
काठमाडौ : प्रेस काउन्सिल नेपाल कार्यालयमा महिलामैत्री शौचालय र स्तनपान कक्ष स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही महिलालाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यी संरचना निर्माण गरिएको काउन्सिल सचिवालयले जनाएको छ ।
काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य ले कार्यालयभित्र स्थापना गरिएको स्तनपान कक्षको उद्घाटन गर्दै कुनै पनि कार्यस्थल महिलामैत्री हुनु न्यूनतम मापदण्ड भएको उल्लेख गर्नुभयो । काउन्सिलले सो मापदण्डलाई व्यवहारमा लागू गरेको उहाँको भनाइ थियो ।
त्यस्तै, महिनावारीका समयमा कर्मचारी र सेवाग्राहीलाई असहजता नहोस् भन्ने उद्देश्यले प्याड भेण्डिङ मेसिनसमेत जडान गरी सञ्चालनमा ल्याइएको छ । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल ले कानुनी व्यवस्था अनुसार कार्यालयमा स्तनपान कक्ष, महिलामैत्री शौचालय तथा अपाङ्गतामैत्री संरचना अनिवार्य रहेको उल्लेख गर्दै सोही अनुसार योजना, स्रोत–साधन र बजेट व्यवस्थापन गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालय संरचनालाई पूर्ण रूपमा अपाङ्गमैत्री बनाउने कार्यसमेत प्रक्रियामा रहेको छ ।


35 पटक हेरिएको 

