गरामनी (झापा) : झापाको बिर्तामोड नगरपालिकामा पर्ने गरामनीमा यस वर्षको सोनाम ल्होसारमा सुख, शान्ति र समृद्धिको मात्र होइन, खुल्ला दिसामुक्त गरामनी बनाउनका लागि दीप प्रज्वलन भयो । नेखाङ छ्योलिङ गुम्बामा ल्होसार मनाउन तामाङ मात्र भेला भएनन्, ब्राह्मण क्षेत्री समेत भेला भए ।
सधैंजसो सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने दिने ल्होसारमा यसवर्ष खुल्ला दिसामुक्त मुख्य विषय बन्यो । कार्यक्रमको प्रमुख अतिथि बन्नुभयो बिर्तामोड नगरपालिका, वडा नं. ९ का अध्यक्ष एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, संयुक्त वडा समितिका अध्यक्ष पवित्रा पाठक । विशेष आतिथ्यता ग्रहण गर्नुभयो खुल्ला दिसामुक्त अभियानका सहजकर्ता नमिता काफ्लेले ।

काफ्लेले बिर्तामोड नगरपालिकामा गाभिएको साविकको गरामनी छिटो खुल्ला दिसामुक्त होस् भन्ने कामना गर्दै दीप प्रज्वलन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पवित्रा पाठकले समेत खुल्ला दिसामुक्त अभियानकै चर्चा गर्नुभयो । उपस्थित गुम्बा व्यवस्थापन समितिका सदस्यहरु र सहभागीहरुले समेत गरामनीलाई यही फागुन ३१ भित्रै खुल्ला दिसामुक्त गरी नयाँ वर्षलाई सरसफाइयुक्त नयाँ वर्षको रुपमा मनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिर्तामोड नगरपालिकामा गाभिएको साविक गरामनीमा रहेका ५ हजार ४ सय ३७ घरधुरीमध्ये ४ हजार १ सय ५९ घरधुरीमा सुरक्षित चर्पी रहेका छन् भने बाँकी १ हजार २ सय ७८ घरधुरीमा सुरक्षित चर्पीको निर्माण गर्न बाँकी छ ।


843 पटक हेरिएको 

