
काठमाडौ : ललितपुर, भक्तपुर र काठमाडौ उपत्यकामा कार्यरत सरसफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ। सरसफाइकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सरसफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो।
व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्दै वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले व्यक्तिगत सुरक्षात्मक उपाय अपनाउने पहिलो दायित्व आफू स्वयंको भएको बताउनुभयो। उहाँले व्यबहार परिवर्तनको काम गाह्रो भए पनि यसको प्रयोगले आफै सुरक्षित रहने भएकाले प्रयोग गर्नैपर्ने बताउनुभयो। ‘व्यबहार परिवर्तनको काम धेरै गाह्रो त छ, तर नगरी नहुने पनि छ’ उहाँले भन्नुभयो ‘सरसफाइको काम गर्दा व्यक्क्तिगत सुरक्षा सामग्रीको प्रयोगलाई अनिवार्यता बनाउने नियमन गर्नुपर्छ ।’

उहाँले आफू सुरक्षित हुनाका लागि व्यक्तिगत सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गर्नुपर्ने र यसले व्यवसायको गरिमा समेत बढाउने बताउनुभयो। ‘तपाई जसको भविश्यको लागि, जोखिमयुक्त काम गरिरहनु भएको छ, आफै सुरक्षित हुनुहुन्न भने त्यो सन्ततिको भविश्य पनि सुरक्षित हुँदैन’ उहाँले बताउनुभयो।
व्यक्तिगत सुरक्षा सामग्री वितरण कार्यक्रममा एन्फोका सिनियर वास एण्ड जेसी अफिसर सिर्जना कार्कीले पीपीईको निर्मलीकरण गर्ने तरिकाबारे जानकारी गराउनुभयो। उहाँले व्यक्तिगत सुरक्षा सामग्रीको महत्व, प्रदुषण हुने कारणहरु र यसको प्रयोग गर्ने तरिकाहरु समेत जानकारी गराउनुभयो। उहाँले सरसफाइका विभिन्न औजारहरुको पनि नियमित निर्मलीकरण गर्नुपर्ने बताउनुभयो।

व्यक्तिगत सुरक्षा सामग्री बुझेपछि आफूहरुलाई यो निक्कै उपयोगी हुने सरसफाइकर्मीहरुले बताए। गम्बुट नहुँदा चप्पलकै सहायतामा पनि सम्बन्धित स्थलमा पुगेर काम सकाउनुपर्ने आफूहरुको बाध्यता रहेकोमा अब टाउको देखि पैतालासम्म लगाउने सामग्रीहरु पाएपछि काम गर्न सुरक्षित हुने उनीहरुले बताए। उनीहरुलाई प्रदान गरिएका सामग्रीहरुमा ५० थान मास्क, फेस शील्ड, क्याप, गम्बुट, पञ्जा तथा ज्याकेट र सुरुवाल लगायत छन्।
विदेशमा समेत सरसफाइ क्षेत्रमा काम गरेर फर्किएका सुब्बा केसीले नेपालमा पीपीई लगाउनै पर्ने नियम नभएकाले यहाँ पीपीई बिना नै काम गरिरहेको पाइएको बताउनुभयो। ‘यहाँ त लगाए पनि हुने, नलगाए पनि हुने भए पछि अनिवार्य प्रयोग गर्दैनन्, विदेशमा त पिपीई बिना काम गर्न गए बाटैबाट फकाईदिन्छ’ उहाँले भन्नुभयो।



249 पटक हेरिएको 

