WTO को नेतृत्व संहाल्दै डा.श्रेष्ठद्वारा सरसफाइको नयाँ अध्याय सुरु भएको उदघोष

  वास खबर समाचारदाता  203 पटक हेरिएको

 

काठमाडौ : नेपाली सरसफाइ विज्ञ डा. रोशन राज श्रेष्ठले  विश्व सरसफाइ अभियानमा अग्रणी अन्तर्राष्ट्रिय संस्था World Toilet Organization (डब्ल्यूटीओ) को बोर्ड अध्यक्षको जिम्मेवारी संहाल्न थाल्नु भएको छ।

३७ वर्षभन्दा बढी समयदेखि एशिया र अफ्रिकामा समान पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा नेतृत्व गर्दै आउनुभएका श्रेष्ठलाई World Toilet Organization (WTO) ले गत फागुनमा आफ्नो अध्यक्ष पदमा नियुक्त गरेको घोषणा गरेको  थियो।

उहाँ नेपालमा वातावरण तथा जनस्वास्थ्य क्षेत्रमा क्रियाशील संस्था Environment and Public Health Organization (ENPHO) का संस्थापक समेत हुनुहुन्छ।त्यसपछि उहाँ Bill & Melinda Gates Foundation मा उप-निर्देशकका रूपमा आबद्ध भई विश्वव्यापी सरसफाइ प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो।

नवनियुक्त अध्यक्षका रूपमा उहाँले हालै सिंगापुर स्थित डब्ल्यूटीओको मुख्यालयको पहिलो भ्रमण गरी संस्थाका कार्यक्रम, रणनीति तथा कार्यप्रणाली बारे प्रत्यक्ष जानकारी हासिल गरेको जानकारी गराउनु भएको छ। उक्त भ्रमणका क्रममा उहाँले टोली सँग छलफल गर्दै सरसफाइ क्षेत्रको प्रभावकारी विस्तारका लागि आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो।

डब्ल्यूटीओ अहिले आफ्नो २५औँ वार्षिकोत्सव मनाउने तयारीमा रहेको र समाजमा सरसफाइको बिषयमा कुरा गर्न लाज, घिन वा खुला रुपमा व्यक्त गर्न नमान्ने बिषयलाई बाहिर ल्याउने अर्थात “ट्याबु तोड्ने” अभियान मार्फत सरसफाइलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने संस्थाको दुई दशकभन्दा लामो यात्रालाई यस अवसरमा विशेष रूपमा स्मरण गरिने उहाँलेउदघोष गर्नुभएको छ।

‘यसै सन्दर्भमा World Toilet Summit 2026 आगामी नोभेम्बर १९ मा Asian Institute of Technology, Bangkok मा आयोजना हुने तय भएको छ। विश्वभरका सरोकारवालाहरूको सहभागितामा हुने उक्त सम्मेलनले सरसफाइ क्षेत्रमा नवीन सोच, सहकार्य र नीतिगत पहललाई अघि बढाउने अपेक्षा गरिएको छ’उहाँले फेसबुक मार्फत भन्नु भएको छ।

डब्ल्यूटीओको पहलमा स्थापना गरिएको World Toilet Day अहिले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ, जसले सरसफाइलाई विश्वव्यापी प्राथमिकताको विषय बनाएको छ।

अध्यक्ष डा. श्रेष्ठले सुरक्षित, समावेशी र दिगो सरसफाइ सेवा सुनिश्चित गर्न संस्थाले आफ्ना कार्यक्रमहरू विस्तार गर्ने स्पष्ट पार्नुभएको छ। अझै पनि आधारभूत सरसफाइ सेवाबाट वञ्चित अर्बौँ मानिसहरूलाई लक्षित गर्दै बहुपक्षीय सहकार्य मार्फत दीर्घकालीन समाधान अघि बढाइने उहाँले बताउनुभयो।

डा. श्रेष्ठले संस्थापक Jack Sim प्रति कृतज्ञता व्यक्त गर्दै उहाँको २५ वर्ष लामो योगदानलाई निःस्वार्थ नेतृत्वको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गर्नु भएको छ। ‘पछिल्ला २५ वर्षदेखि व्यक्तिगत लाभभन्दा प्रभावलाई प्राथमिकता दिँदै गरेको अथक समर्पण वास्तवमै निःस्वार्थ नेतृत्वको उत्कृष्ट उदाहरण हो’ उहाँले भन्नु भएको छ।

नयाँ नेतृत्वसँगै डब्ल्यूटीओले “सबैका लागि सरसफाइ” भन्ने लक्ष्यलाई व्यवहारमा उतार्न थप सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले WTO को नयाँ अध्याय सुरु भएको उदघोष गर्नु भएको छ।

डा. श्रेष्ठ Asian Institute of Technology, थाइल्याण्डमा ट्रस्टी बोर्ड सदस्य तथा अध्यक्षका वरिष्ठ रणनीतिक सल्लाहकार, Global Water and Sanitation Center का सल्लाहकार बोर्ड सदस्य, IHE Delft Institute for Water Education अन्तर्गतको Global Sanitation Graduate School का संस्थापक तथा बोर्ड सदस्य, भारतको तेलंगाना स्थित WASH Innovation Hub का रणनीतिक सल्लाहकार तथा भारतको केरला स्थित IIT Palakkad अन्तर्गतको Global Sanitation Center of Excellence (GSCOE) को गभर्निङ काउन्सिल सदस्यका रूपमा समेत आबद्ध हुनुहुन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार