स्रोतमै बर्गीकरण गरेपछि फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

  वास खबर समाचारदाता  105 पटक हेरिएको

भैरहवा : कुहिने र नकुहिने फोहर अनिवार्य रूपमा छुट्याउनुपर्ने नियम लगाइएपछि सिद्धार्थनगरमा फोहर व्यवस्थापन प्रभावकारी बन्न थालेको छ । चुनौतीपूर्ण अवस्थामा रहेको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन सिद्धार्थनगर नगरपालिकाले एक महिनाअघि प्रत्येक घर, पसल, व्यावसायिक प्रतिष्ठान तथा सरकारी निकायबाट निस्किने फोहरलाई सम्बन्धित स्थलबाटै वर्गीकरण गर्नुपर्ने नियम अनिवार्य गरेको हो ।

वर्गीकरण गरिएको फोहरमात्रै नगरपालिकाले उठाउने, वर्गीकरण नगरिएको फोहरलाई सम्बन्धित निकाय आफैंले व्यवस्थापन गर्नुपर्ने एवं यसविपरीत सार्वजनिक स्थलमा फोहर फ्याँकेमा जरिवानासहित दण्डित गरिने प्रावधान नगरपालिकाले लागू गरेको छ ।

फोहरको वर्गीकरण गर्नुपर्ने नियमलाई दुई हप्तादेखि कडाइका साथ कार्यान्वयन गरेपछि अहिले नगरमा फोहर व्यवस्थापन सहज र प्रभावकारी बन्दै गएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

नियम अटेर गरी सार्वजनिक स्थलमा फोहर फ्याँक्ने २० जना व्यक्ति तथा व्यावसायिक फर्मलाई कारबाहीको दायरामा ल्याइएको उनले जानकारी दिए । उनीहरूलाई ५ देखि ५० हजार रुपैैैयाँसम्म जरिवाना गरिएको छ ।

लुम्बिनी प्रवेशद्वार र भारतसँगको महत्त्वपूर्ण नाकाका रूपमा रहेको सिद्धार्थनगरमा फोहर व्यवस्थापन प्रभावकारी नहुँदा नगर कुरूप र दुर्गन्धित बनेको थियो । नगरका मुख्य चोक र सडक किनारका पेटी र सार्वजनिक स्थलमा जथाभावी फ्याँकिने फोहरबाट नगरवासी तथा यात्रु पीडित थिए ।

‘अन्तर्राष्ट्रिय जगत‍्सँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण नाका सिद्धार्थनगरमा विकराल अवस्थामा रहेको फोहरलाई तत्काल व्यवस्थापनका लागि फोहरको श्रोतमै वर्गीकरण गर्ने नियम अनिवार्य गरिएको हो,’ थापाले भने, ‘फोहरको दीर्घकालीन समाधानका लागि फोहर प्रशोधन केन्द्र निर्माण प्रक्रियालाई अगाडि बढाइएको छ ।’

कुहिने फोहरको प्रयोगबाट घर घरमै कम्पोष्ट मल तयार गरी तरकारी, फलफूल खेती गर्न नगरवासीलाई प्रेरित गर्ने उद्देश्य नगरपालिकाको हो । नगरपालिकामा संकलन हुने नकुहिने फोहर बायोग्यास कम्पनी उद्योग र व्यावसायिक किसान लिन तयार भएका छन् ।

नगरपालिकाका अनुसार यतिबेला सिद्धार्थनगरमा घर–घरबाट निस्किने कुहिने फोहरको संकलनमा ७० प्रतिशतले कमी आएको छ । सिद्धार्थनगरका १३ वटै वडामा कुहिने फोहर संकलनका लागि दैनिक र नकुहिने फोहरका लागि कम्तीमा हप्तामा एकपटक संकलन गर्न जाने योजना नगरपालिकाले बनाएको छ ।

नकुहिने फोहरलाई उपयुक्त स्थानमा व्यवस्थित रूपले संकलन गर्ने र बिक्री गरेर आम्दानी बढाउने योजना नगरपालिकाको छ । करिब १६ हजार घरधुरी रहेको सिद्धार्थनगरमा फोहर व्यवस्थापनका लागि दैनिक १ सय २५ जनालाई खटाइने गरिएको छ । वार्षिक ३ करोड रुपैयाँभन्दा धेरै फोहर व्यवस्थापनमा खर्च भइरहेको नगरपालिकाको दाबी छ। कान्तिपुर दैनिकबाट साभार।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार