प्राविधिक जनशक्तिको लागि सार्वजनिक खरिद सम्बन्धी तालिम सम्पन्न

  वास खबर सम्बाददाता  839 पटक हेरिएको

काठमाडौं : राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) को आयोजनामा सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत Procurement of Works (NCB) सम्बन्धी Standard Bidding Document (SBD) विषयमा तीन दिने तालिम सम्पन्न भएको छ।

भक्तपुरको नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको कार्यालयमा २०८२ चैत्र ५ गतेदेखि सुरु भएको तालिम  आज सम्पन्न भएको हो। तालिममा सार्वजनिक खरिद ऐन, नियमावली तथा NCB अन्तर्गत निर्माण कार्य खरिद प्रक्रियाका विभिन्न चरणहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

विशेषगरी Standard Bidding Document (SBD) को प्रयोग, बोलपत्र मूल्यांकन, ठेक्का व्यवस्थापन, पारदर्शिता र जवाफदेहितासम्बन्धी पक्षहरूमा सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी गराउनुभयो।

तालिममा प्रशिक्षकहरूले सार्वजनिक खरिद प्रक्रियामा देखिने चुनौतीहरू, सुधारका सम्भावना तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे समेत प्रकाश पार्नुभएको थियो।

तालिममा सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सिँचाई विभाग र भवन निर्माण विभागका इन्जिनियर, सिनियर डिभिज्नल इन्जिनियर र सुपरिटेण्डेन्ड इन्जिनियरहरुको सहभागिता थियो। सहभागीहरूले सिकाइलाई आफ्नो कार्यक्षेत्रमा लागू गरी सार्वजनिक खरिद प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यस तालिमले खानेपानी तथा सरसफाइ क्षेत्रमा पूर्वाधार निर्माणसँग सम्बन्धित खरिद प्रक्रियालाई थप व्यवस्थित, उत्तरदायी र नतिजामुखी बनाउनुका साथै छरितो खरिद प्रक्रिया प्रवर्द्धन गर्न र बेरुजु न्यूनीकरणमा समेत महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार