समुदायले चलाएको ढल व्यवस्थापन: ठैब-बाडेगाउँ ढल व्यवस्थापन उपभोक्ता समिति एक उदाहरण

  वास खबर सम्बाददाता  290 पटक हेरिएको

ललितपुर : ललितपुरको गोदावरी नगरपालिका–१४ मा एउटा यस्तो अभ्यास छ, जसले नेपालको सरसफाइ व्यवस्थापनको सोचलाई फरक दृष्टिकोण दिन्छ। हामी प्रायः खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बारेमा सुन्ने गर्छौँ, तर यहाँ भने ढल व्यवस्थापनका लागि नै छुट्टै उपभोक्ता समिति सञ्चालनमा छ।

गोदावरी नगरपालिका–१४ को ठैबमा रहेको ठैब- बाडेगाउँ ढल व्यवस्थापन उपभोक्ता समितिले विगत १० वर्षदेखि करिब ७०० घरधुरीको ढल व्यवस्थापन गर्दै आएको छ। समुदाय आफैंले व्यवस्थापन गरिरहेको यो अभ्यासले स्थानीय तहमा दिगो सरसफाइ प्रणाली सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

समितिका अध्यक्ष रोमलाल महर्जनका अनुसार यो ढल व्यवस्थापन प्रणालीको सुरुवात भने निकै पहिलेदेखि भएको हो। तत्कालीन खानेपानी तथा ढल निकास विभाग ले भक्तपुरको ठिमी र ललितपुरको तत्कालीन ठैब गाविसमा नमुना परियोजनाका रूपमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि बढाएको थियो। त्यसै अन्तर्गत ठैबमा ढल प्रशोधन केन्द्र स्थापना गरिएको हो।

“२०५८ सालमा सर्भे डिजाइन भएर निर्माण भएपछि यो प्रणाली सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष महर्जनले भन्नुभयो। उहाँका अनुसार निर्माण सम्पन्न भएपछि समुदायले यसको व्यवस्थापनको जिम्मा लिएको थियो।

समयसँगै धेरै नमुना परियोजनाहरू जस्तै यो केन्द्र पनि अलपत्र पर्न सक्थ्यो। तर ठैब बाडेगाउँका स्थानीय बासिन्दाले भने त्यसलाई हुन दिएनन्। उनीहरूले ढल व्यवस्थापन उपभोक्ता समिति गठन गरेर सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिए। अहिले पनि सो ढल प्रशोधन केन्द्र निर्माण भएको मूल अवस्थामै सञ्चालनमा रहेको अध्यक्ष महर्जनको भनाइ छ।

यो प्रणाली मार्फत अहिले ७०० घरधुरीबाट निस्कने ढल संकलन, प्रशोधन र व्यवस्थापन भइरहेको छ। समुदायको सक्रियता र स्वामित्वका कारण यो प्रणाली दशकौँदेखि सञ्चालनमा रहन सकेको हो। तीब्र शहरीकरणका कारण पछि निर्माण भएका धेरै घरहरुको ढल प्रशोधन गर्न नसके पनि करिब ७ सय घरको ढल प्रशोधन हुँदै आएको उहाँले बताउनुभयो। सीमित क्षमता र क्षेत्रफलका कारण यसको क्षमता बृद्धि गर्न नसकेको र सरकारले ठूलो क्षमताका ढल प्रशोधन केन्द्रहरु निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालका धेरै सहरहरू अझै पनि ढल व्यवस्थापनको चुनौतीसँग जुधिरहेका बेला ठैब बाडेगाउँको अभ्यासले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, ढल व्यवस्थापन सरकारको जिम्मेवारी मात्र होइन, समुदायको सक्रिय सहभागिताले पनि दिगो समाधान सम्भव छ।

स्थानीय स्तरमा उपभोक्ता समिति मार्फत ढल व्यवस्थापन गर्ने यो अभ्यासले भविष्यका शहरी सरसफाइ योजनाका लागि समेत महत्त्वपूर्ण पाठ दिन्छ। यदि यस्ता मोडेललाई नीति र कार्यक्रममार्फत विस्तार गर्न सकियो भने, नेपालका धेरै सहरमा ढल व्यवस्थापनको समस्या समाधानतर्फ ठोस कदम अघि बढ्न सक्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार