बर्दिया : बर्दियाको बढैंयाताल गाउँपालिकाका नौ वटै वडाध्यक्षहरुले बढैंयाताल गाउँपालिकालाई २०७५ सालको चैत मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । बढैयाताल गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार सञ्चालन गरेको वडा अध्यक्ष तथा वडा सचिवहरुको लागि पूर्ण सरसफाइ मार्गदर्शन सम्बन्धी एक दिने तालिमले उक्त लक्ष्य तोकेको हो ।

पूर्ण सरसफाइ सम्बन्धी विषयको सहजीकरण गर्दै यु.एन हेविटाटका जिल्ला संयोजक विष्णु दवाडीले सरकारले सन २०३० सम्ममा देशलाई पूर्ण सरसफाइ उन्मुख राष्ट्र बनाउने लक्ष्य तय गरेको, बर्दिया जिल्लाले सन २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउने लक्ष्य लिएको र खानेपानीको सुविधामा अहिले ९० प्रतिशत बर्दियाबासीको पहुँच रहेको अवस्थामा बढैयाताल गाउँपालिकाले पनि सरकार र बर्दिया जिल्लाले लिएको लक्ष्यलाई हासिल गर्न रणनीतिक योजना तयार पारेर अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
आइडिएस नेपालका जिल्ला संयोजक तारा बहादुर खातीले पूर्ण सरसफाइ रणनीतिक योजनाको मस्यौदा प्रस्तुतीकरण गरी आवश्यक संसोधन गराउनु भएको थियो ।
तीन वटा वडा आउँदो असार मसान्तभित्रै पुर्ण सरसफाइ उन्मुख बन्ने
बढैयाताल गाउँपालिकाले डम्पिङ साइड निर्माण तथा ब्यवस्थापन गर्ने, फोहोर संकलन गर्ने गाडी खरिद गर्ने, पार्क निर्माण गर्ने, सार्वजनिक स्थानहरूमा डष्टबिन राख्ने र होर्डिङ बोर्ड राख्ने लगायतका काममा योजना तर्जुमा गरी बजेट विनियोजन गर्ने भएको छ ।
सबै वडाबाट समेत पुर्ण सरसफाइ सम्बन्धी योजना तर्जुमा तथा बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
पूर्ण सरसफाइमा नमुना समुदायहरू आफ्नै क्षेत्रमा तयार पारेर जिल्लामा अरू समुदायलाई र नेपालका अन्य जिल्लालाई समेत प्रभावित बनाई सकेको बर्दियाका बढैयाताल र गेरूवा गाउँपालिकाले प्राथमिकताका साथ पूर्ण सरसफाइ अभियानमा लागेर वडा र गाउँ पालिका नै कम समयमा पुर्ण सरसफाइ उन्मुख बनाउन सकिन्छ भन्ने सन्देश दिने जिम्मेवारी बहन गर्न हौसला र हिम्मत गरेकोमा यु.एन हेविटाटका जिल्ला संयोजक विष्णु दवाडीले शुभकामना दिनुभयो ।

गाउँपालिका कार्यालय र प्रत्येक वडा कार्यालयले पूर्ण सरसफाइ अभियान हेर्ने जिम्मेवारी एक जनालाई दिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पौडेलले बताउनुभयो । यस्तै उपाध्यक्ष दीपा गौतमले सबै वडा अध्यक्ष र सचिवहरूलाई उत्साही भएर लाग्न अनुरोध गर्दै यु एन हेविटाट र आईडियस नेपाल जस्ता सहजीकरण र सहयोगी निकाय पाउनु नै भाग्यमानी भएको धारणा व्यक्त गर्नुभयो ।
यु.एन ह्याविटाटको सहयोगमा आइ.डि.एस. नेपाल र मायुस बर्दियाले आयोजना गरेको पूर्ण सरसफाइ मार्गदर्शन सम्बन्धी एक दिने तालिममा २६ जनाको सहभागिता थियो । पूर्ण सरसफाइ अभियानको नारा स्वास्थ्य र प्रतिष्ठाका लागि पूर्ण सरसफाइ हाम्रो अभियान बढैंयाताल गाउँपालिकाको विकासमा नौलो आयाम तय गरिएको छ ।


1002 पटक हेरिएको 

