सिन्धुलीमा विद्यालय WASH सुदृढीकरणका लागि “थ्री स्टार” पुनर्ताजगी तालिम

  वास खबर संवाददाता  264 पटक हेरिएको

सिन्धुली : सिन्धुलीका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई “थ्री स्टार अप्रोच मार्फत शिक्षक क्षमता वृद्धि पुनर्ताजगी तालिम दिईएको छ । Plan International Nepal को साझेदारीमा जनजाति सोसाईटी डिभेलप्मेन्ट प्रोग्राम  (JSDP) ले  Girls Standing Strong Project (GSS) अन्तर्गत शिक्षक शिक्षिकाहरुलाई तालिम दिईएको हो ।

तालिममा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (School WASH) लाई सुरक्षित, समावेशी र स्वस्थ सिकाइ वातावरणको आधारका रूपमा व्याख्या गरिएको थियो। नेपालको संविधान तथा राष्ट्रिय नीतिले सुरक्षित खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको सन्दर्भमा विद्यालयस्तरमै प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइयो।


कार्यक्रममा “थ्री–स्टार प्रक्रिया मार्गदर्शन” को अवधारणा, संरचना तथा एक–स्टार, दुई–स्टार हुँदै तीन–स्टार स्तर हासिल गर्ने चरणबद्ध प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको तालिमका प्रदेश स्रोत व्यक्ति केदार खतीवडाले जानकारी दिनुयो। कार्यक्रममा विभिन्न विद्यालयका १६ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।

तीन–स्टार हासिल गर्न आवश्यक १० सूचकका आधारमा विद्यालयले स्व–मूल्याङ्कन गरी सुधार योजना बनाउनुपर्ने विषयमा अभ्यास गराइएको थियो।
विद्यालयमा सुरक्षित खानेपानीको गुणस्तर, नियमित परीक्षण, पानी शुद्धीकरण विधि (उमाल्ने, फिल्ट्रेसन, क्लोरिनेसन) तथा सुरक्षित भण्डारणका विषयमा जानकारी दिइयो। त्यसैगरी, बालमैत्री तथा लैङ्गिकमैत्री शौचालय, अपाङ्गमैत्री संरचना, तथा किशोरीहरूका लागि महिनावारी स्वच्छता व्यवस्थापन (MHM) का आवश्यक पूर्वाधार र व्यवहार पक्षमा विशेष छलफल गरिएको थियो।


विद्यालयस्तरमा ठोस फोहोर व्यवस्थापनलाई थ्री–स्टारको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्दै 4R (Reduce, Reuse, Recycle, Recover) अभ्यासबारे सहभागीहरूलाई प्रशिक्षण दिइयो। स्रोतमा नै फोहोर छुट्याउने, पुनःप्रयोग र पुनर्चक्रण गर्ने तथा सुरक्षित व्यवस्थापन गर्ने अभ्यास विद्यालयमा लागू गर्ने प्रतिबद्धता जनाइएको छ।

तालिम अघि र पछि लिइएको पूर्व–परीक्षण र पश्चात–परीक्षणको नतिजाले सहभागी शिक्षकहरूको ज्ञानस्तरमा उल्लेखनीय सुधार भएको देखाएको छ। अधिकांश सहभागीको अंक उल्लेख्य रूपमा वृद्धि भएको थियो, जसले तालिम प्रभावकारी रहेको पुष्टि गरेको छ।तालिमको अन्तिम सत्रमा सहभागी विद्यालयहरूले आफ्ना विद्यालयको वर्तमान अवस्था विश्लेषण गरी थ्री–स्टार स्तर हासिल गर्न विद्यालयस्तरीय कार्ययोजना तयार गरेका छन्।

सिन्धुलीमा आयोजित “थ्री–स्टार अप्रोच मार्फत शिक्षक क्षमतावृद्धि पुनर्ताजगी तालिम” का क्रममा सहभागी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले तालिमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आफ्ना विद्यालयलाई थ्री–स्टार स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। श्री सेकण्डरी स्कुलका प्रधानाध्यापक लेख बहादुर बस्नेतले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि थ्री–स्टार प्रक्रिया मार्गदर्शनमा उल्लेख भएका १० वटा सूचकहरू अनिवार्य रूपमा पूरा गर्नुपर्ने रहेछ भन्ने कुरा स्पष्ट रूपमा बुझेको बताउनुभयो।

उहाँले “ती सूचकहरू व्यवहारिक र मापदण्डमा आधारित भएकाले विद्यालय सुधारका लागि अत्यन्तै महत्वपूर्ण रहेछन्, समग्रमा तालिम उत्कृष्ट र उपयोगी रह्यो” भन्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी कपिलकोट सेकेण्डरी स्कुलका शिक्षक सुनिल पौडेलले चालु आर्थिक वर्षभित्रै आफ्नो विद्यालयलाई थ्री–स्टार घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहकार्यमा आवश्यक सुधार कार्य अघि बढाइने उहाँले बताउनुभयो।यस्तै पाटनदेवी सेकेण्डरी स्कुलकी की शिक्षिका अमृता श्रेष्ठले पनि आफ्नो विद्यालयलाई तीन–स्टार स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालय व्यवस्थापन समिति ९क्ःऋ० सँग समन्वय गरी खानेपानी, सरसफाइ, स्वच्छता तथा ठोस फोहोर व्यवस्थापनका सूचकहरू क्रमशः पूरा गर्दै विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो।

तालिम कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फबाट पनि महत्वपूर्ण धारणा व्यक्त गरिएको थियो। श्री सेकेण्डरी स्कुल (तल्लो खन्जान) का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु बहादुर माझीले उक्त तालिम अत्यन्त उत्कृष्ट र उपलब्धिमूलक रहेको बताउनुभयो। उहाँले प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारमा उतार्दै निकट भविष्यमा आफ्नै विद्यालयलाई तीन–स्टार स्तरमा पुर्‍याई नमुना विद्यालयका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यसै तालिममा Plan International Nepal का तर्फबाट सन्तोष थापाले सेफगार्डिङ (Safeguarding) नीतिबारे सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिका, किशोरी तथा सहभागीहरूको सुरक्षा, सम्मान र अधिकार संरक्षण सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा  Janajati Society Development Program (JSDP) का परियोजना संयोजक मधुरी शर्माले Girls Standing Strong परियोजना अन्तर्गत विद्यालय WASH सुदृढीकरण, लैङ्गिक समानता तथा सुरक्षित सिकाइ वातावरण निर्माणको लक्ष्यबारे प्रस्ट पार्नुभएको थियो।

त्यसैगरी JSDP का अध्यक्ष प्रदीप लुङ्गेली मगरले विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको दिगो व्यवस्थापन मार्फत गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न थ्री–स्टार प्रक्रिया मार्गदर्शन प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार