहेको बताउनुभयो । आधुनिक प्रविधि, विशेषगरी जिआइएस प्रणालीको प्रयोग मार्फत सेवा पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। निजी क्षेत्रद्वारा सफ्टवेयरका नाममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार परिरहेको विषयमा पनि सजग हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारीले पानी शुद्धीकरण, स्रोत संरक्षण र संस्थाको दिगोपनाका लागि नीतिगत स्पष्टता आवश्यक रहेको बताउनुभयो । कमजोर संस्थालाई सबल बनाउन बजेट व्यवस्थापन गर्न पालिकासँग आग्रह गर्दै उहाँले पानीमा लाग्ने कर सम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसि, प्रगतिनगर खानेपानी देउखुरीका अध्यक्ष तिर्थराज ज्ञवाली लगायतले दिगो खानेपानी व्यवस्थापनका लागि तीनै तहका सरकारले खानेपानीका लागि गंभिर हुनु पर्ने वताउनुभयो । उहाँले स्रोत संरक्षण, अव्यवस्थित पूर्वाधार व्यवस्थापन र संस्थागत एकता मार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तन, ढुंगा उत्खनन र अव्यवस्थित पूर्वाधारका कारण पानीका स्रोत सुक्दै गएको उल्लेख गर्दै तत्काल संरक्षण अभियान आवश्यक रहेको उहाँले बताउनुभयो।
उक्त तालिममा खानेपानी विज्ञ शिव अमात्य, तिलक न्यौपाने र चोक प्रसाद धितालले खानेपानीका नियम, कानुन, सवल खानेपानी संस्थाकाका लागि नेतृत्वदायी भूमिका र सुरक्षित पानीको महत्वका बिषयमा तालिम दिइएको थियो ।
तालिमका सहभागीहरुले स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले खानेपानी संस्था बीच एकता, प्रविधिको प्रयोग र नीतिगत स्पष्टता मार्फत मात्र दीगो व्यवस्थापन सम्भव हुने बताएका हुन् ।
तालिम राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सल्लाहकार खानेपानी विज्ञ चोक प्रसाद धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नगर समिति गठन
तालिमकै बीचमा तुलसीपुर क्षेत्रका सबै खानेपानी संस्थाहरूलाई एउटै छातामुनि गोलबन्द गर्दै समस्या समाधानमा सामूहिक पैरवी गर्नका लागि ‘तुलसीपुर नगरस्तरिय तदर्थ समिति’ समेत गठन गरिएको छ ।
भेलाले दशरथ वलीको अध्यक्षतामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ तुलसीपुर नगर स्तरीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा अमर खड्का, सचिवमा राकेश बस्नेत, कोषाध्यक्ष सुशीला न्यौपाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा तिलक केसी, शुष्मा अधिकारी, बिक्रम चौधरी, दोर्णबहादुर खत्री, चेतबहादुर जिसी, मेनका रेग्मी, कविराज वली, मुक्तबहादुर वली र लोकबहादुर वली चयन हुनुभएको छ । सल्लाहकारमा यमलाल पार्धे, नेवबहादुर डिसी र मिनुका पन्थी रहेका छन् ।
समितिले नगरभित्रका खानेपानी आयोजनाहरूको हकहित र आपसी समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने महासंघका अध्यक्ष वलीले बताउनुभयो।


204 पटक हेरिएको 

