
पर्वत : पछिल्लो समय साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको पर्वत सदरमुकाम कुस्मा बजारमा सार्वजनिक शौचालयको अभाव देखिन थालेको छ ।
झोलङ्गे पुल, बन्जी जम्प, जिपलाइनलगायत पर्यटकीय गन्तव्य अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने कुस्मामा यात्रु तथा पर्यटकका लागि पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ ।
कुस्मा बजार पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका यात्रुको प्रमुख सम्पर्क केन्द्र पनि हो । ती जिल्लाबाट छुट्ने तथा भित्रिने अधिकांश सवारीसाधन कुस्मास्थित शिवालय चोक हुँदै आवतजावत गर्छन् । विभिन्न जिल्लातर्फ जाने यात्रु केही समय शिवालय चोकमा रोकिने गरे पनि सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् ।
विगतमा सवारीचालकले यात्रुलाई दिसापिसाब गराउन खुला ठाउँमा गाडी रोक्ने चलन रहे पनि अहिले त्यस्तो दृश्य कम देखिन्छ । यात्रुहरू शौचालय प्रयोग गर्न होटेल वा रेस्टुरेन्ट प्रवेश गर्न बाध्य छन् । धेरै जसो अवस्थामा केही न केही खाजा वा खाना खाएपछि मात्र होटेलका शौचालय प्रयोग गर्न पाइने अवस्था रहेको यात्रुको गुनासो छ । बागलुङका यात्रु रेशम खड्का भन्नुहुन्छ, “शिवालय चोकको शौचालयमा दिसापिसाबका लागि दुई वटा मात्रै कोठा छन् । एउटा गाडी रोकिनासाथ १०–१५ जना लाइन बस्छन् । पालो कुरुन्जेल गाडी छुट्ने डर हुन्छ । होटेलमा जाँदा केही न केही खानै पर्छ, नत्र शौचालय प्रयोग गर्न पाइँदैन ।”
पोखराबाट आउने सवारीसाधनलाई कुस्मा पुग्न डेढ घण्टासम्म लाग्ने गरेको छ भने बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका यात्रु पनि आधादेखि तीन घण्टासम्मको यात्रा गरेर कुस्मा आइपुग्छन् । रात्रिबस बिहानै शिवालय चोकमा पुग्ने भए पनि सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था नहुँदा यात्रु थप समस्यामा पर्ने गरेका छन् ।
हाल शिवालय चोकमा सामान्य अवस्थाको एउटा सार्वजनिक शौचालय सञ्चालनमा छ । करिब १३ वर्षअघि निर्माण गरिएको दुईकोठे उक्त शौचालय अहिले जीर्ण बनेको छ । शौचालयमा पानीको धारासमेत व्यवस्थित नहुँदा दुर्गन्ध फैलिने गरेको स्थानीय बताउँछन् । शौचालय व्यवस्थापन गर्दै आएकी गोरी परियारले यात्रु तथा पर्यटकको चाप बढ्दै जाँदा साँघुरो संरचनाले समस्या बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले पाँच रुपियाँ शुल्क लिइन्थ्यो, अहिले १० रुपियाँ लिने गरिएको छ । त्यही रकमबाट पानी, सरसफाइ, सेफ्टी ट्याङ्क सफा र मर्मतको खर्च जुटाउनु पर्छ ।”
व्यवसायीका अनुसार ग्राहकले केही नखाई शौचालय मात्र प्रयोग गर्ने अवस्था बढे निजी होटेलका शौचालय व्यवस्थापन गर्नसमेत कठिन हुने गरेको छ । त्यसैले सार्वजनिक शौचालयको क्षमता विस्तार अपरिहार्य बनेको उनीहरूको भनाइ छ ।
पर्वत जिल्लालाई २०६९ चैत ३१ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । घोषणा भएको १३ वर्ष बितिसक्दा पनि सदरमुकाम कुस्मामै व्यवस्थित सार्वजनिक शौचालय अभाव हुनु विडम्बनापूर्ण रहेको स्थानीय बताउँछन् ।
पछिल्लो समय पर्यटक आगमन बढेसँगै कुस्मा बजारमा सरसफाइ र आधारभूत पूर्वाधारको आवश्यकता पनि बढेको छ । कुस्मा नगरपालिकाले दिगो विकास लक्ष्य अन्तर्गत सरसफाइलाई प्राथमिकतामा राखेको दाबी गरे पनि सार्वजनिक शौचालय निर्माणतर्फ अपेक्षित ध्यान दिन सकेको छैन ।
कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्वीकार गर्दै चालु आवमा बजेट विनियोजन हुन नसकेका कारण योजना अघि बढ्न नसकेको बताउनुभयो । गोरखापत्र दैनिकबाट साभार।


93 पटक हेरिएको 

