खानेपानीको मूल सुकेपछि थातथलो छाड्न बाध्य, २५ देखि ३० प्रतिशत मुहान सुकिसकेको अध्ययनको पुष्टि

  वास खबर समाचारदाता  133 पटक हेरिएको

अछाम : मंगलसेन–५ की मैना विक ६५ वर्षकी भइन् । जीवनको ६ दशक उनले एउटै धाराको वरिपरी बिताइन् । ७ वर्षको उमेरमा बिहे भएर मंगलसेन आएदेखि झारफुंगा धाराबाट पानी भरिरहेकी उनको दैनिकी अचले बदलिएको छ । ‘वर्षौंदेखि यही धाराको पानी पिइरहेका छौं ।

पहिले धारामा ठूलो पानी आउथ्यो,’ उनले भनिन्, ‘लाइन बस्नु पर्थेन । अहिले त ४/५ घण्टा लाइनमा बस्नुपर्छ ।’ मुहान सुकेपछि धारामा पानी आउन छाडेको उनले सुनाइन् ।

नेपाल पानी सदुपयोग फाउन्डेसनले सन् २०२० मा गरेको पहाडी जलस्रोत अध्ययन अनुसार करिब २५ देखि ३० प्रतिशत परम्परागत मुहान पूर्ण रूपमा सुकिसकेका छन् ।

मंगलसेन-५ का ८० वर्षीय उदयराम जैसी पानी संकटका साक्षी हुन् । अहिलेको मौसम र पानीका मुहान पहिलेका जस्तो नरहेको उनको भनाई छ । ‘अहिले न समयमा बर्खा हुन्छ, न घाम लाग्छ,’ उनले भने, ‘मुहान जति सुकिसके, उहिले र अहिलेको समय निकै परिवर्तन भइसक्यो । यो देख्दा अचम्म लाग्छ ।’ जैसीले भोगाईलाई जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले पनि पुष्टि गर्छ । उक्त सर्वेक्षण अनुसार जिल्लाका ग्रामीण क्षेत्रका महिलाले एक गाग्री पानी भर्ने समय औसत ४५ मिनेटबाट बढेर ३ घण्टासम्म पुगेको देखाएको छ ।

पिउने पानीको सास्ती सदरमुकाममा मात्र सीमित छैन । मंगलसेन–६ तारेखाकी ५५ वर्षीय मनसरा भण्डारीका अनुसार गाउँमा रहेको एकमात्र कुवामा पानी भर्न बिहानैदेखि घुइँचो लाग्छ । पालो भर्ने पालो कुर्दाकुर्दै घरधन्दाका काम गर्न नभ्याइने उनले बताइन् । ‘धारो छैन, कुवाको पानी सबैले भरेर लादा धमिलो हुन्छ,’ उनले भनिन्, ‘यहाँ बार्‍हैमास खानेपानीको अभाव हुन्छ ।’

खडेरीले गर्दा मुहान सुकेपछि पानी अभाव भएको उनको भनाई छ । ‘खानेपानीकै लागि दुःख गर्नुपर्छ भनेर गाउँका हुनेखानेहरु बस्ती छाडेरै गइसके,’ उनले भनिन् । उनका अनुसार खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएकाले अभाव भएको हो ।

कमलबजार–६ का अमरनाथ शाहीका अनुसार जथाभावी सडक खन्दा पानीका मूल पुरिँदै र सुक्दै गएका हुन् । ‘जथाभाबी सडक खन्दा खेतीयोग्य जमिन, सामुदायिक वन र पानीका मुहानलाई ध्यान दिइएन,’ उनले भने, ‘यसबाट विकाससँगै विनास पनि भयो ।’

सन् २०१८ मा तत्कालीन जिल्ला भू–संरक्षण कार्यालयले गरेको अध्ययनका क्रममा वातावरणीय प्रभाव मूल्यांकन (आईईई) नगरी ग्रामीण सडक निर्माण गर्दा प्रति १ किलोमिटर क्षेत्रभित्र पर्ने औसत ३ देखि ४ वटा प्राकृतिक खानेपानीका मुहान प्रत्यक्ष रूपमा पुरिएका वा मोडिएको पाइएको थियो ।

सडक खन्दा निस्किने माटो र ढिस्कोले जिल्लाका करिब २५ प्रतिशत परम्परागत कुवा र पँधेराको ‘रिचार्ज एरिया’ (पानी रसाउने क्षेत्र) पूर्ण रूपमा थुनिएको प्राविधिक विश्लेषणले देखाएको छ ।

अध्ययनले जिल्लाका मुख्य जलाधार क्षेत्रमा पानीको बहाव (डिस्चार्ज) अघिल्ला ५ वर्षको तुलनामा १५ देखि २० प्रतिशतले घटिसकेको चेतावनी दिँदै करिब ९० किलोमिटरभन्दा बढी खानेपानी र सिाचाइका पूर्वाधार पहिरोको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

जिल्ला प्रशासनको सन् २०२४ को तथ्यांक अनुसार डोजरको अव्यवस्थित प्रयोगले जिल्लाका १ सय ३२ खानेपानीका धारा, ४८ कुलो, २१ पानीघट्ट र १४ लघु जलविद्युत् आयोजना पहिरोको जोखिममा परेका छन् ।

पूर्व जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुवँरका अनुसार प्राविधिक अध्ययन बिनैं जंगल, बस्ती र मुहानै सक्ने गरी सडक खनिएका छन् । ‘जंगल, बस्ती र पानीका मुहानै सक्ने गरी डोजर लगाइएको देखियो,’ कुँवर थप्छन्, ‘प्राविधिक अध्ययन नगरी नै सडक खनिएका छन् । कतिपय ठाउँमा अध्ययन गरेको भन्दा अर्कै ठाउँतिर सडक खन्ने काम भएको छ ।’

मुहान जोगाउन केही वर्षअघि पालिकाले पहल गरेका थिए । २०७६ मा चौरपाटी गाउँपालिकामा तत्कालीन अध्यक्ष हर्कबहादुर साउँदको नेतृत्वमा ३ दिनमै १ हजार २ सय भन्दा बढी रिचार्ज पोखरी निर्माण गरिएको थियो। स्थानीयले श्रमदान गरेर मुहान ब्यूँताउने प्रयास थालेका थिए ।

खेतीपाती नहुने जमिनमा आकाशे पानी जम्मा गर्ने उद्देश्यले बनाइएका ती पोखरीले पहिलो वर्ष लाभदायी बनेका थिए । तर, ती पोखरी माटोमा पुरिसकेका छन् । चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार २०७९ को स्थानीय निर्वाचनपछि आएको नयाँ नेतृत्वले पोखरी रिचार्ज गर्ने योजनालाई निरन्तरता नदिँदा समस्या भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेका अनुसार स्थानीय तहले सडक निर्माण गर्दा वातावरणीय मापदण्ड पालना नगर्नु र रिचार्ज पोखरी जस्ता प्रभावकारी काममा ध्यान नदिनुले समस्यालाई झनै जटिल बनाएको छ । ‘सडकले गाउँ जोडे पनि, त्यही सडकले गाउँको प्राण मानिने पानीका मुहानलाई मारिदिएको छ,’ उनले भनिन् ,‘युवाहरू विदेशिने , तराई झर्ने क्रम बढेपछि गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र बाँकी छन्, जसले गर्दा खेतीपाती र सामाजिक कार्यहरूमा जनशक्तिको चरम अभाव देखिएको छ ।’

पानी संकटको मारमा महिला र किशोरी परेका छन् । मंगलसेन–१० की इन्द्रा कामीको पानी जोहो गर्दै दिन बित्छ । ‘पानी भर्दाभर्दै दिन बित्छ । घरका काम गर्न पाइदैन । खानेपानीका लागि दिनरात कष्ट गर्छौ,’ उनले भनिन्, ‘एक गाग्रो पानी थाप्न बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म लाइन लाग्नुपर्छ ।’

घरायसी काम, केटाकेटीको हेरविचार र गाईबस्तुको झन्झटसँगै मुहानमा पानी सकिने चिन्ताले महिलाहरूलाई मानसिक तनाव समेत दिने गरेको छ । स्थानीय किशोरी इशिका भण्डारीका अनुसार महिनावारी भएका बेला नुहाउन र लुगा धुन खोलासम्म जाँदा विद्यालयको पढाइ छुट्ने गरेको छ । ‘महिनावारी भएको बेला ७ दिन सम्म दिनकै नुहाउने, लुगा धुने गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यति टाढा जाँदा पनि पालो पाइँदैन, पढाइ छुट्छ ।’

पानी बोक्नुपर्ने बाध्यताले २० देखि ४५ वर्षका महिलामा आङ खस्ने समस्या बढी देखिएको छ । पानी अभाव तिर्खा मेट्नमा मात्र सीमित छैन, यसले जिल्लाको प्रमुख आधार मानिने कृषि क्षेत्रलाई पनि असर गरेको छ ।

कृषि विकास निर्देशनालय, सुदूरपश्चिम प्रदेशले सन् २०२३ मा सार्वजनिक गरेको रिपोर्ट अनुसार हिउँदे वर्षामा ३० देखि ४० प्रतिशतको गिरावट आउँदा अछाममा गहुँ र जौ उत्पादनमा २० प्रतिशतले ह्रास आएको छ ।

पानीका मुहान सुकेपछि सिँचाइ कुलोहरू सुक्खा छन् । जसले गर्दा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ । जिल्लामा अहिले देखिएको ‘वातावरणीय शरणार्थी’को समस्यालाई नेपाल पानी सदुपयोग फाउन्डेसनले सन् २०२० मा गरेको पहाडी जलस्रोत अध्ययन अनुसार करिब २५ देखि ३० प्रतिशत परम्परागत मुहान पूर्ण रूपमा सुकिसकेका छन् । ८९ हजारभन्दा बढी मानिसले अछाम छाड्नु रोजगारीको खोजी मात्र नभइ पानी र गासको संकटबाट बच्ने अन्तिम प्रयासका रुपमा उल्लेख गरेको छ ।

कान्तिपुर दैनिकबाट साभार।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार